प्रदीप गिरिको तुलना अरूसँग गर्न कठिन : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत कांग्रेसका नेता प्रदीप गिरिको तुलना अरूसँग गर्न कठिन हुने बताउनुभएको छ । प्रदीप गिरि मेमोरियल ट्रष्ट सिरहा लहानले बस्तिपुरमा आयोजना गरेको गिरिको प्रथम वार्षिकी सभामा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गिरिलाई समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञानपुञ्ज, समाजवादी चिन्तक, लेखक, राजनीतिक विश्लेषक एवं निष्ठावान त्यागी नेता भन्दै उहाँको बहुआयामिक व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘गिरीको तुलना अरूसँग गर्न धेरै कठिन छ । उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र त्यसलाई हेर्ने उहाँको नजरिया अर्कै थियो ।’

प्रचण्डले गिरिसँग शान्ति प्रक्रियामा आउनुअघि नै अनौपचारिक कुरा भएको पनि सुनाउनुभयो । आफूलाई कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा पु¥याउने व्यक्ति पनि गिरि नै रहेको उहाँले भन्नुभयो । ‘शान्ति प्रक्रियामा आएपछि सबैभन्दा पहिले मलाई शेरबहादुर देउवाजी कहाँ लगेर राजनीतिक परिस्थिति, संविधानसभालगायत यावत धेरै कुरामा अहिले भनिसाध्य छैन,’ प्रचण्डले भन्नुभयो, ‘मलाई पहिला त्यहाँ पु¥याउने र अवस्थाका बारेमा विश्लेषण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो ।’ उहाँले आफूलाई भरोसा, माया गरेर नियमित घरमा आउने र खाना खाएर छलफल गर्ने गरेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदीप गिरिको अभाव हामीलाई खड्केको छ । हामीले सिक्नुपर्ने धेरै कुरा बाँकी छ ।’

प्रधानमन्त्री प्रचण्डले स्व. गिरिको जीवनीमा आधारित पुस्तकको विमोचन गर्नुका साथै गिरिको पुस्तकालयको समेत अवलोकन गर्नुभएको थियो । गिरिको प्रथम वार्षिकी सभामा अर्थमन्त्री डा. रामशरण महत, माओवादी नेता मातृका यादव लगायतले गिरिको व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?