सिंहदरबार जलाउने बालेनको असंयमित आक्रोश

गृह प्रशासनको आश्चर्यजनक मौनता !, सेतो प्लेटको गाडी मेयरलाई कि मेयर पत्नीलाई ?

डिबी शर्मा
Read Time = 17 mins

काठमाडौं । गत स्थानीय निर्वाचनपछि मूलतः तीन नाम एकाएक चर्चामा आए । काठमाडौं, धरान र धनगढी । ती नामसँगै जोडिएका तीन व्यक्तिको चर्चा पनि सँगसँगै चुलियो । बालेन्द्र साह (बालेन), हर्क साम्पाङ र गोपाल हमाल । वर्षौंदेखि राजनीतिमा रजगज गरेका प्रभावशाली दलका उम्मेदवारलाई पाखा लगाउँदै काठमाडौं महानगरमा बालेन, धरान र धनगढी उपमहानगरमा हर्क र गोपाल हमाल प्रमुखमा चुनिनुभयो । तीनैका पृष्ठभूमि फरक थिए । चुनावी एजेण्डा र गर्नुपर्ने काम पनि स्वभावतः फरक हुने नै भए । चुनावी नतिजासँगै राष्ट्रियसँगै र कतिपय अन्तर्राष्ट्रिय मिडियामा पनि उहाँहरू छाउनुभयो । उहाँहरूको उदयले राष्ट्रिय राजनीतिमै ठूलो प्रभाव छोड्यो ।

निर्वाचनको एक वर्ष बढी समय बित्दा बागमतीमा धेरै पानी बग्यो । हमाल चुपचाप काम गरिरहनु भएको छ । हर्कले केही कामसँगै बद्नाम पनि उत्तिकै कमाउनुभएको छ । पछिल्लो समय उहाँको प्रशंसा कम आलोचना बढी भइरहेको छ । चर्चाको चुली निरन्तर ओरालोमा छ । यसको मुख्य कारण हो उहाँको अशिष्ट र अमर्यादित बोली । सामाजिक सञ्जालमा जथाभावी लेखिरहने उहाँका ‘स्टाटस’ले मात्रै उहाँको आधा ‘हाइट’ घटाएको छ ।

हर्कपछि सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ काठमाडौंका मेयर बालेन पनि । बालेनले सार्वजनिक अभिव्यक्ति दिन रोज्ने माध्यम नै सामाजिक सञ्जाल हो । सार्वजनिक मञ्चहरूमा बालेनको उपस्थिति अत्यधिक कम हुन्छ । निर्वाचित भएदेखि नै सञ्चार माध्यम र प्रश्नबाट भागिरहनु भएका उहाँ ‘फेसबुके जवाफदेहिता’ देखाउनेमा भने अगाडि नै हुनुहुन्छ । ‘सेन्टिमेन्ट क्याच’ गर्नेदेखि नक्कली राष्ट्रवादको बर्को ओढ्नेसम्मका काम उहाँले फेसबुकबाटै गर्दै आउनुभएको छ । नेपालमा भारतीय चलचित्र प्रतिबन्ध गर्ने नाममा होस् वा चीनको बुच्चे नक्सा देखाएर रद्द गरिएको भ्रमण नै किन नहोस् । यी सबै नक्कली राष्ट्रवादका नाममा ‘अटेन्सक सिक’ गर्ने काइदाबाहेक केही थिएनन् । नत्र नेपालसँग सबैभन्दा बढी सीमा विवाद रहेको भारत भ्रमण उहाँले सुटुक्कै गर्नुभयो । तर, चीनले जारी गरेको नक्सामा नेपालको पुरानै भूभाग राखिएको कारण देखाउँदै औपचारिक भ्रमण नै रद्द गरिदिनुभयो ।

विकृत राजनीतिप्रति वितृष्णा बढिरहेका बेला धेरैपटक उहाँले नेतालाई निम्नस्तरको गाली गरेरै ‘सेन्टिमेन्ट क्याच’ गर्नुभएको छ । त्यो चाहे सिंहदरबारको फोहोर नउठाउने घोषणासँगैको अराजक अभिव्यक्ति होस् या भारत चीनले बनाइदिएको सरकारको इज्जत गर्दिनँ भन्ने अभिव्यक्ति नै किन नहोस् । गत चैतमा बालेनले नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै फेसबुकमार्फत आक्रोश पोख्नुभएको थियो ।
मेयरको हैसियत बिर्सेर गरिएका यस्ता ‘अराजक टिप्पणी’ खोज्ने हो भने दर्जनौँ भेटिन्छन् । अरू महानगरपालिकाका प्रमुख मर्यादाक्रममा तल छन् । बालेनको मर्यादा राज्यका अरू कैयन प्रमुख पदभन्दा धेरै माथि छ । ‘फेसबुके अभिव्यक्ति’कै कारण अदालतको अपहेलना मुद्दा खेप्नुभएका उहाँ बिदाको दिन र अबेर रातिमा बढी विवादित अभिव्यक्ति दिनुहुन्छ । उहाँका अधिकांश विवादित अभिव्यक्ति शनिबार आएका छन् ।

बालेन आफैँले झोसेको आगो
अब मूल विषयमा प्रवेश गरौँ । शनिबार साँझ एउटा सरकारी गाडी प्रहरीको निगरानीमा पर्‍यो । बिदाको दिन बिनापास सरकारी सवारीसाधन चलाउन पाइँदैन । बिदाको दिन सडकमा गुडेको सरकारी गाडीबारे सोधखोज गर्नु प्रहरीको ड्युटी नै हो । बिदाको दिन सरकारी गाडी चलाउन अनुमति लिनुपर्ने नियम पालन गराउने क्रममा महानगरको गाडी प्रहरीले सोधपुछका लागि केहीबेर रोकेछ ।

काठमाडौं महानगर नेपाल सरकारको कानुन नलाग्ने स्वायत्त क्षेत्र होइन । महानगरपालिकाका गाडीहरूमा पनि सरकारी नम्बर प्लेट नै प्रयोग गरिएको छ । यसैले प्रहरीले सामान्य सोधपुछ गर्नु पटक्कै अनुचित मान्न सकिँदैन । सरकारी स्वामित्व वा सेतो नम्बर प्लेटको सवारीसाधनको दुरुपयोग अत्यधिक बढेपछि सरकारले २०७४ सालदेखि नै सरकारी सवारीसाधनको दुरुपयोग रोक्न र शनिबार वा बिदाका दिनमा काम गर्नुपरे अनिवार्य पास लिनुपर्ने व्यवस्था गरेको थियो ।

त्यो गाडी थियो काठमाडौं महानगरको र गाडीमा सवार हुनुहुन्थ्यो मेयर बालेन पत्नी सविना काफ्ले । प्रहरी स्रोतका अनुसार उहाँलाई सामान्य सोधपुछपछि छोडिएको थियो । दुई÷तीन मिनेटको सोधपुछपछि घटना सकियो । तर, केहीबेरमा सेलाइसक्ने सामान्य घटनामा मेयर बालेन आफैँले आगो झोसिदिनुभयो । शनिबार अबेर राति उहाँको अराजक अभिव्यक्ति आयो, ‘सिंहदरबारमा आगो लगाइदिन्छु ।’ पदीय मर्यादालाई चटक्कै बिर्सेर उहाँले अमर्यादित र अराजक अभिव्यक्ति दिनुभयो । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ उहाँले लेख्नुभएको थियो । जुन अभिव्यक्ति उहाँकै लागि भारी परेको छ । सिंहदरबारमा आगो लगाउने अभिव्यक्तिबाट बालेन अहिले चौतर्फी विवादमा तानिनुभएको छ । उहाँको चेतावनीमा कुनै प्रसंग उल्लेख छैन । अबदेखि महानगरका कुनै पनि गाडी रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी उहाँले दिनुभएको छ ।

मेयर बालेनको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि आइतबार बिहान नयाँ फण्डा गरियो । बिहानै मेयरनिकट एक फेसबुक पेजबाट उहाँलाई पुत्री लाभ भएको सूचना चुहाइयो । जसले उहाँमाथिको आक्रोश केहीबेर सहानुभूतिमा परिणत भयो । तर, त्यो धेरैबेर टिकेन । उहाँलाई पुत्री लाभ भएको साँच्चै रहेछ । तर, शनिबार होइन एक साताअघि नै रहेछ । साहलाई एक साताअघि नै पुत्रीलाभ भएको खुल्यो । बच्चा अस्पतालमै भए पनि आमालाई भने दुई दिनअघि नै डिस्चार्ज गरिएको थियो ।

मेयरको अमर्यादित र अराजक अभिव्यक्तिपछि अब महानगरका सवारीसाधन कसले जाँच गर्ने ? यो अभिव्यक्तिले शान्ति सुरक्षा कायम राख्ने सवालमा सुरक्षा युनिटलाई हतोत्साही बनाएको छ । उहाँ एक मेयर मात्रै नभएर आमनागरिक पनि हो । उहाँजस्तै अर्को कुनै नागरिकले सिंहदरबार जलाउने चेतावनी दिए के हुन्छ ? सरकारले पहिले थुनेर पछि कुरा गथ्र्याे होला ? के उहाँमाथि यही अभिव्यक्तिकै कारण कुनै कारबाही हुन्छ ? कुनै कानुन लाग्छ ?

त्यस्तो नहोस् तर, कसैले साँच्चिकै सिंहदरबारमा आगै लाउने प्रयास गरे के हुन्छ ? यसको जिम्मेवारी कसले लिन्छ ? यो उहाँको दण्डनीय उदण्डता होइन ? महानगरपालिकाको प्रमुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिबाट यस्तो अभिव्यक्तिको कसैले पनि अपेक्षा गर्दैन ।
संवेदनशील विषयमा बालेनका अभिव्यक्ति सचेत देखिन्न । नेपालमा भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउँदा हल मालिकहरू अदालतको ढोका ढकढक्याउन पुगेका थिए । हल मालिकको रिटमाथि सुनुवाइ गर्दै अदालतले बालेनको कदममा रोक लगायो । त्यसपछि बालेनले सामाजिक सञ्जालमार्फत अदालतको आदेश नमान्ने भन्दैै धावा बोल्नुभयो । जुन उहाँकै लागि प्रतिउत्पादक बन्यो । अदालतको आदेश मान्दिनँ भन्नु संविधानको बर्खिलाप हो । अदालतको आदेशलाई लिएर बालेनले गरेको त्यो पहिलो थिएन । यसअघि पनि अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै उहाँले अपहेलनाको मुद्दासमेत खेप्नुपरेको थियो । अवैध संरचना र फुटपाथको पार्किङ हटाएपछि बालेनको प्रशंसा गर्ने धेरै थिए । तर, निम्नवर्गीय परिवारलाई निशाना बनाएर उनीहरूको रोजीरोटी खोसेको भन्दै बालेनको चर्को आलोचनासमेत भइरहेको छ । गरिब र ठेलामा व्यापार गर्नेहरूप्रति निर्मम बन्न सक्ने बालेन आफूमाथि आइपर्दा ‘महाराज’कै चरित्र प्रस्तुत गरेर गैरजिम्मेवार र आपराधिक अभिव्यक्ति दिनुभयो । यसले उहाँको आलोचनालाई थप बढावा दिएको छ ।

निर्वाचित भएयता नागरिकसँग जोडिएका विषयमा सुधारका काम गर्ने केही प्रयास नभएका होइनन् । तर, नेता, प्रशासन र मन्त्रीहरूविरुद्ध धेरैपटक अमर्यादित एवं अशिष्ट शैलीमा आएका उहाँका अभिव्यक्तिले आफ्ना केही राम्रा प्रयासलाई पनि आफैँ छायामा पार्नुभएको छ । हामी पुरानोभन्दा कसरी फरक छौँ ? भन्ने सन्देश नयाँले व्यवहार, आचरण, बोली र कार्यसम्पादनमा देखाउन सकेका छैनन् । त्यो बालेनमा मात्रै होइन हर्कमा पनि लागू हुन्छ ।

कार्यकारी पदमा रहने वा जिम्मेवार भूमिका रहनेहरूले आवेश उत्तेजना र भावनामा बगेर बोल्दा वा लेख्दा अविश्वास पैदा हुँदै जान्छ । अन्ततः यसले स्वयं व्यक्ति, देश र जनतालाई हानि गर्छ । फाइदा कसैलाई गर्दैन । बालेन महानगर प्रमुख भएर निर्वाचित भएको पनि एक वर्ष बढी भइसक्यो । उहाँको कार्यकाल करिब चार वर्ष बाँकी नै छ । त्यसैले बालेनले पदीय मर्यादालाई कायम गर्दै टीका टिप्पणी गर्नुपर्छ । यसले उहाँकै गरिमा पक्कै बढ्छ नै । यस्तै, उच्छृङ्खल अभिव्यक्त र अराजक समर्थकले बिगार्छ बनाउँदैन ।

मेयर पत्नीलाई अनावश्यक केरकार गरियो : सचिवालय
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहनुभएकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको दाबी गरेको छ । उत्तेजक अभिव्यक्ति दिएको भन्दै बालेनको आलोचना भएपछि आइतबार उहाँको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको हो । शनिबार राति फेसबुकमार्फत उहाँले महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिनुभएको थियो । बालेनको स्वकीय सचिवालयका अनुसार बालेन दम्पतीका शिशु (मेडिसिटी अस्पताल) एनआइसियुमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल जानुभएको थियो । आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किंदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस क्रममा प्रहरीले दुव्र्यवहार गरेको बालेनको सचिवालयले जनाएको छ । ‘नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो, प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नगरी करिब सात मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न ग¥यो,’ विज्ञप्तिमा भनिएको छ । प्रश्रव पीडा र शारीरिक समस्यामा रहनुभएकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दनीय भएको बालेनको स्वकीय सचिवालयले उल्लेख गरेको छ ।

बालेनको अभिव्यक्तिबाट हतोत्साहित भएका छौँ : प्रजिअ बस्नेत
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले महानगरपालिकाका मेयर बालेन साहको अभिव्यक्तिबाट सुरक्षा निकाय र प्रशासन हतोत्साहित भएको बताउनुभएको छ । ‘एकजना तल्लो तहको ट्राफिक प्रहरीले राति ९ बजे पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाएका छन् । मेयरले त यसलाई धन्यवाद दिनुपर्ने हो । तर, सुरक्षा निकाय र प्रशासनलाई नै गाली गर्ने, धम्की दिने जस्ता काम किन गर्नुभएको हो, हामीले बुझेका छैनौँ । सबैले आ-आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेका हुन् । तर, उहाँले कानुन नै मान्दिनँ भन्नुहुन्छ भने, त्यो अर्कै कुरा हो । यस प्रवृत्तिले हामीलाई हतोत्साहित बनाएको छ,’ उहाँले भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?