कविता : तिमीमा मिल्न पाऊँ

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ पी.आर भट्टराई

सम्झी-सम्झी कति दिन यहाँ कल्पनामा बिताएँ ।
ढोकाजस्तै ढकढक गरी ढुक्ढुकी ढक्ढकाएँ ।।
धर्ती तिम्रै नयनहरूमा आउँछिन् बस्नलाई ।
राखिद्यौ ए हृदय बीचको कन्दरामा मलाई ।।

पानीजस्तै कल कल बगी जान्छ यो जिन्दगानी ।
लामो आशा क्षणिक सुखको छाल हो यो जवानी
प्याला बोकी प्रणय रसले छर्किएला मलाई ।
खोज्दै होला कति विरहमा जूनले घामलाई ।।

पैलो झुल्का रवि किरणमा मुस्कुराएर आऊ ।
ल्याई नौला हृदयभरका प्रेमका गीत गाऊ ।।
आँखा-आँखहरूसँग जुधे प्राण यो प्राणसँग ।
तिम्रो व्याख्या म गरुँ कसरी ? शब्द छैनन् मसँग ।।

मेरो चिठ्ठी पवन अहिल्यै झट्ट बोकेर जाऊ ।
मेरी प्यारी हृदय बीचको बस्दछिन् एक ठाउँ ।।
खोज्दा खोज्दै सरस कविता आफूभित्रै हराएँ ।
माया लाएँ तर पनि सधैं भन्नलाई डराएँ ।।

जान्नौ होला अब शिशिरमा पातजस्तै झरेर ।
अंगालोमा जुनिभर यही प्रेम राखेँ भरेर ।।
माया बोकी अब मिलनको बिन्दुमा पुग्न पाऊँ ।
बग्दा बग्दै प्रणय रसको सिन्धुमा पुग्न पाऊँ ।।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Hem
Hem
2023-09-10 7:32 pm

तिम्रो माया प्रणय सुखमा मात्र फुल्दै नजाओस्
तिम्रो यात्रा कलम पथमा नित्य नित्तान्त जाओस्

रिलेटेड न्युज

छुटाउनुभयो कि ?