हुम्लामा साउने पूर्णिमाको रौनक (तस्बिरमा हेर्नुहोस्)

विवाह गर्न चाहेका युवा र युवतीले साइत हेर्नु नपर्ने किन्वदन्ती

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 7 mins

हुम्ला । जनै पूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने हुम्लाको प्रसिद्ध चाड साउने पूर्णिमा जिल्लाका विभिन्न शक्तिपिठमा धुमधामको साथ मनाइएको छ । धर्मले हिन्दु नै भएतापनि यहाँका बासिन्दा दशैं र तिहार भन्दा विशेष महत्वका साथ साउने पुर्णिमा पर्वलाई मनाउने गर्दछन् ।

जिल्लाका हरेक गाउँमा स्थानीय धामी नृत्य र देउडा नृत्यको लागि कहलिएको यो पर्वमा युवा युवतीको लागि भने विशेष दिन रहने गरेको छ । मिठो खाने र नयाँ कपडाको साथमा सजिने चार्डको रूपमा यो पर्व चिनिने गरेको छ । हुम्लाको सिमकोट गाउँपालिकामा अझ यो पर्व बढी धुमधामको रुपमा मान्ने चलन रहेको छ । भने सदरमुकाम सिमकोट यो पर्व पाँच दिनसम्म लाग्ने गर्दछ । जिल्लाका अन्य तिर्थस्थलमा भने चतुर्थी र पूर्णिमाको दिनमा मात्र मनाउने यो पर्व भने सिमकोटमा त्रियादशीको दिनदेखि १ हप्तासम्म धुमधामले मनाउने चलन रहेको छ ।

नयाँ धामी हुन चाहने युवाको ताँती पनि यो पर्वमा राम्रै देख्न पाइन्छ भने नयाँ कुरा के रहेको छ भने देउता आएपछि विशेषगरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाँच्ने) गरेको पाइएको छ । शक्तिपिठमा धामीले आफ्नो शक्ति प्रदर्शन गर्नको लागि कोही धामीले दूध ओकल्ने, जमरा उमार्ने, तातो तेल पिउने लगायतका अद्भूत कार्य समेत देखाउने प्रचलन रहेको छ ।

जिल्लाका ७ वटा नै स्थानीय तह गाउँपालिकाबाट सिमकोटमा मेला भर्नेको हजारौं संख्यामा उपस्थिति रहने गरेको छ । दिउँसो स्थानीय मन्दिरमा गई खसी, बोका चढाई पूजाआजा गर्ने र अपरान्हतिर सिमकोटका विभिन्न मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको सिमकोट गाउँपालिका–डाडाफयाका बिरमान सिंहले बताउनुभयो । युवायुवतीले देउडा गीत खेलेर आफ्ना मनका बह र माया पिरती साट्ने गरेको स्थानीय सिंहले बताउनुभयो ।

देउडा खेल्दा खेल्दै गीतको माध्यमबाट मायाको भाव गितबाट नै व्यक्त गरी कति युवा विवाहको बन्धनमा पनि बाँधिने गरेका छन् । यो पर्वमा कोही कसैले विवाह गर्न चाहेका युवा र युवतीले दिन, बार नै नहेर्नु पर्ने किन्वदन्ती समेत रहेको छ । हिन्दूको चाड भएको भए पनि यो पर्व मनाउनको लागि बौद्ध धर्मावलम्वीले पनि सौहाद्रता स्वरुप यो पर्वमा समर्थन गर्ने गर्दछन् ।

विशेष गरी आन्तरिक र बाह्य पर्यटकको लागि यो पर्वले विशेष महत्व राख्ने गरेको पाइएको छ । स्थानीय पसलमा पनि लाखौंको कारोबार हुने गरेको छ । नयाँ कपडा, दैनिक उपभोग्यका सामान र बन्दोबस्तीका सामान यो समयमा निक्कै बिक्री हुने गरेको छ ।

स्थानीय व्यापारीलाई सामान बेचविखनको लागि भ्याईनभ्याई नै हुने गरेको छ । वर्षमा दशैं र तिहारमा देशका अन्य भागमा व्यापारिक चहल पहल निक्कै बढ्ने गरेको भएता पनि हुम्लामा भने साउने पूर्णिमा मेलामा व्यापारिक चहलपहल हुने गरेको छ । यहि मौका पारेर स्थानीय व्यापारीले नेपालगञ्ज र सुर्खेतबाट हवाई ढुवानी गरेर हवाई जहाजको बुक गर्ने गरेका छन् । यो मेलामा सुनका गरगहना देखी लिएर कपडा सम्मको करोडौंको व्यापार व्यवसाय हुने गरेको छ ।

यो पर्वलाई अदानचुली गाउँपालिकाको खौला मन्दिर, सर्केगाड गाउँपालिकाको रोडिकोट र राहदेवको महादेवको मन्दिर, सिमकोटको मुग्राधारा मन्दिर, तल्लो बजारमा रहेको बाडपाल मन्दिर, ठेहे गाउँको रामपाल मन्दिर लगायत अन्य गाउँका सबैजसो शक्तिपिठमा धुमधामको साथमा मनाउने प्रचलन रहेको छ । यो पर्वलाई अझ व्यवस्थित गर्न सकेमा र प्रचार प्रसार गर्न सकेमा हुम्लामा आन्तरिक र बाह्य पर्यटनको राम्रो प्रवद्र्धन हुन सक्ने सम्भावना रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?