खोटाङमा भेला भए १४ देशका ४० कलाकार

हिमालय टाइम्स
Read Time = 2 mins

खोटाङ । खोटाङमा १४ देशका ४० भन्दा बढी कलाकार भेला भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’ मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङमा भेला भएका हुन् । १४ वटै देशको झण्डा फहराएर र नृत्य प्रस्तुत कलाकारहरूको स्वागत गरिएको थियो ।

बिहीबारबाट कलाकारहरूको यात्रा सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा पुगेर धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने कार्यक्रम छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी गराउनुभयो । लाइभ चित्र बनाउन नेपाल, अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट ख्यातिप्राप्त चित्रकारहरुको उपस्थिति छ ।

कलाकारहरूले बनाएको चित्र असोज २० गते शनिबार सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालयको प्रांग्रामा प्रदर्शनीसमेत गरिनेछ । उक्त दिन सांगीतिक प्रस्तुति दिन चर्चित गायक राजेशपायल राई (राई इज किङ) पनि दिक्तेल आउने कार्यक्रम छ । गायक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर दूतसमेत हुनुहुन्छ । बुधबारदेखि सुरु भएको कार्यक्रम २१ असोजसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?