सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ : महामन्त्री थापा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले साथ दिँदासम्म प्रचण्ड सरकार नढल्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले गठबन्धनको सरकार ढाल्ने षड्यन्त्र भइरहेको उहाँले बताउनुभयो । उहाँले सरकारले थालेको भ्रष्टाचार न्यूनिकरणको अभियानमा कांग्रेसको पूर्ण रुपमा समर्थन रहेको बताउनुभयो ।

सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउन तर्फ नलाग्ने महामन्त्री थापको भनाइ छ ।
महामन्त्री थापाले अहिले तीन वटै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताउनुभयो । जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको हुँदा नागरिकको न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा थापाले जोड दिनुभयो । उहाँले जनप्रतिनिधिले जनताको मर्म अनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताउनुभयो ।

“कांग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहान्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनिकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन छ,” थापाले भन्नुभयो – “जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्, पार्टी आफै मजबुत बन्दै जान्छ, तपाइहरुले काम गर्नु भएन भने समस्या हुने हो ।”

तीनै तहको सरकारले काम गर्ने हो भने पाँच वर्षको अवधीमा मुलुकमा ठूलो परिवर्तन आउने उहाँले बताउनुभयो । आगामी निर्वाचनका लागि भर्खरै आतिनु पर्ने अवस्था नभएको महामन्त्री थापाको भनाइ छ । स्यानीय स्तरबाटै पार्टी संगठन मजबुत बनाउन लाग्ने र कार्यकर्तालाई प्रशिक्षित गर्नु पर्नेमा थापाको जोड छ ।

गत स्थानीय निर्वाचनको गठबन्धन लोकतन्त्रको आधारभूत मूल्य र मान्यता विपरीतको भएको थापाको भनाइ थियो । थापाले आगामी महाधिवेशन समयमा गरेर एक वर्ष भित्र क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्र निर्वाचनमा जाने गरी फाइल पद्धति विकास गर्ने बताउनुभयो । २०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन नगर्ने दाबी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसी केन्द्रीय सदस्य चम्पादेवी खड्काले कार्यकर्ता एकताबद्ध हुन नसके पार्टी मजबुत बन्न नसक्ने बताउनुभयो । कांग्रेसमा रहँदै आएको गुट उपगुटको अन्य गरि जनताको कांग्रेस गराउनु पर्नेमा खड्काले जोड दिनुभयो । हरेक नागरिकको कांग्रेस बन्न अब पार्टी नेतृत्वले नयाँ ढंगबाट संगठन निर्माणमा लाग्नु पर्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्यसमेत रहनु भएकी खड्काले कांग्रेसबाट निर्वाचित तीनै तहका जनप्रतिनिधि जनताको समस्या र आवश्यकतालाई राम्रोसँग बुझ्नु पर्ने बताउनुभयो । कृषि प्रदान देशमा अरबौँको खाद्यान्न बाहिरबाट आउनु दुःखद भएको भन्दै किसानलाई उत्पादनसँग जोडनका लागि सरकारले त्यस तर्फ ध्यान दिनु पर्ने खड्काको जोड छ । पार्टी कार्यकर्ता पनि उत्पादनमा जोडिनु पर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, कांग्रेस बागलुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जीतबहादुर शेरचन, महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा लगायतले मनतव्य राखेका थिए । कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ अन्तरगतका कार्यकर्ताले गुनासो राखेका थिए । सो अवसरमा क्षेत्री सभापति चण्डीप्रसाद शर्मा पौडेल र सचिव जयराम भारीले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?