नेपाली पत्रकारिता क्षेत्रका अनवरत साधक राजेश्वर नेपालीको निधन

हिमालय टाइम्स
Read Time = 3 mins

पुरन साह/हिटा
जनकपुरधाम । नेपाली पत्रकारिताका भीष्म पितामह भनिने वरिष्ठ पत्रकार, प्रेस स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा राजेश्वर नेपालीको निधन भएको छ । विरामी परेर घरमै विगत छ महिनादेखि थला पर्नुभएका नेपालीको सोमबार साँझ ८ बजेर ५ मिनेट जाँदा निधन भएको उहाँका ज्वाईसमेत रहनुभएका पत्रकार नारायण साहले जानकारी गराउनुभयो । यसअघि उहाँलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आफ्नो जन्मदिनभन्दा सात दिनअघिको तिथिमा नेपालीको निधन भएको हो । उहाँको जन्म जनकपुरधाम उपमहानगरपालिका-२३ को बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीको घरमा विसं २००२ भदौ १९ गते भएको थियो ।

नेपालीले पत्रकारिताका साथ साथै प्रजातन्त्र, लोकतन्त्रका हरेक जनआन्दोलनहरूमा अगुवाका रुपमा रहेर काम गर्नुभयो । विसं. २००७ साल देखिका विभिन्न आन्दोलन, देशमा कुन तिथि र समयमा के परिवर्तन, घटना परिघटनाहरू भए कुनै पनि बेला मौखिक (मुहजवानी) भन्न सक्ने अदभुत क्षमताका धनी उहाँको निधनले एतिहासिक व्यक्तत्व गुमाएको मधेश सरकारका पुर्व सञ्चार तथा गृहमन्त्री भरत साह बताउनुहुन्छ ।

वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुआत गर्नुभएको थियो । उहाँ पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

देशका पहिला प्रधानमन्त्री विपी कोइरालादेखि कांग्रेसका चर्चित नेताहरूसँग पत्रकार र आन्दोलनका अगुवाका रुपमा काम गर्नुभएका नेपालीले एक पुत्र र पत्नी वियोगसमेत सही सक्नुभएको थियो । हाल उहाँको एक छोरा (हाल जनकपुरधाम उपमहानगरपालका वडा नं. २३ को वडा अध्यक्ष राघवेन्द्र साह) र तीन छोरीहरू हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?