तोयराज नेपाल
श्रावणशुक्ल पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा भनिन्छ । यसदिन जनै लगाउने जति सबैले नित्य कर्म समाप्त गरेपछि गुरु–शिष्य सबै मिलेर नदी, जलाशयमा गएर संकल्पपूर्वक श्रावणी स्नान गर्नुपर्छ । धेरैजना मिलेर गरिने स्नान भएको हुँदा यसलाई गणस्नान पनि भनिन्छ ।
संक्रान्तौ ग्रहणे चैव सूतके मृतके क् पि वा ।
गणस्नानं न कुर्वीत नारदस्य वचो यथा ।
अर्थात् संक्रान्ति, ग्रहण, सूतक र जुठामा यो स्नान गर्न निषेध छ, भन्ने नारदको वचन छ । यसमा दश किसिमको स्नान गर्नुपर्दछ । जो यस प्रकार छन् : भस्म, गोमय, मृद्, वारि, गोमूत्रं गोमयं पयः । दध्याज्यं दर्भ इत्येते विहिताः क्रमशो दश ।। झदध्याज्यं दर्भमन्त्राश्च विहिताः क्रमशो दश ।। इति पाठन्तरम् ।
अर्थात् स्नान गर्ने.. १, भस्म स्नान-खरानी दलेर स्नान गर्ने । २, गोमय-गोबर । ३, मृद्-माटो । ४, वारि-पानी । ५, गोमूत्र-गहुँत । ६, पयः-गाईको दूध, ७, दधी-दही । ८, आज्यम्-घ्यू । ९, दर्भ–कुश र १०, मन्त्रसमेत गरी दश किसिमका स्नान हुन्छन् । स्नानपछि भस्म, चन्दन आदि धारण गरेर स्नानांग तर्पण गर्नुपर्छ । अनि सूर्योपस्थान, सन्ध्यावन्दनादि सकेर उपाकर्म गर्नुपर्छ ।
श्रावण्यां प्रौष्ठपद्यां वा क्प्युपाकर्म यथाविधि । युक्तश्छन्दांस्यधीयीत मासान् विप्रोक्र्धपञ्चमान् । मनुः । सम्प्राप्ते श्रावणस्यान्ते पौर्णमास्यां दिनोदये । स्नानं कुर्वीत मतिमान् श्रुतिस्मृतिविधानतः ।। उपाकर्मादिकं प्रोक्तमृषीणाञ्चैव तर्पणम् । शूद्राणां मन्त्ररहितं स्नानं दानं च शस्यते । उपाकर्मणि कर्तव्यमृषीणाञ्चैव पूजनम् ।। भविष्यपुराण ।
यसवर्ष २०८० सालको ऋषितर्पणीपूर्णिमा भाद्र १४ गते ५.१८ घडीमात्र छ । भाद्र १३ गते चतुर्दशी तिथि ११.२८ घडीपछि पूर्णिमा लाग्द छ । दुई दिन पूर्णिमातिथि भएमा ६ मुहूर्त अर्थात् मोटामोटी १२ घडी भएमा अझ त्यसदिनको दिनमान ३१.४६ घडी भएकाले दिनमानलाई १५ ले भाग गर्दा २.७.४ घडीको मुहूर्त हुन्छ । ६ मुहूर्तमा १२.४२.२४ घडी हुन्छ ।
श्रावण्या प्रौष्ठपद्या वा प्रतिपत् षड्मुहूर्तकैः । विद्धा स्याच्छन्दसां तत्रोपाकर्त्सर्जनं भवेत् ।। (निर्णयसि.-चूडामणि-२२९०)
अथ यजुर्वेद्युपाकर्मनिर्णय : पौर्णमास्याः खण्डत्वे यदा पूर्णिमा मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने षड्मुमुहूर्तव्यापिनी तदा सर्वयाजुषाणामुत्तरैव । पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तत्रयादिव्यापिनी षड्मुहूर्तन्यूना तदा तैत्तिरीयैरुत्तरा ग्राहृया, तैत्तिरीयभिन्नयाजुषैः पूर्वा ग्राहृया । (धर्मसिन्धु सुधा-१२२०)
अथ काण्वमाध्यन्दिनोपाकर्म निर्णयः तिथेः खण्डत्वे षड्मुहूर्ताधिक्ये षड्मुहूर्तन्यूनत्वे पूर्वा ग्राहृयेत्यादिः । (ध.सि.-१२३०)
दुई दिन पूर्णिमा हुँदा ६ मुहूर्तभन्दा बढी भए भोलिपल्ट कमी भए अघिल्ला दिन चतुर्दशीका दिन उपाकर्म गर्नुपर्दछ । अर्थात् उपाकर्म भनेको वेदाध्ययनको आरम्भको उत्सवय हो । यो कर्म आजबाट आरम्भ गरेर साढे पाँच महिनासम्म प्रत्येक दिन आ-आफ्ना शाखाका वेद अध्ययन गर्दै अन्त्यमा पौष वा माघमा रोहिणी नक्षत्र परेका दिन नदीतटमा गएर विधि पूर्वक उत्सर्जन अर्थात् अध्ययन समाप्तिको उत्सव गर्नुपर्दछ । आजैका दिन अरुन्धतीसहित कश्यपादि सप्तर्षिहरूको पूजा पनि गर्नुपर्दछ । सप्तर्षिहरू यसप्रकार छन् :- १, कश्यप २, अत्रि ३, भरद्वाज ४, विश्वामित्र ५, गौतम ६, जमदग्नि (वसिष्ठसमेत सप्त ऋषि र अरुन्धतिको पनि पूजा गर्नुपर्दछ ।) अनि रुद्राभिषेक गर्नुपर्दछ । त्यसपछि ऋषिलाई तर्पण पनि गर्नुपर्दछ । ऋषिलाई तर्पण गर्ने पर्व भएकाले यस पर्वको नाम नै ऋषितर्पणी पूर्णिमा भनिन्छ । त्यही यज्ञोपवीत (जनै)को संस्कार गरी यज्ञेपवीत धारण गर्नुपर्दछ । यज्ञोपवीत संस्कारमा पहिले तन्तुदेवताको आहृवान गरी पूजा गर्नुपर्छ । तन्तुदेवताहरू यस प्रकार छन् :- १, ॐ कार २, अग्नि ३, सर्प-नाग ४, सोम, ५, पितृ ६, प्रजापति ७, अनिल-वायु ८, यम र ९, विश्वेदेव रहन्छन् । तिनको आहृवान गरी पूजा गर्नुपर्छ । त्यसपछि ग्रन्थि (शिखा) मा तीन देवताको १, ब्रहृमा २, विष्णु र ३, रुद्रको आहृवान र पूजा गर्नुपर्दछ । त्यसपछि ऋषिश्राद्ध गर्ने विधान छ । यो श्राद्ध नगर्दा प्रत्यवाय (पाप) नलाग्ने र गर्दामा फलातिशय हुने श्राद्ध भएको हुँदा गर्नेलाई फलप्राप्ति हुन्छ भने नगर्नेलाई पाप लाग्दैन । त्यसपछि पितृलाई र ब्राहृमणलाई यज्ञोपवीत अर्पण गरी आफूले धारण गर्नुपर्छ । यज्ञोपवीत धारण गर्दा पहिले आचमन गरेर विनियोग गर्नुपर्दछ, ॐयज्ञोपवीतमितिमन्त्रस्य परमेष्ठी ऋषिः लिंगोक्ता देवता श्रौतस्मार्तकर्मानुष्ठानसिद्ध्यर्थं नूतनयज्ञोपवीतधारणे विनियोगः। त्यसपछि यज्ञोपवीतलाई दुबैहातमा लिएर हातजोडी दशपटक गायत्रीमन्त्रले अभिमन्त्रण गर्नुपर्दछ । अनि तलको मन्त्र उच्चारण गरी एउटा एक्ले जनै लिएर दाहिने हात ठाडो पारेर पहिले हातबाट छिराएर पछि शिरबाट धारण गर्नुपर्दछ । मन्त्र यसप्रकार छन् :- ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । युष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतम्बलमस्तु तेजः ।। ॐयज्ञोपवीतमसि यज्ञस्य त्वा यज्ञोपवीतेनोपनहृयामि ।। इति । त्यसपछि अर्को जनै लिएर पहिले जस्तै गरी पहिले दाहिने हातबाट र पछि शिरबाट छिराउनुपर्दछ । अनि पुरानु यज्ञोपवीत निकालेर त्याग गर्नुपर्दछ । पुरानो जनै त्याग गर्दा यो मन्त्र पढ्नुपर्छ । एतावद्दिनपर्यन्तं ब्रहृमत्वं धारितं मया । जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।इति। यसपछि आचमन गरेर यथाशक्ति गायत्री जप गरेर जपअर्पण गर्नुपर्दछ । अनेन नवीनयज्ञोपतीतधारणार्थे कृतेन यथाशक्तिगायत्रीजपाख्येन कर्मणा भगवान् सूर्यनारायणः प्रीयतां न मम । ॐ तत् सत् परब्रहृमार्पणमस्तु ।
यसैदिन रक्षाबन्धनको पूजा गरेर धारण गर्नुपर्छ । यसको मन्त्र यस प्रकार छ ः येन बद्धो बलि राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।। इति । बली राजामा रो रि सूत्रले दीर्घ भएको हो । यसदिन विभिन्न थरीका गेडागुडीहरू तीन–चार दिनअघि नै भिजाएर उम्रेपछि क्वाँटी बनाई पकाएर खाँदा वर्षाकालमा लागेको चिसो जान्छ भन्ने प्रचलन छ । यो प्रचलन विशेषगरी नेवारजातिमा बढी पाइन्छ ।
उपाकर्म ऋषितर्पणी तथा रक्षाबन्धनका निर्णयका सम्बन्धमा
श्रावणी पौर्णमासी तु संगवात्परतो यदि । तदैवौदयिकी कार्या नान्यदौदयिकी भवेत् ।। इति पराशरमाधवे गाग्र्यः । श्रावण्या पौष्ठपद्या वा प्रतिपत् षड्मुहूर्तकैः । विद्धा स्याच्छन्दसां तत्रोपाकर्मोत्सर्जनं भवेत् ।। इति कालादर्शे निगमः । निर्णयसिन्धुः चूडामणिः–२२९ ।
श्रवणः श्रावणं पर्व संगवस्पृग् यदा भवेत् । तदैवोदयिकं कार्यं न्यान्यदौदयिकं भवेत् ।। नि.सि.चू.२२८ ।
कात्यायनादीनां तु दिनद्वये पूर्वाहृणव्याप्तौ एकदेशस्पर्शे वा पूर्वैवेञ्ति हेमाद्रिः । यदपि श्रावणी दुर्गनवमी दुर्गा चैव हुताशनी । पूर्वविद्धा प्रकर्तव्या शिवरात्रिर्बलेर्दिनम् ।। इति ब्रहृमवैवर्तम् । नि.सि.चू.२३० ।अथयजुर्वेद्युपाकर्मनिर्णयः ध.सि. । तत्र बहृवृचानां श्रवणवत् सर्वयजुर्वेदिनां श्रावणपौर्णमासी मुख्यः कालः । पौर्णमास्याःखण्डत्वे यदा पूर्णिमा पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने षड्मुहूर्तव्यापिनी तदा सर्वयाजुषाणामुत्तरैव । यदा तु पूर्वदिने मुहूर्ताद्यनन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तद्वयादिपरिमिता भवति तदा तैत्तिरीयैः उत्तरा ग्राहृया । तद्भिन्नयाजुषैः पूर्वा । इति व्यवस्था ।
यदा पूर्वदिने मुहूर्तानन्तरं प्रवृत्ता द्वितीयदिने मुहूर्तद्वयान्न्यूना तदा सर्वेषां पूर्वैवेति ।। ध.सि.सुधाविवृति–१२२० । पुरुषार्थचिन्तामणिःपृ.२९१ ।
अथ काण्वमाध्यन्दिनोपाकर्मर्निर्णयः काण्वमाध्यन्दिनादिकात्यायनानां श्रवणयुता श्रावणपूर्णिमा केवला वा हस्तयुक्ता पञ्चमी केवला वा मुख्यः कालः । अतः केवलश्रवणे केवलहस्ते च तैर्न कार्यम् । श्रावणमासे विघ्नदोषे भाद्रपदगतपूर्णिमापञ्चम्योः कार्यम् । तिथेः खण्डत्वे षड्मुहूर्ताधिक्ये उत्तरा । षड्मुहूर्तन्यूनत्वे पूर्वा ग्राह्येत्यादिः पूर्वोक्त एव निर्णयः । ध.सि.सुधा-१२३ । ध.सि.हेम-१४० ।
अघिल्लादिन पूर्णिमा लागेर भोलिपल्ट दुई मुहूर्तभन्दा कम्ती पूर्णिमाको घडी भएमा सबैले पहिला दिनमै उपाकर्म गर्नुपर्ने हुन्छ । कात्यायनका अनुयायीले पछिल्ला दिन ६ मुहूर्तभन्दा कम्ती पूर्णिमा भएमा अघिल्ला दिनमै गर्नुपर्दछ ।
यसवर्ष २०८० सालको ऋषितर्पणीपूर्णिमा भाद्र १४ गते ५.१८ घडीमात्र छ । भाद्र १३ गते चतुर्दशी तिथि ११.२८ घडीपछि पूर्णिमा लाग्दछ । दुई दिन पूर्णिमातिथि भएमा ६ मुहूर्त अर्थात् मोटामोटी १२ घडी भएमा अझ त्यसदिनको दिनमान ३१.४६ घडी भएकाले दिनमानलाई १५ ले भाग गर्दा २.७.४ घडीको मुहूर्त हुन्छ । ६ मुहूर्तमा १२.४२.२४ घडी हुन्छ । अर्थात् १२ घडी ४२ पला पछिल्ला दिनमा पूर्णिमा तिथि भएमा मात्र हामी कात्ययनका अनुयायीहरूले पछिल्ला दिन श्रावणीकर्म गर्नुपर्ने शास्त्रीय निर्णय देखिन्छ तर पछिल्ला दिन ५.१८ घडीमात्र पूर्णिमा तिथि भएकाले ६ मुहूर्तभन्दा कम्ती हुँदा अघिल्लादिन भाद्र १३ गते ११.२८ घडीपछि अर्थात् प्रातः १०.१७ बजेपछि नै श्रावणीकर्म उपाकर्म गर्नेुपर्ने शास्त्रीय आधार स्पष्ट भएको छ । हेमाद्रिः । निर्णयसिन्धुः चूडामणि-२२९ । पुरुषार्थचिन्तामणिः । पृ.२९१ । धर्मसिन्धुः सुधा-१२२,१२३ ।
रक्षाबन्धनका विषयमा
अथ रक्षाबन्धनम् रक्षाबन्धनमस्यामेव पूर्णिमायां भद्रारहितायां त्रिमुहूर्तोदयव्यापिन्यामपराहृणे प्रदोषे वा कार्यम् । उदये त्रिमुहूर्तन्यूनत्वे पूर्वेद्युर्भद्रारहिते प्रदोषादिकाले कार्यम् । इदं ग्रहणसंक्रान्तिदिने क्पि कर्तव्यम् । धर्मसिन्धुःसुधा-१२७ । ध.सि.हेम-१४५ । श्रावणशुक्ल पूर्णिमाका दिन तीन मुहूर्तव्यापी पूर्णिमा भएमा भद्रापछि रक्षबन्धन गर्नुपर्दछ । तीन मुहूर्तभन्दा घटी पूर्णिमा भएमा अघिल्ला दिनमा नै भद्रापछि अपराहृणकालमा वा प्रदोषकालमा भए पनि गर्नुपर्दछ । यस दिन ग्रहण परे पनि संक्रान्ति परे पनि रक्षबन्धन गर्नुपर्दछ । यसवर्ष २०८० भाद्र १४ गते श्रावणशुक्ल पूर्णिमा ५.१८ घडीमात्र भएकाले तीन मुहूर्तभन्दा कम्ती भएको हुँदा त्यस दिन रक्षाबन्धन गर्न भएन । त्यसैले भाद्र १३ गते चतुर्दशीका दिन ११.२८ घडी १०.१७ बजेपछि पूर्णिमासँगै भद्रा सुरु भएर रातको ९.३ बजेसम्म भद्रा रहने हुँदा १३ गते रातको ९.३ बजेपछि रक्षाबन्धन गर्नुपर्दछ । यो शास्त्रीय कुरा भयो ।
अब व्यावहारिक कुरा
रक्षाबन्धन कर्म दुई प्रकारको हुन्छ-
१, पहिलो रुद्री पूजा अग्निस्थापना आदि धेरैजसो वैदिक कर्मका अङ्गकारूपमा गरिने अङ्गरूप रक्षाबन्धन , जसलाई कर्मसमाप्त भएपछि यजमानका हातमा बाँन्धिन्छ, जसका लागि भद्रा आदिको विचार गर्नुपर्दैन, कर्मको समाप्ति नै त्यस रक्षाबन्धनको काल हुन्छ ।
२, दोस्रो श्रावणशुक्ल पूर्णिमाका दिन जसको एउटा नाम नै रक्षाबन्धनपूर्णिमा भनिछ, त्यो रक्षाबन्धन अंगका रूपमा नभएर अंगीकारूपमा अर्थात् प्रधानरूपमा रक्षाबन्धन गरिन्छ । जसका लागि कम्तीमा तीन प्रहर पूर्णिमाभएको हुनुपर्छ र जसलाई भद्राको घडी कटाएरमात्र रक्षाबन्धन गर्नुपर्दछ ।
यसपालिको श्रावणशुक्लपूर्णिमा २०८० भाद्र १४ गते ५.१८ घडीमात्र हुँदा तीन मुहूर्तभन्दा कम्ती भएकाले त्यस दिन रक्षाबन्धन गर्न शास्त्रसम्मत नभएको हुँदा मिलेन । अब भाद्र १३ गते ११.२८ घडीपछिमात्र पूर्णिमा तिथि लाग्ने र पूर्णिमाको पूर्वार्धमा नै भद्रा सुरु भएर उक्त भद्रा रातको ९.३ बजेसम्म भद्रा रहने हुँदा रातको ९.३ बजेपछिमात्र अंगरूपको मुख्य रक्षाबन्धन गर्न शास्त्रसम्मत देखिन्छ । तर त्यो त्यति व्यावहारिक भएन ।
त्यसैले १३ गते श्रावणी कर्मका निमित्त दियो कलश गणेश पूजागर्ने क्रममा अंगका रूपमा रक्षबन्धनको पूजा गर्नुपर्दछ । त्ययसपछि श्रावणी कृत्यका कर्महरू आरम्भ गरेर अंगीरूपको प्रधान रक्षबन्धनको पनि पूजा गर्ने । किनकि रक्षाबन्धन पूजा गर्न भद्राको दोष लाग्दैन । केवल रक्षाबन्धन बाँध्नमात्र भद्राको दोषलाग्ने हुँदा पूजा गरेर राख्न हुन्छ । त्यसपछि श्रावणी कर्म समाप्त भएपछि त्यही अंगरूपमा पहिले पूजा गरिएको रक्षाबन्धन बाँध्ने । पछि रातको ९.३ बजे भद्रा समाप्त भएपछि सम्भव हुने वैदिकधर्मावलम्बीहरूले अंगीरूपको प्रधान रक्षाबन्धन पुनः बाँध्नु शास्त्रसम्मत र व्यावहारिक हुनजान्छ ।
श्रावणी कृत्यका कर्महरू आरम्भ गरेर अंगीरूपको प्रधान रक्षबन्धनको पनि पूजा गर्ने । किनकि रक्षाबन्धन पूजा गर्न भद्राको दोष लाग्दैन । केवल रक्षाबन्धन बाँध्नमात्र भद्राको दोषलाग्ने हुँदा पूजा गरेर राख्न हुन्छ । त्यसपछि श्रावणी कर्म समाप्त भएपछि त्यही अंगरूपमा पहिले पूजा गरिएको रक्षाबन्धन बाँध्ने ।
अब १३ गते पूजा गरेको रक्षाबन्धनलाई भद्रा दोष बलवत्तर दोष भएको हुनाले, त्यो दोष कटाएर राति ९.३ बजेपछि मुख्यरूपमा र सम्भव नहुनेले १३ गते पूजा गरिएको रक्षाबन्धन १४ गते बाँध्नु व्यावहारिक हुन्छ । यसरी १३ गते रक्षाबन्धन बाँध्न सम्भव हुनेले १३ गते नै बाँध्ने यदि १३ गते बाँध्न सम्भव नहुनेले १३ गते अंगका रूपमा पूजा गरिएको १४ गते बाँध्न मिल्नेछ । यसो गर्दा शास्त्र मान्नेलाई शास्त्रीय भयो र व्यहार पनि विचार गर्नेलाई व्यावहारिक पनि हुने देखिन्छ । यसो गर्दा सबैलाई शास्त्रीय र व्यावहारिक दुवै हुने हुँदा यस धरातलमा टेकेर जसजसलाई जे जे सम्भव र अनुकूल हुन्छ त्यसैनुसार गर्न अनुरोध गरिन्छ । अर्थात् सम्भव भएसम्म १३ गते राति मुख्य भएकाले १३ गतेराति ९.३ बजेपछि नै बाँध्ने । जसलाई राति बाँध्न सम्भव हुँदैन उहाँहरूले १४ गते बाँध्ने । जसलाई राति बाँध्न सम्भव हुन्छ उहाँहरूले १३ गते राति ९.३ बजेपछि रक्षाबन्धन बाँध्नु शास्त्रीय र उपयुक्त हुन्छ ।
गाईजात्रा
भाद्रकृष्ण प्रतिपदालाई गाईजात्रा पर्व भनिन्छ । खासगरी यो पर्वम काठमडौं उपत्यकाका नेवारजातिले मनाउने परम्परा छ । यस पर्वलाई भाद्रकृष्ण प्रतिपदादेखि भाद्रकृष्ण अष्टमीसम्म मानाउने गरिए तापनि मुख्यरूपमा भाद्रकृष्ण प्रतिपदालाई नै गाईजात्रा वर्व भन्ने गरेको पाइन्छ । यो पर्वको प्रचलन कहिलेदेखि चलेर आयो भन्ने बारे एउटा ऐतिहासिक जनश्रुति छ । जो यसप्रकार छ :- कुनै समयमा राजा प्रतापमल्लकी एउटी रानीका छोराको मृत्यु भयो । पुत्रका मृत्युमा रानी अत्यन्त विहृवल भइन् । रानीलाई सम्झाउन राजाले विभिन्न उपाय गरे, तर रानीको चित्त बुझेन । अनि यसैदिन प्रतापमल्लले एउटा उर्दी गरे कि जसजसका घरमा यस वर्ष मानिसको मृत्युभएको छ, ती सबै घरबाट परिवारले गाईलाई सिँगारेर गाईको जस्तो आकार बनाएर कुमार केटालाई सिँगेर सबैले नगरपरिक्रमा गराउनू, नत्र सजाय हुनेछ भन्ने उर्दी गरे । उर्दी अनुसार हरेक मृतकका घरबाट गाई र कुमार केटालाई सिँगारेर निकाली नगरवासीहरू तिनका साथमा जताततैबाट लर्को लागि शहर परिक्रमा गर्दै दरबारअगाडि अएपछि रानीले देखेर धेरै मानिसको मृत्यु भएको रहेछ, मेरा छोराको मात्र मृत्यु भएको होइन रहेछ भन्ने बुझेर रानीको मन शान्त भएको थियो । त्यसैकारण यस समयदेखि गाई जात्राको परम्परा चलेको हो ।
यसदिन त्यसवर्ष मृत्युभएका परिवारका सदस्यको सद्गतिप्राप्ति हवोस् भन्ने कामना राखेर स्वर्गीय पितृका नाममा यसवर्ष मृत्युभएका घरबाट गाईलाई सिँगापटार गरेर निकालेर नगरपरिक्रमा गराइन्छ । साथसाथै गाईको अनुहारजस्तो मुखुण्डो लगाएर कुमार केटालाई सिँगारेर साथमा गणेशको मूर्तिलाई पनि सिँगारेर नगरपरिक्रमा गराइन्छ । अगाडि पछाडि गाईका आकारका चित्र टाँसी टुप्पामा गाईका सिङजस्तै आकारका दुईटा परालका सिङ बनाएर डोकामा राखी पुरोहितद्वारा गाई, गणेश र डोकाकोको पूजा गराई मृतकका घरबाट निकालेर नगरपरिक्रमा गराइन्छ ।
ती गाई गणेश र कुमार केटाहरूलाई घरघरबाट पूजा गरिन्छ । फलफूल मिठाई रोटी आदि नैवेद्य र भेटीघाटीसमेत चढाइन्छ । कसैकसैलेता जोगीको भेषमा पनि घरघर घुमाउँछन् । पछि सीतारामको भेषमा केटाकेटीहरूलाई निकालेर तिनको पनि पूजा गरिन्छ । यसरी कृष्णअष्टमीसम्म जात्रा निकाल्ने परम्परा छ । पहिलो दिन नेवारजातिका सबैजसो घरका मानिस जात्रामा सहभागी हुन्छन् भने अरू दिन मृतकका घरपरिवारका साथमा केही मानिसहरू मात्र परिक्रमामा सहभागी हुन्छन् । घरबाट गाई निकालेर शहर घुमाउने गएपछि फिरेर नआउन्जेल केही नखाने चलन छ ।
गाईजात्रबारे अर्को पनि अचममको किंवदन्ती छ, वर्षैभरि मेरका व्यक्तिहरू सिधंै यमलोकजान नपाई यत्रतत्र प्रेतरूपमा भौँतारिएर रहेका हुन्छन् । गाजात्रका दिन यमलोकको ढोका अलिकति खेलिने र त्यसदिन नगर परिक्रमा गराइएका गाईका सिङद्वारा झट्का दिँदा यमलोकको ढोका पूरै खोलिने हुँदा मृतक व्यक्तिहरू सजिलै यमलोकमा प्रवेश गर्न पाउँछन् भन्ने जनविश्वास छ । नेवारजातिमा गाईजात्राका अघिल्ला दिनसम्म मृत्यु हुने व्यक्तिको मलाम जाँदा एककिसिमको छाता पनि लैजाने परम्परा छ । किन भने मृतक व्यक्ति यमलोकमा प्रवेश नपाई बाहिरै बस्नुप¥यो भने उसले भिज्नुनपरोस् भन्ने विचारले हो । तर गाईजात्रका दिन यमलोकको ढोका खुला रहने हुँदा त्यसदिन मर्ने व्यक्तिका लागि छाता लगिँदैन ।
उपत्यका बाहिरका नेवारजातिको बस्तीमा भने यो सप्ताहभरि लाखेजात्रा मनाउने चलन छ । विभिन्न पत्रपत्रिकामा हास्यव्यंगय प्रदर्शन गरी मनोविनोद गर्ने परम्परा छ । गाईजात्राका मुख्यदिन भाद्रकृष्ण प्रतिपदाका दिन भने पत्रपत्रिकामार्फत व्यक्तगत गालीबेइजती गरिए पनि मुद्दा नलगाउने परम्परा छ । जे होस् वैदिक सनातनीहरूले गाईलाई लक्ष्मीको रूपमा स्वीकारी जुनसुकै कर्म गर्दा पनि गाईको पूजा गरेर गाई दान गरेरमात्र कर्म गर्ने हाम्रो परम्परा छ । गाईको पञ्चगव्य पवित्र र स्वास्थ्यकारक छ । त्यसैले गाईको सेवा गर्दा मनुष्यको कल्याण हुन्छ । ॐ गोभ्यो नमः । ॐ हरये नमः।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच