आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छ : उपप्रधानमन्त्री खड्का

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खल्बल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताउनुभएको हो । उहाँले सद्भाव खल्बल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै यसप्रति सबै तहका सरकार, राजनीतिक दलहरु र आम नेपाली जनता सचेत हुनुपर्ने बताउनु भयो ।

उहाँले आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडी बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको पहिचानको रुपमा नेपाली समाज रहेको उल्लेख गर्दै उहाँले सो विविधताको पहिचानलाई जोगाउन सचेत भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आपसी सद्भावको वातावरण बनाउन संघ, प्रदेश र स्थानीय तहको सरकार मिलेर नयाँ अभियान चलाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘केही समय यता देशको विभिन्न ठाउँमा विभिन्न नाममा हाम्रो अत्यन्त मित्रतापूर्ण तरिकाले बसेको समाज, एकतावद्ध भएर बसेको समाज, धेरै धर्म, धेरै जात, धेरै क्षेत्र, धेरै भुगोल, धेरै वर्ण, धेरै वर्गबाट हेर्दा, सुन्दा धेरै भएपनि तर हामी एकताको सुत्रमा बाँधिएर सदियौँदेखि एकतावद्ध भएर अगाडी बढेको मुलुक नेपालमा विभिन्न बहानामा, विभिन्न नाममा, सामाजिक सद्भाव खल्बल्याउने, आम जनतामा निराशा उत्पन्न गर्ने, जनता–जनता, नागरिक–नागरिकका बीचमा विभिन्न बाहानामा द्वन्द्वको सिर्जना गर्ने खालका गलत घटनाहरुलाई प्रश्रय गराउने, बढाउने खालका प्रवृत्तिहरुपनि देख्न थालिएको छ । त्यसप्रति आम हामी नेपाली दाजुभाई, दिदीबहिनीहरु, हामी सबै राजनीतिक दलहरु, सबै तहका सरकारहरु सचेत भएर आम नागरिकको बीचमा एकताको आवश्यकता, सामाजिक सद्भावको आवश्यकता त्यसको जगमा मुलुकको विकास निर्माणलाई अगाडी बढाउन सक्छौँ भन्ने खालको सन्देश लिएर आज देशभर एउटा अभियान चलाउनुपर्ने आवश्यकता छ । सामाजिक सद्भाव खल्बल्याउने गतिविधिलाई रोक्न आवश्यकता छ । हामीले हाम्रो एकतालाई, सौहार्दतालाई, मिलेर बसेको समाजलाई, मिलेर बसेको विभिन्न धर्महरु, विभिन्न जातहरु, विभिन्न भुगोल विभाजित भएपनि हामी मिलेर सदिऔँदेखि बसेको नेपालीको एउटा विशेष पहिचान छ । त्यसलाई जोगाउनका लागि हामी अत्यन्त सचेत भएर, सजग भएर अगाडी बढ्न जरुरी छ । त्यसका लागि विभिन्न तहको सरकार, केन्द्रको सरकार, प्रदेशको सरकार, स्थानीय तहका सरकारहरु मिलेर सबैले आपसी सद्भावको वातावरण बनाउने एउटा नयाँ अभियान चलाउन जरुरी छ । जसको कारणले सामाजिक सद्भाव खल्बल्याउनका लागि अघि बढ्नेहरु पनि निरुत्साहित हुन सकुन् । उनीहरु पनि आफ्नो गलत बाटोबाट फर्किएर फेरि समाजको एकतामा आउन सकुन् । त्यसका लागि वातावरण बनाउन आज जरुरी छ । त्यसकाप्रति हामी सबै विभिन्न तहका सरकारमा भएका जनप्रतिनिधिहरु, सरकारमा रहेकाहरु सबै सचेत भएर, कर्तव्यपरायण भएर, एकतावद्ध भएर अगाडी बढ्न जरुरी छ ।’

उहाँले सामाजिक सद्भाव खल्बल्याउन अघि बढ्नेहरुलाई निरुत्साहित पार्नुपर्ने बताउनु भयो । आपसी सद्भावलाई मजबुत बनाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?