एमालेका १७६१ नयाँ सदस्यले गरे शपथ ग्रहण, ‘मिसन २०८४ अभियान’ घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

भक्तपुर। नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा एमालेका १ हजार ७ सय ६१ जना नयाँ सदस्यले शपथ लिएका छन् ।

शुक्रबार एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले नयाँ सदस्यलाई शपथ गराउनु भएको थियो ।

शपथ कार्यक्रममा बोल्दै ढुङ्गेलले कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले कम्युनिष्ट पार्टीको सदस्यले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने बताउनुभयो ।

पार्टीको नीति, बिचार र सिद्धान्तलाई अङ्गालेर कम्युनिष्ट आचरण अनुसार पार्टी कार्यकर्ता चल्नु पर्नेमा ढुङ्गेलले जोड दिनुभयो ।

व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक हित एवं देशको लागि लाग्नु पर्ने उहाँले बताउनुभयो । ‘परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईँहरूले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेर्नुस्, म हिजो कस्तो थिएँ, आज कस्तो भए र भोली कस्तो हुनेछु भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस्, समाज र देश परिवर्तन गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।

ढुङ्गेलले जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने बताउनुभयो । ‘जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्छ’, उहाँले भन्नुभयो ।

नेपालको कम्युनिष्ट आन्दोलनको मूल धार नै नेकपा एमाले भएको बताउँदै ढुङ्गेलले सबैलाई एमालेमा समाहित हुन आग्रह गर्नुभयो ।

एमाले बाहेकले देश बनाउन नसक्ने बताउँदै ढुङ्गेलले त्यसको लागि एमालेले मिसन २०८४ अभियान सुरु गरेका बताउनुभयो । एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमति प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?