भ्रुण हत्या घटनामा संलग्न भएको आरोपमा पूर्व वडाध्यक्ष पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष त्रिभुवन सिंहलाई भ्रुण हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । सिंहलाई मंगलबार बसहिया स्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिंहको घरमा कामदारको रुपमा रहेका जयकिसुन सिंहले बर्ष १३ की एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएपछि गत भदौ ९ गते पूर्व वडाअध्यक्ष सिंहले बालिकालाई जबरजस्ती भारतमा लगी गर्भपतन गराएको आरोप लागेको छ । घटनालाई लुकाउन भ्रुणलाई बसहियाकै एक उँखुवारीमा फालिए पछि प्रहरीले भ्रुण फेला पारेको थियो । प्रहरीका अनुसार भ्रुण फेला पारे लगत्तै ईलाका प्रहरी कार्यालय बेलाटारीले भ्रुण हत्यामा संलग्नहरुको खोजी कार्यसंगै अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरी अनुसन्धानका क्रममा त्रिभुवन सिंहको घरमा काम गर्ने जयकिसुन सिंहलाइ पक्राउ गरेपछि घटनाको बास्तविकता खुल्दै गएको हो । जयकिसुनलाई प्रहरीले एक हप्ता अघि प्रक्राउ गरेको थियो । उनको बयानको आधारमा त्रिभुवनलाई भने मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताउनु भयो ।

त्रिभुवन सिंहको छोरा मुरली सिंहले बालिकालाई जबरजस्ति मोटरसाइकलमा राखि भारत लगेको र असुरक्षित तरिकाले भ्रुणको हत्या गरिएको बताइएको छ ।

प्रहरीका अनुसार हाल मुरली सिंह सम्पर्क विहिन छन्, र उनको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

असुरक्षित तवरले गर्भपतन गराइएकाले बालिकामा अत्याधिक रक्तश्राव भएको पारिवारिक स्रोतले बताएको छ । रक्तश्राव भएपछि त्यसको कारण खोज्ने क्रममा घटनाको बास्तविकता पत्ता लागेको पारिवारिक स्रोतले जनाएको छ ।

घटनाको जानकारी भए पश्चात परिवारले पनि जाहेरी दिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?