सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ ।

बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको हो । उहाँले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेका बताउनु भयो ।

उहाँले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्नुभयो । उहाँले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताउनु भयो । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले अहिले समृद्धिको यात्रालाई तिव्र बनाउने हो भने समृद्धिको प्रक्रियालाई तिव्र बनाउने र फड्कोमा पु¥याउने हो भने हामीले सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडी नबढाइ हुँदैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीालाई रोक्ने, ठगिलाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरुलाई कडा कारबाही गर्ने प्रक्रियामा अगाडी बढेर मात्रै यो देशमा सुशासन स्थापित गर्न सकिन्छ । र सुशासन स्थापना गरेसँगै मात्रै समृद्धिलाई तिव्र बनाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यही आधारमा अहिले यो अभियान चलाइराखेका छौँ । देशका सबै जनसमुदायहरु, सबै संगठनहरुले, सबै संस्थाहरुले, सबै युवाहरुले, नागरिक समाजले सरकारले चालेको यो सुशासनको अभियानलाई समर्थन गरिराखेका छन् । म सबैलाई सरकारको तर्फबाट आभारसहित धन्यवाद पनि दिन चाहान्छु । यसले थोरै आशा पैदा गरेको छ । समृद्धिको यात्रा जो मन्द छ, त्यसलाई तिब्र बनाउनको निम्ति सुशासनको यो अभियानले सहज बनाउँछ भन्ने आशा पैदा भएको छ । तर साथसाथै यो सुशासन जुन प्रवृत्तिका विरुद्ध, जुन तागतका विरुद्ध सञ्चालन गरिएको हो । ति प्रवृत्ति र तागतहरु संगठित भएर यसलाई असफल गराउने दुष्प्रयत्न पनि गर्दैछन् भन्ने अर्को यथार्थ हो । तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन । यसकारण हामी यसलाई सफल बनाइ छाड्छौँ र समृद्धिको मुल आधारको रुपमा यसलाई अगाडी बढाएर यो नेपाललाई समृद्ध नेपाल बनाइ छाड्छौँ भन्ने संकल्प छ । सरकार मात्र होइन, सरकारमा रहेको राजनीतिक पार्टी मात्रै होइन । सबै राजनीतिक पार्टीहरुले राष्ट्रिय मुद्दामा सहमती कायम गर्नुपर्छ । त्यसपछाडी सारा संघ, संगठनहरु, निजी क्षेत्र, सबै मिलेर देशको अहिलेको राष्ट्रिय, केन्द्रिय कार्यभारलाई पूरा गर्न हामी एकसाथ हातेमालो गरेर अगाडी बढ्नुपर्छ भनेर संकल्प गर्नु जरुरी छ । त्यसो भयो भने नेपाल बनाउन सक्छौँ । बनाइ छाड्नुपर्छ । अब आशा मर्दै जाने, विश्वास घट्दै जाने, निराशा बढ्दै जाने कुरालाई रोक्नुपर्छ । नयाँ आशा, नयाँ विश्वास, नयाँ आधारसहित हामी अगाडी बढ्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पु¥याउने पनि बताउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?