पुस्तक : डिल्लीप्रसाद आचार्य स्मृति ग्रन्थ

सुशीला घिमिरे
Read Time = 6 mins

लेखक तथा पत्रकार डिल्लीप्रसाद आचार्यको हालैमात्र निधन भएको छ । उहाँको निधनको केही समयभित्रै उहाँको स्मृति ग्रन्थ प्रकाशित भएको छ । आश्चर्यको कुरा त के छ भने आचार्यको निधन भएर १३ दिनको कामकाज नसकिँदै यो पुस्तक प्रकाशित भइसकेको छ । यो एउटा अद्वितीय उदाहरण हो । सरकारी जागिर खाएर उक्त जागिर छोडी पत्रकारिता गर्नुभएका आचार्य लेखक पनि हुनुहुन्थ्यो । उहाँको ‘झझल्काहरू’ शीर्षकमा एउटा पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तक इतिहासका विद्यार्थीहरूका लागि उपयोगी हुने विश्वास गर्न सकिन्छ । किनभने, आचार्यले २०२९ सालतिर हाल विवादमा आइरहेक हाम्रो कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको रिपोर्टिङ गर्नुभएको रहेछ ।

त्यसैबेला भारतले हाम्रो भूमिमा उसको सैनिक क्याम्प राखेको विषयमा रिपोर्टिङ गरी पत्रपत्रिकामा छपाउनुभएको रहेछ । यस अर्थमा आचार्यलाई एकजना ऐतिहासिक व्यक्तित्वका रूपमा लिन सकिन्छ । हालै उहाँको ८६ वर्षको उमेरमा भएको निधनको एकदम छोटो समयमै यो स्मृतिग्रन्थ प्रकाशित गरेर उहाँका उत्तराधिकारी, आफन्त तथा शुभचिन्तकहरूले एउटा प्रशंसनीय कार्य गर्नुभएको छ । आफन्त तथा अग्रजलाई सम्झिने काम उहाँहरूबाट भएको छ । निधनको बाह्रौं दिनमै लोकार्पण भएको यो पुस्तक डिएमआई साइजमा छ । भूमिका खण्डमा आठ र पाठ्य खण्डमा १२० गरी पुस्तकमा जम्मा १२८ पृष्ठ रहेका छन् ।

आफ्नातर्फबाट राष्ट्रका लागि योगदान पु¥याएका एकजना व्यक्तिलाई सम्झने काम यस पुस्तकका माध्यमबाट भएको छ । त्यो पनि धेरै छोटो समयमा । त्यसका लागि उहाँका आफन्त, घरपरिवार, साथीभाइ तथा शुभचिन्तक सबै धन्यवादका पात्र हुनुहुन्छ । 

पुस्तकको छपाइ राम्रो छ र अशुद्धिहरू कमै मात्र भेटिन्छन् । सेतो तौलयुक्त कागजको प्रयोग गरिएको यस पुस्तकको प्रकाशक बुलबुल पब्लिकेसन प्रा.लि. डिल्लीबजार काठमाडौं रहेको छ भने यसको लेआउट तथा डिजाइन रियल डिजाइन पोखराले गरेको छ । यही भदौ महिनामा प्रकाशित भएको यस पुस्तकको आवरण अर्नव गौतमले तयार पार्नुभएको छ । आवरण सुन्दर छ । पृष्ठभूमिमा हिमाल, पहाड देखिने मधुरो आकृति छ । हलुका पहेंलो रङमा तयार पारिएको आवरणको माथि ठूला राता अक्षरमा ‘स्मृति ग्रन्थ’ भनिएको छ । तल आचार्यको नाम डिल्लीप्रसाद आचार्य भनेर उहाँलाई लेखक तथा पत्रकारका रूपमा चिनाइएको छ । यहीँ उहाँको जन्म र मृत्युको सालसमेत दिइएको छ । बीचमा उहाँको फोटो राखिएको छ ।

पृष्ठ आवरणमा पनि आचार्यको फोटोसहित उहाँबारे केही वाक्य भनिएको छ । तल प्रकाशक संस्था बुलबुल पब्लिकेसनको नाम र लोगो दिइएको छ । अग्र भागमा एक पृष्ठमा आचार्यको फोटो र एक पृष्ठमा उहाँले लेख्नुभएको पुस्तकको फोटो राखिएको छ । त्यसपछि विषयसूची छ । ५२ जना साथीभाइ, घरपरिवार, शुभचिन्तक, आफन्तहरूका आचार्यको सम्झना गरेर लेखिएका केही स्मृतिहरू यस पुस्तकमा समेटिएका छन् । नेपालीका साथै केही लेखहरू अंग्रेजीमा समेत लेखिएका छन् ।

यहाँ आचार्यको सम्झना गर्नेहरूमा राष्ट्रिय स्तरमा नाम चलेका केही विद्वान, लेखक तथा पत्रकारसमेत रहनुभएको छ । पुस्तकको अन्त्यमा उहाँका जीवनका विभिन्न सन्दर्भ झल्किने फोटाहरू पनि दिइएको छ । उहाँको निधनपछि दिइएको श्रद्धाञ्जलि र उहाँले २०२९ साल फागुन ८ गते जागृति साप्ताहिकमा प्रकाशित गरेको ‘राष्ट्रिय अखण्डतामाथि भयङ्कर प्रहार, नेपालमा भारतीय सेनाको छाउनी निर्माण’ शीर्षकको समाचारको प्रतिलिपि पनि राखिएको पाइन्छ ।

समग्रमा भन्दा आफ्ना तर्फबाट राष्ट्रका लागि योगदान पुर्‍याएका एकजना व्यक्तिलाई सम्झने काम यस पुस्तकका माध्यमबाट भएको छ । त्यो पनि धेरै छोटो समयमा । त्यसका लागि उहाँका आफन्त, घरपरिवार, साथीभाइ तथा शुभचिन्तक सबै धन्यवादका पात्र हुनुहुन्छ । यसबाट अरूलाई पनि यसरी नै आफ्ना स्वजनको संस्मरण गर्नका लागि प्रेरणा प्राप्त हुने कुरा निर्विवाद छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?