लागुऔषधसहित १० जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।

झापाकाे मेचिनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने २२ वर्षीय अजय राजवंशी र सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय समिर धिमाल रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीकाे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ एम्पुल र डिकोलिक १ सय ९२ एम्पुलसहित धरान उपमहानगरपालिका-१० बस्ने १९ वर्षीया श्रदा क्षेत्री, २३ वर्षीय किसन राई, १५ वर्षीय किशोर र १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । यसैगरी अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीले धरान भोटेपुलमा होटल संचालन गरी बस्ने झापा, झापा गाउँपालिका-६ घर भएका ६४ वर्षीय दिल बहादुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिवन १ सय ट्याब्लेटसहित पक्राउ गरेको छ ।

कञ्चनपुरकाे बेलौरी नगरपालिका-६ हात्तीबोझाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ३ ग्राम ३० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-४ खुरखुरिया बस्ने २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका-७ देवहरिया बस्ने २३ वर्षीय रेशम राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ४०२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवर उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका-१० पशुपति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८३ मिलिग्रामसहित डडेल्धुरा गन्यापधुरा गाउँपालिका-६ घर भएका २३ वर्षीय प्रकाश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?