साढे ११ हजार स्मार्ट सडक बत्ती जडान

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरूसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको हो । प्राधिकरणले सडक बत्ती राखिने संरचना निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको जनाएको छ ।

प्राधिकरणले ‘शहर उज्यालो अभियान’ अन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिरहेको छ । प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर र पर्यटकीय क्षेत्रमा विशेष किसिमका बत्ती राख्न सर्भे र डिजाइन गरिरहेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्यपछि विद्युत्् नपुगेको ठाउँको विद्युतीकरण र शहरी सौन्दर्यलाई वृद्धि गर्न स्थानीय तहसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताउनुभयो । प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । जसका लागि फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागिमात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएका छन् । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेयरबाट विद्युत् महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युत् महसुल भने सम्बन्धित पालिकाहरूले तिर्नेछन् ।

ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ । भरतपुर महानगरपालिका र महालक्ष्मी, बुढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको छ । काठमाडौंसहित ३ महानगरपालिका, तीन उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी-बल्खु सडक खण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान सुरु गर्न लागिएको छ ।

सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी साझेदारी रहनेछ । उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहनेछ । नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहनेछ । त्यसैगरी गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्नेछ ।

लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्नेछ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्नेछ । नगरपालिकाहरूले आफैं शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

त्यस्तै, प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट स्ट्रिट लाइटबाट झिलिमिली बनाउन सुरु भएको छ । ‘उज्यालो पोखरा अभियान’ अन्तर्गत पोखराका मुख्य-मुख्य चोकहरूमा जडान गरिएका हाइमास्ट र सडकमा बत्तीको उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पोखराको नयाँ सडकमा गरिएको कार्यक्रममार्फत् जडान गरिएका हाइमास्ट र सडक बत्ती संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?