सञ्चारमा उच्च र मध्यम आदरार्थी

हिमालय टाइम्स
Read Time = 16 mins

✍️ शर्वराज आचार्य

सञ्चार क्षेत्रमा नेपाली भाषाको आदरार्थी प्रयोगमा द्विविधा देखिएको छ । यसले गर्दा कागजी छापा, विद्युतीय छापा, श्रव्य, श्रव्यदृश्य आदि सञ्चारबाट प्रसारण गरिने एउटै प्रत्यक्ष विषयको लिखित र मौखिक भाषिक अभिव्यक्तिमा दुईवटा आदरार्थीको प्रयोग पढ्न र सुन्न सकिन्छ । एकथरि सञ्चार उच्च आदरार्थी वाक्य प्रयोग गर्छन् भने अर्काथरि मध्यम आदरार्थी प्रयोग गर्छन् । समग्रमा सञ्चार क्षेत्रले प्रत्यक्ष विषयको समाचार सम्प्रेषणमा एउटै आदरको प्रयोग गर्न नसक्नु उनीहरूमा रहेको दुविधा हो ।

आदरार्थीको छनोट लचिलो हुनाका कारण अप्रत्यक्ष, परोक्ष वा अनौपचारिक सन्दर्भ र विषयमा यसका प्रकार (अत्युच्च, उच्च र मध्यम) मध्ये कुनै एक आदरको छनोटको सुविधा हुन्छ । तर औपचारिक र प्रत्यक्ष सन्दर्भमा भने समानता, विनम्रता, शिष्टता र सभ्यता प्रदर्शन गनुपर्ने हुँदा प्रयोगकर्तालाई आदर छनोटको सुविधा रहन्न ।

नेपाली भाषाको आदरार्थी प्रयोगमा सन्दर्भगत विविधता मात्र होइन आदरार्थीको प्रयोगगत लचकता समेत छ । वक्ता, स्रोता र अन्य सन्दर्भ (अन्य पक्ष र विषयवस्तु आदि) सँग संवेगात्मक सम्बन्ध जोडिएकाले यो लचकता देखिएको हो । संवेगात्मक सम्बन्धको जरो प्रशासनिक, सांस्कृतिक, सामाजिक, र पारिवारिक संरचनासँग टाँसिएको हुन्छ । यी संरचनाका प्रभाव हरेक वक्तामा पर्दछ । सञ्चारकर्मीहरू पनि यही संरचनाका भाषिक उपज हुन् तर तिनलाई आदरार्थीको प्रयोग गर्न नेपाली व्याकरणका नियमले निर्देशन गर्दैनन् ।

एउटै औपचारिक र प्रत्यक्ष समाचार सम्प्रेषणमा एकथरि सञ्चारगृहले उच्च आदरका सर्वनाम र वाक्य प्रयोग गरेको देखिन्छ, सुनिन्छ भने अर्कोथरि सञ्चारगृहले मध्यम आदरका सर्वनाम र वाक्य प्रयोग गरेको देखिन्छ, सुनिन्छ । अप्रत्यक्ष वा अनौपचारिक विषयको अभिव्यक्तिमा आदरको छनोट वा लचकता अस्वाभाविक मानिँदैन ।

बरू देशभित्रका प्रशासनिक, सांस्कृतिक, सामाजिक र पारिवारिक संरचनाले निर्देशन गर्छन् । किनभने प्रत्यक्ष सम्पर्क र विषयमा औपचारिकता देखाउन र वाक्यद्वारा समानता, शिष्टता, विनम्रता र सभ्यताको प्रदर्शन गर्न यी संरचनाका भूमिका हुन्छन् । भूमिकाले गर्दा औपचारिक, प्रत्यक्ष विषय र अपरोक्ष अभिव्यक्तिको आदरार्थी प्रयोगमा दुविधा देखिनु नपर्ने हो तर आदरार्थी प्रयोगको लचकताका कारण यो द्विविधा देखिएको मान्नुपर्छ ।

एउटै औपचारिक र प्रत्यक्ष समाचार सम्प्रेषणमा एकथरि सञ्चार गृहले उच्च आदरका सर्वनाम र वाक्य प्रयोग गरेको देखिन्छ, सुनिन्छ भने अर्कोथरि सञ्चारगृहले मध्यम आदरका सर्वनाम र वाक्य प्रयोग गरेको देखिन्छ, सुनिन्छ । अप्रत्यक्ष वा अनौपचारिक विषयको अभिव्यक्तिमा आदरको छनोट वा लचकता अस्वाभाविक मानिँदैन । यस्तो लेख्य वा कथ्य अभिव्यक्तिमा हाम्रो प्रशासनिक, सांस्कृतिक, सामाजिक र पारिवारिक संरचनाले प्रशस्त छुट दिएका छन् ।

जब औपचारिक र प्रत्यक्ष सन्दर्भ वा विषयको अभिव्यक्तिको कुरा आउँछ, त्यहाँ सभ्यता, शिष्टता, विनम्रता र समानता प्रदर्शन गर्नु पर्ने भएकाले हाम्रा प्रशासनिक, सांस्कृतिक, सामाजिक र पारिवारिक संरचनाले आदरार्थी प्रयोगमा छुट दिँदैनन् । किनभने प्रजातान्त्रिक समाजमा औपचारिक र प्रत्यक्ष सन्दर्भमा सबैप्रति समानता प्रदर्शन गर्न उच्च आदरार्थी सर्वनाम र वाक्यको उपयोग ग्राहृय हुन्छ ।

अभिव्यक्तिमा आआफ्ना किसिमले उल्लिखित संरचना बुझेरै सञ्चार गृहमध्ये कसैले उच्च आदरार्थी (तपाईं सर्वनाम र वाक्य वा क्रियापद) र कसैले मध्यम आदरार्थी (तिमी सर्वनाम र वाक्य वा क्रियापद) को प्रयोग गरे होलान् । यस बुझाइबाट हाम्रा प्रत्यक्ष र औपचारिक सम्प्रेषणका समाचार, अन्तर्वार्ता, रिपोर्ट आदि प्रस्तोताले सभ्यता, शिष्टता, विनम्रता र समानता प्रदर्शन गर्नसके कि सकेनन् भन्ने विषय विचारणीय छ ।

यसमा प्रसिद्ध वैयाकरणको भनाइ जोडूँ । हेमाङ्गराज अधिकारी (२०७१ : १०४-१०६) ले ‘समसामयिक नेपाली व्याकरण’ मा ‘पद वा प्रतिष्ठाका दृष्टिले उच्च व्यक्तिहरूमा उच्च आदरार्थीको प्रयोग हुन्छ र पद, प्रतिष्ठा र भूमिकाका दृष्टिले आपूmभन्दा तल्ला ठानिने व्यक्तिहरूमा मध्यम आदरार्थी प्रयोग हुन्छ’ भनेको भेटिन्छ । यसभनाइबाट के बुझिन्छ भने जोकसैलाई पनि पद वा प्रतिष्ठाका दृष्टिले उच्च आदरार्थी (तपाईं) प्रयोग गर्नु सभ्यता, शिष्टता, विनम्रता र समानता हो भने आफूभन्दा तल्लो ठानेर मध्यम आदरार्थी (तिमी) प्रयोग गर्नु सभ्यता, शिष्टता, विनम्रता र समानता होइन ।

हाम्रा व्यवहारमा प्रशासनिक, सांस्कृतिक, सामाजिक र पारिवारिक संरचनाले गर्दा आदर गरिने व्यक्ति जति-जति औपचारिक, अपरोक्ष वा प्रत्यक्ष हुन्छ, त्यति-त्यति आदरको तह बढ्दै जान्छ । त्यसै गरी आदर गरिने व्यक्ति जति-जति अनौपचारिक र अप्रत्यक्ष हुँदै जान्छ, त्यति-त्यति आदरको तह घट्दै जान्छ भन्ने कुरा वैयाकरण हेमाङ्गराज अधिकारीको व्याकरणले बताएको छ । आदरको तह घट्दै जाँदापौराणिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय सामान्य वा विशिष्ट व्यक्तिहरूको वर्णन वा उनीहरूका बारेमा गरिने समाचार सम्प्रेषणमा मध्यम आदरको प्रयोग स्वाभाविक मानिन्छ ।

जब यिनै व्यक्ति औपचारिक कार्यक्रममा प्रत्यक्ष वा अपरोक्ष हुँदै जान्छन्, नेपाली भाषामा आदरको तह पनि बढ्दै जान्छ । आदरार्थीको तह घटाउने र बढाउने कुरा हाम्रा समाजभित्र पाइने संरचनाभित्रका परोक्ष र अपरोक्ष सन्दर्भसँग सम्बन्धित छ । सञ्चारले परोक्ष सन्दर्भका समाचारमा आदरार्थी घटाउने र बढाउने छनोटको सुविधा पाउँछन् तर अपरोक्ष र औपचारिक सन्दर्भका समाचार सम्प्रेषण गर्दा सञ्चारले त्यो सुविधा पाउँदैनन् ।

व्याकरण अनुसार लेख्य र कथ्य भाषामा वर्तमानमा मुख्यतः उच्च आदर, मध्यम आदर र निम्न आदर छन् । यसबाहेक उच्च आदरभन्दा माथि विशेष आदर उच्चतर आदर र उच्चतम आदर पनि छन् । यी आदरहरू समाजका औैपचारिक र अनौपचारिक भाषिक सन्दर्भसँग जोडिएर गरिएका वर्गीकरण हुन् । सञ्चारकर्मी त औपचारिक कार्यक्रममा पुग्छन्, कार्यक्रममा उपस्थित व्यक्ति सामान्य होस् या विशिष्ट दुवै औपचारिक हुन्छन् ।

कार्यक्रममा प्रशासनिक, सांस्कृतिक, समाजिक र पारिवारिक संरचनाका दृष्टिले जुनसुकै आदर गरिने व्यक्ति भए पनि तपाईं सर्वनामको प्रयोग गर्नुपर्छ भनी धेरै सामाजिक तह र संरचनामा विभाजित राणाकालीन समयमा लेखिएका व्याकरणले समेत भनेका छन् । तर, प्रजातन्त्रकालीन समयका केही सञ्चारले औपचारिक र अपरोक्ष कार्यक्रमको समचार संप्रेषण गर्दा उच्च आदर गरिने व्यक्तितलाई परोक्ष बनाई तिमी प्रयोग गरी समाचार प्रवाह गर्ने प्रचलन बसाएका छन् ।

अहिले कतिलाई कानुनमा भएको आदरको निरपेक्ष प्रयोग आदररहित प्रयोग हो भन्ने लाग्दो हो । हाम्रा मध्यम आदर प्रयोग गर्ने सञ्चारले आदररहितभन्दा माथिल्लो तहको आदर भनी मध्यम आदर उपयुक्त ठानेको हुन सक्छ तर मध्यम आदरको प्रयोगले औपचारिक सामग्रीको सम्प्रेषणलाई अनौपचारिक बनाएको छ ।

आदरार्थीका बारेमा ‘समसामयिक नेपाली व्यकरण’बाहेक अन्य व्याकरण के भन्छन्, त्यतातर्फ पनि हेरौं । हाम्रा पुराना र आधुनिक व्याकरणमा आदरार्थीको विशद चर्चा भटिँदैन । पुराना व्याकरणले आदरार्थीलाई मानबोधक सर्वनाम भनेर सामान्य किसिमले उल्लेख गरेका छन् । सर्वप्रथम त्रिभुवन विश्व विद्यालयको ‘अनिवार्य नेपाली शिक्षण निर्देशन’ (२०३६) आदरार्थीका पहिलोदेखि सातौंसम्मका तहदेखाएको छ । यसले आदरार्थी ‘नेपाली समाजको बनोटमा आधारित भएकाले यसलाई उमेर लिङ्ग, नाता वा पुस्ता, अधिकार, जात, जाति, परिस्थिति र औपचारिक वा अनौपचारिक प्रसङ्ग र वर्ग जस्ता कुराले कुन तहको आदरार्थीको प्रयोग गर्ने भन्ने कुराको तय गर्छन्’ भनेको छ ।

यसपछि भाषाशास्त्री चूडामणि बन्धु (२०४५ : १६१-२२१) सम्पादित ‘नेपाली व्याकरणका केही पक्ष’ मा रहेका पाँचवटा कार्यपत्रमा आदरार्थीको विशद चर्चा गरेको देखिन्छ । विशद चर्चा भए पनितिनमा ‘अनिवार्य नेपाली शिक्षण निर्देशन’ (२०३६) ले बताएका आदरार्थीका प्रकार र प्रयोग अनुसरण गरिएका छन् । ‘समासामयिक नेपाली व्याकरण’ ले भने आदरार्थीलाई विशद चर्चाका साथ व्याकरणिक प्रवेश दिएको छ ।

कानुनमा आदरार्थी शब्दको निरपेक्ष प्रयोग अपेक्षित हुन्छ, । नेपालको संविधान २०७२ मा उल्लेख भएका राष्ट्रपतिदेखि विभिन्न आयोग संवैधानिक संस्था छन् । नेपाली व्याकरणले यी संस्थालाई व्यक्तिवाचक नाम सरह एक वचन क्रियापदको प्रयोग गर्छ । कानुनमा भएका संस्थालाई प्रयोग गरिएका एकवचन क्रियापद आदर निरपेक्ष प्रयोग हुन् । कानुनमा मात्र होइन, सामान्य व्यवहारमा पनि तटस्थ आदर प्रयोग गरेर निरपेक्षता देखाउन सकिन्छ । नेपालमा राजा हुँदा राजसंस्था र राजालाई कानुनी भाषाले अत्युच्च आदरको प्रयोग गरिएको थियो । यो संस्था रहिन्जेल नेपालका कानुनमा राजपरिवारका सदस्यका लागिसमेत आदरार्थीको निरपेक्ष प्रयोग थिएन ।

अहिले कतिलाई कानुनमा भएको आदरको निरपेक्ष प्रयोग आदररहित प्रयोग हो भन्ने लाग्दो हो । हाम्रा मध्यम आदर प्रयोग गर्ने सञ्चारले आदररहित भन्दा माथिल्लो तहको आदर भनी मध्यम आदर उपयुक्त ठानेको हुन सक्छ । तर, मध्यम आदरको प्रयोगले औपचारिक सामग्रीको सम्प्रेषणलाई अनौपचारिक बनाएको छ भने त्यसलाई औपचारिक सम्प्रेषण नै ठान्दा व्याकरणका अर्थमा प्रस्तोताले सम्पे्रषित व्यक्ति वा व्यक्तिहरूलाई पद, प्रतिष्ठा र भूमिकामा आफूभन्दा तल्लो दर्जाको व्यक्ति ठानेको हुन पुग्छ । त्यसकारण सञ्चार जगतले औपचारिक कार्यक्रमका समाचार सम्प्रेषणमा उच्च आदरको प्रयोग गर्दा उल्लिखित द्विविधा रहँदैन ।

नेपालमा गणतन्त्र प्रारम्भ भएपछि शासन सत्ताको माथिल्लो संरचनामा संभ्रान्त नेपाली भाषिका वा ठकुरी भाषिकाले औपचारिक मान्यता पाएन । किनकि त्यस भाषिकालाई नेपाली व्याकरणमा दिइएको औपचारिक प्रयोगको औचित्य रहेन । कानुनबाट संभ्रान्त वर्गीय अत्युच्च आदरार्थी शब्द र वाक्य संरचना हटाइए । यता सञ्चार जगतले आफ्नो प्रत्यक्ष र औपचारिक समाचार सम्प्रेषणमा आदरार्थीमा परिवर्तन गर्न थाले । परिवर्तन गर्दा उच्च आदर र मध्यम आदरको प्रयोगमा सञ्चारहरू विभाजित बने ।

प्रयोग, प्रयोगकर्ता आ-आफूले ठाने दुवै आदरले औपचारिक किसिमबाट समानता, विनम्रता, शिष्टता र सभ्यता प्रदर्शन गर्छ र यसबाट स्खलित भइँदैन । तर, वर्तमानमा उच्च आदर प्रयोग गर्ने सञ्चारले श्रोता, दर्शक र पाठकलाई आफ्नो प्रशासनिक, सांस्कृतिक, सामाजिक र पारिवारिक संरचना अनुसार आदर आदरबीचको भिन्नता र स्खलन महसुस गराएको देखिन्न तरमध्यम आदरको प्रयोग गर्नेसञ्चारले यो महसुस गराउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?