गोकर्णेश्वरलाई ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’

नसर्ने रोगका कारण हुने मृत्यु न्यूनीकरणमा उल्लेखनीय काम

हिमालय टाइम्स
Read Time = 30 mins

काठमाडौं । नसर्ने रोगका कारण हुने मृत्यु न्यूनीकरणका लागि गोकर्णेश्वरका नगरपालिकालाई ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ प्रदान गरिएको छ । शुक्रबार याक एण्ड यती होटलमा एक विशेष समारोहबीच भएको कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाललाई उक्त अवार्ड प्रदान गर्नुभएको हो । नेपालमा रहेका २ सय ४३ नगरपालिकामध्ये स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत् प्रधानमन्त्री दाहालले नगर प्रमुख रिसाललाई उक्त हेल्थ अवार्डद्वारा सम्मानित गर्नुभएको हो ।

स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै उक्त अवार्ड रिसाललाई प्रदान गरिएको छ । नसर्ने रोगहरूको न्यूनीकरण र नियन्त्रणका लागि गोकर्णेश्वर नगरपालिकाले उत्कृष्ट काम गरेको भन्दै अवार्ड पाएको हो । उक्त पुरस्कार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छनोट गरेको थियो । देशभरका नगरपालिकामा अब्बल रहन सफल गोकर्णेश्वर नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा, नगरपालिकाभित्र स्थायी बसोवास गर्ने ज्येष्ठ नागरिकलाई उपचारमा ७० प्रतिशत छुट दिएको छ । यस्तैगरी पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीलाई १५ हजार रुपैया“सम्मको उपचार निःशुल्क छ भने नगर अस्पतालमा विभिन्न औषधि तथा चेकजा“चमा छुटको व्यवस्था मिलाइएको छ ।

क्यान्सर पीडितहरूका लागि स्थानीय तहको सिफारिशमा संघ सरकारले एक लाख रुपैयाँ अनुदान दिने गरेको छ । रोगको गम्भीरता र त्यसको उपचारमा लाग्ने खर्चका अघि त्यो हात्तीको मुखमा जिराजस्तै हो । दुःख परेकालाई सिफारिश होइन, सहयोग गर्ने मनसायले नगर प्रमुख रिसालले थप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय पहिलो कार्यपालिकाको बैठकबाट गराउनुभएको थियो । पाइपाइ संकलन गरेर ज्यान बचाउन दौडधूप गरिरहेका बिरामीलाई सो निर्णयले राहत दिलायो । दीर्घरोगका लागि दीर्घकालीन रूपमै केही गर्ने हुट्हुटीका कारण क्यान्सरको समुदायस्तरमा परीक्षण अभियान उहाँले चलाउनुभयो । शंकास्पदको पुनः परीक्षण नगरपालिकाबाटै गराउनुभयो । उहाँले नगर अस्पतालको विकासमा प्राथमिकता दिनुभएको छ भने ७० वर्षमाथिका बिरामीको ७० प्रतिशत उपचार खर्च नगरपालिकाले व्यहोर्ने नीति लिइएको छ । पालिका अस्पतालमा स्वास्थ्य बीमाले भुक्तानी नदिँदा नगरले भरथेग गर्ने प्रणाली बनेको छ ।

दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउनेहरूलाई सम्मान


दिगो विकास लक्ष्यमा योगदान पु¥याउनेलाई सम्मान गर्दै यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको थियो । प्रधानमन्त्री दाहालले स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गर्नुभयो । अवार्ड पाउनेहरूमा हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा.विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा.महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरीअन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा.आर्ने ड्र्युज, बेलायतकी डा.सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहनुभएको थियो ।

सो अवसरमा दिगो विकास लक्ष्यमा योगदान गर्नेहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । विशेष सम्मान पाउनेमा ब्रिटिश राजदूतावास, यूएसएआईडी नेपाल र विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय रहेका छन् । त्यस्तै, नेपाल रेडक्रस सोसाईटी, चुजी फाउण्डेशन, इलाम नगरपालिका प्रमुख केदार थापा, वालिङ नगरपालिका प्रमुख कृष्ण खाँण, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, त्रिपुरासुन्दरी नगरपालिका प्रमुख भक्तध्वज बोहरा र गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायालाई प्रधानमन्त्री दाहालले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

 

योगदानको कदर गर्न पाउँदा खुसी छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य खबर हेल्थ अवार्ड-२०८० मा सहभागी भएर नेपालको स्वास्थ्य प्रबद्र्धनमा योगदान दिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अध्येता तथा विभिन्न संघसंस्थाको योगदानको कदर गर्न पाउँदा आफू खुसी भएको बताउनुभयो ।
सबै सम्मानितलाई बधाई दिँदै उहाँले सरकारले निर्धारण गरेका ‘दिगो विकासका लक्ष्यहरू’ प्राप्त गर्न नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका सबैप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘दिगो विकासका परिमाणात्मक लक्ष्यहरू प्राप्त गर्न सान्दर्भिक, नवीन र उदाहरणीय कार्य, दुर्गम भेगमा कार्यसम्पादन, सीमान्तकृत वर्ग तथा समुदायको प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी तथा पैरवी गरेका कारण तपाईंहरू अवार्ड तथा सम्मानको हकदार हुनुभएको छ ।’

दिगो विकास लक्ष्य हाम्रो राजनीतिक प्रतिबद्धता पनि हो भन्दै उहाँले भन्नुभयो, ‘लक्ष्यमा पुग्न अझै सात वर्ष बाँकी छ । दिगो विकासका १७ लक्ष्यहरूमध्ये ‘राम्रो स्वास्थ्य, समृद्ध जीवनस्तर’सँग सम्बन्धित छ । जसले ‘सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने’ उद्देश्य राखेको छ । जहाँ मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्ने, नसर्ने रोगबाट हुने मृत्युदरलाई एक तिहाइले कम गर्ने र लागूपदार्थ दुव्र्यसनीको रोकथाम, उपचार र पुनःस्थापना गर्ने लक्ष्य राखिएको छ ।’

यसबीचमा स्वास्थ्यमा केही उपलब्धि हासिल गरेको बताउँदै प्रधानमन्त्री दाहाल भन्नुहुन्छ, ‘तथ्यांकगत रूपमा हेर्दा सुरक्षित स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या सन् २००१ को सर्भेमा जम्मा नौ प्रतिशतको अवस्थाबाट २०२२ मा ७९ प्रतिशत छ । जुन सन् २०२४ को लक्ष्य थियो हामीले २०२२ मै पूरा गर्न सकेका छौं । सन् २०३० मा यो ७९ प्रतिशतलाई ९० पुर्‍याउने लक्ष्य छ, हामीलाई लाग्छ हामी सकेसम्म त्यो भन्दा माथि जान्छौं र ९० प्रतिशत त जसरी पनि पूरा गर्न सकिन्छ भन्ने नै लागेको छ ।’

बाल स्वास्थ्यमा पनि सुधार भएको भन्दै उहाँले भन्नुभयो, ‘विशेषगरी पाँच वर्षमुनिका बालबलिकाको मृत्युदर सन् १९९६ को सर्भेमा प्रतिहजार जीवित जन्मदा ११८ मृत्यु हुने गरेकोमा अहिले प्रतिहजार जीवित जन्मदा ३३ जनाको मृत्यु हुने अवस्था पुगेको देखिन्छ । ‘हामीले कायम गरेको सन् २०३० को लक्ष्य चाहिँ प्रतिहजार जीवित जन्मदा २० भन्दा कमको मृत्यु हुने अवस्थामा पुर्‍याउने हो । त्यसरी २८ दिनभित्रका नवजात शिशु र जन्मेको एक वर्षभित्रका शिशुको मृत्यु दर तुलनात्मक रूपमा अझै कम भइसकेको छैन र थप मिहिनेतको आवश्यकता छ । बालबालिकाले तोकिए बमोजिमका सबै खोप समयमै प्राप्त गरुन भन्नेमा हामी सचेत छौं । यसैगरी दिगो विकासको लक्ष्यमा समेटिएको एचआईभी एड्स घटाउने विषय लक्ष्य पूरा गर्न सकिने अवस्थामै छ । क्षयरोगको महामारी अन्त्य गर्ने कुरामा हामीले केही थप मिहिनेत गर्नुपर्ने देखिएको छ ।’

प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवाको समग्र गुणस्तर, सुशासन, औषधीको उपलब्धतादेखि जनशक्तिको उपलब्धता जस्ता विषयमा ध्यान दिएर सरकार बढीभन्दा बढी जनतालाई लाभान्वित गरी सरकारी सेवालाई विश्वासिलो बनाउन अघि बढिरहेका बताउनुभयो । यसमा सम्बन्धित सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले दिगो विकास लक्ष्य (एसडीजी) राजनीतिक प्रतिबद्धता भएकाले अधिकांश लक्ष्य हासिल गर्ने बताउनुभयो ।

यसका लागि तीनै तहका सरकार र सरोकारवालाबीचको सहकार्य अझ बढाउँदै लैजाने उहाँको प्रतिबद्धता थियो । उहाँले मानसिक स्वास्थ्यको प्रबद्र्धन गर्ने, नसर्ने रोगहरूबाट हुने मृत्युदरलाई एक तिहाइले कम गर्ने र लागूपदार्थ दुव्र्यसनीको रोकथाम, उपचार र पुनःस्थापना गर्ने लक्ष्य पूरा गर्न पनि आवश्यक प्रयास गर्ने बताउनुभयो । मातृशिशु मृत्युदर, क्षयरोग, एचआईभी एड्सलगायत रोग नियन्त्रणमा ठूलो उपलब्धि हासिल भएको उहाँको दाबी थियो । सो समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।

‘क्यान्सर रोकथाममा हाम्रो विशेष अभियान’


यहाँको नगरपालिकाले नसर्ने रोगका कारण हुने मृत्यु न्यूनीकरणमा उल्लेखनीय कार्य गरेबापत शुक्रबार ‘स्वास्थ्य खबर हेल्थ अवार्ड’ प्राप्त गरेको छ, कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?
सर्वप्रथम त हामीलाई मूल्यांकन गरी यो अवार्ड प्रदान गर्नुभएकोमा आयोजक कमिटीलाई हार्दिक धन्यवादका साथै आभार व्यक्त गर्न चाहन्छौं । नेपालमा रहेका २४३ नगरपालिकामध्ये स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत अवार्ड समारोहका प्रमुख अतिथि सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हामीलाई यो अवार्डबाट सम्मानित गर्नुभएको छ । स्वास्थ्य क्षेत्रमा खासगरी क्यान्सर रोकथाममा हाम्रो विशेष अभियानको सरहाना गर्दै हामीलाई यो अवार्ड प्रदान गरिएको हो ।

यहाँको नगरपालिकाले नै यो अवार्ड प्राप्त गर्नुको कारण ?
नसर्न रोकगहरूको न्यूनीकरण र नियन्त्रणका लागि गोकर्णेश्वर नगरपालिकाको कामको मूल्यांकन गर्दै उत्कृष्ट काम गरेको भन्दै अवार्ड दिइएको हो । उक्त पुरस्कार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छनोट गरेको थियो । देशभरका नगरपालिकामा अब्बल रहन सफल यस गोकरर्णश्वर नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा, नगरपालिकाभित्र स्थायी बसोवास गर्न ज्येष्ठ नागरिकलाई उपचारमा ६५ प्रतिशत छुट । यस्तैगरी पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीलाई १५ हजार रूपैयाँसम्मको उपचार निःशुल्क गरिएको छ भने नगर अस्पतालमा विभिन्न औषधि तथा चेकजाँचमा छुटको व्यावस्था मिलाइएको छ ।

यहाँ नगर प्रमुखमा निर्वाचित भएर आएपछि यो क्षेत्रका लागि के कार्यको सुरुवात गर्नुभयो ?
म नगरपालिकाको मेयरमा निर्वाचित भएर आएँ, यो कुर्सीमा बसेर क्यान्सर भएकालाई एक लाख रुपैयाँ अनुदानका लागि सिफारिश लेखिरहँदा सधैं मेरा हात काँप्थे । मन गरुंगो हुन्थ्यो, क्यान्सर पीडितका लागि स्थानीय तहको सिफारिशमा संघ सरकारले एक लाख रुपैयाँ अनुदान दिनेगर्छ । रोगको गम्भीरता र त्यसको उपचारमा लाग्ने खर्चका अघि त्यो हात्तीको मुखमा जिराजस्तै हुन्थ्यो । सिफारिश बनाइदिएरमात्र हुँदैन भनेर मैले गोकर्णेश्वर नगरपालिकाबाट थप ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय पहिलो कार्यपालिकाको बैठकबाट गराएँ । नगरपालिकाले थप्ने यो रकम पनि पर्याप्त छैन । तर, पाइपाइ संकलन गरेर ज्यान बचाउने लक्ष्यमा रहेका बिरामीलाई यसले राहत दिलाउँछ ।

यो त तत्कालीन राहतमात्रै हुन्छ होइन र ?
हो, तपाईंले भनेजस्तै यो तत्कालीन राहत नै हो । हामीले प्रदान गर्ने आर्थिक सहयोगले तत्कालीन राहत दिन्छ । तर, दीर्घकालीन रूपमै केही गर्न सकिए हुन्थ्यो भन्ने ममा रहृयो । मैले क्यान्सरको समुदायस्तरमा परीक्षणको अभियान सञ्चालन गर्ने अठोट गरे । नगरपालिकाले क्यान्सर लाग्नै नदिन परीक्षण गर्ने अभियान छेड्ने अनि लागेका मानिसलाई सम्भव भए उपचार गराएर निको बनाउने अठोट लिए । नगरपालिकाको सीमित बजेटबाट मात्रै यो काम सम्भव थिएन । त्यसका लागि सहयोगी संस्था खोज्ने क्रममा सारथि बन्न आइपुग्यो आम्दा नेपाल । नगरपालिकाले आम्दा नेपालसँग सहकार्यमा नगरपालिकाभित्र समुदायस्तरमा क्यान्सरको परीक्षण अभियान सुरु भयो ।

स्तन र पाठेघरको क्यान्सर परीक्षण सुरु गर्नुभयो होइन ?
हो, नगरवासीहरू ३०-६० वर्षका महिलाको स्तन र पाठेघरको क्यान्सर परीक्षण सुरु गरौं भनेर मैले सहकार्यको प्रस्ताव राखे । हामी कुनै विन्दुबाट प्रवेश गर्नु थियो । त्यही भएर महिलाको स्तन र पाठेघर क्यान्सरको प्रशिक्षणलाई रोज्यौ । धेरै क्यान्सरका बिरामी महिला नै आएकाले मैले उनीहरूलाई छानेको थिएँ । आम्दा नेपालसँगको सहकार्यमा परीक्षण गर्ने अनि पहिलो चरणमा भएका बिरामीको उपचारमा नगरपालिकाले सहयोग गर्ने सम्झौता भयो । दोस्रो र तेस्रो चरणको क्यान्सरका बिरामी भेटिएमा त कसैको सहयोगले केही नलाग्ने भएकाले सकेसम्म पहिलो चरणमै पहिचान गर्ने हाम्रो लक्ष्य थियो । यसको परीक्षण सुरु नगरपालिकाको ११ वडाका स्वास्थ्य चौकीबाट थालनी भयो । अनि हामीले सँगै नगरपालिकाभित्र रहेका महिला समूह र उपभोक्ता समितिमार्फत परीक्षण सुरु गयौं ।

पहिला र अहिले तथ्यांकमा के फरक पाउनुभएको छ ?
परीक्षणमा पहिला र अहिले उनले तथ्यांकमा निकै फरक देखिएको छ । एक वर्षको अवधिमा निकै घटेको महसुस गरेको छु । पहिले दैनिक एक/दुई जना बिरामी सिफारिश बनाउन आउँथे । अहिले त्यस्तो छैन । पहिलो चरणमा शंकास्पद देखिएकालाई फेरि गराइने परीक्षणमा पनि नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले यसरी सञ्चालन गरेको क्याम्पमा २०० जनामा १७ जनामा शंकास्पद भेटिएका थिए । पुनः गरिने परीक्षणमा २१ हजार शुल्क लाग्ने देखियो । कार्यपालिकाबाट निर्णय गराएर सबै शुल्क नगरपालिकाले व्यहोरेको थियो । मैले कतिपय ठाउँमा आफैं पुगेर स्थानीयलाई अनुरोध पनि गरें अनि नगरपालिकाबाट गरेको निर्णयबारे जानकारी गराएँ । जसले गर्दा हामीले केही समयमा तीन हजार मानिसको परीक्षण गर्‍यौं । अहिले फेरि परीक्षणलाई व्यापक बनाउन र क्यान्सरका शंकास्पद मानिसले समयमै उपचार पाउन् भनेर नयाँ नियम लागू गरेका छौं ।

नगरपालिको आर्थिक सहयोग लिने हो भने अनिवार्य रूपमा क्यान्सरको पूर्वपरीक्षण गरेको हुनुपर्ने नियम पनि बनाउनुभयो होइन ?
हो, नगरपालिको आर्थिक सहयोग लिने हो भने अनिवार्य रूपमा क्यान्सरको पूर्वपरीक्षण गरेको हुनुपर्ने नियम बनाएका छौं । यसरी अनिवार्य परीक्षण गर्नुपर्ने र नगरपालिकाको कुनै आर्थिक सहयोग वा समूहलाई कार्यक्रम नदिने निर्णय गर्नुका कारण भनेको धेरैभन्दा धेरैलाई परीक्षणको दायरमा ल्याउनु हो । एउटा महिला समूहमा न्यूनतम २५ जना महिला छन् । यो नगरपालिकाभित्र तीन सय महिला समूह छन् । ६ हजार महिलालाई एकै पटक परीक्षण गर्दा धेरै शंकास्पद क्यान्सरका बिरामी पहिचान हुन्छन् । यसरी परीक्षण गरेपछि रोग सुरु भएका मानिसलाई उपचार गर्न सहज हुने अनि अन्यलाई परीक्षण अघि बढाउने हाम्रो तयारी छ । महिला समूहसँगै अन्यमा पनि यही शैलीमा परीक्षण गर्दै नगरभरिका सबै मानिसको क्यान्सर परीक्षण गरेर अन्तिम स्टेजमा अस्पताल पुग्दा हुने जिउधनको क्षति रोक्ने हाम्रो मुख्य योजना हो । शहरीकरणले छोपिसकेको नगरपालिका भएकाले जाँचका लागि ११ वडाको स्वास्थ्य चौकीमै ल्याब सञ्चालन गर्ने क्रमअघि बढेको छ । हाल नगरपालिकाका वडाहरू ३, ४, ५, ६ र ८ मा ल्याब सञ्चालनमा रहेको र बाँकी चारवटा वडामा पनि ल्याब राख्ने तयारी अन्तिम चरणमा छ ।

स्वास्थ्य बीमाको आफ्नै मोडल पनि बनाउनुभयो ?
नगरको बागडोर सम्हालेपछि सबैको उपचार गर्ने व्यवस्था मिलाउनु मेरो जिम्मेवारी हो । म नगरको मेयर हुनुअघि पनि अस्पतालमा भर्ना गरेपछि उपचार र छुटका लागि भनसुन गराउन धेरै स्थानीयवासी आउनु हुन्थ्यो । यही देखेर मैले स्वास्थ्य बीमा लागू गर्नुका साथै नगर अस्पताललाई स्तरीय बनाउन लागिरहेको छु । मैले नगरभित्रका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, कृषक र खेलाडीहरूको बीमा सुरु गरे । यो सफल रूपमा कार्यान्वयन हुनुका साथै उपचार पनि सफल भएपछि अहिले नगरपालिकाका सबै स्थानीयको बीमा अनिवार्य गराउने अभियान सुरु गरेको छु । देशभर स्वास्थ्य बीमा सन्तोषजनक रूपमा अघि नबढेका बेला हामीले त्यसमा केही नयाँ विकल्प अपनाएका छौं । स्वास्थ्य बीमाको भुक्तानी हरेक तीन-तीन महिनामा आउने भएकाले त्यसको व्याकअपका लागि नगरबाट भुक्तानी दिने गरेका छौं । जसले गर्दा नगर अस्पताललाई अहिले कुनै आर्थिक संकट परेको छैन । नगर अस्पतालले स्वास्थ्य बीमाको करिब एक करोड पाउन बाँकी छ तर अस्पताललाई सञ्चालनमा कुनै तनाव छैन । त्यस्तै नगरले अहिले मोबाइल क्लिनिक पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसले घरमै पुगेर सबै सेवा दिनेछ । जसले गर्दा अस्पतालसम्म आउन नसक्नेहरूलाई घरमा सेवा पुर्‍याउने हामीले योजना बनाएका छौं । यो वर्षको बजेटमा पहिलो प्राथमिकता नै स्वास्थ्यलाई नगरले दिएको छ । कोरोना भाइरसको संक्रमण (कोभिड-१९)को अवस्था देखेर नगर अस्पताल स्तरीय बनाउनुपर्छ भन्ने लागेपछि यसलाई महत्व दिएर बजेट छुट्याएको हुँ ।

नगरवासीहरू उपचारका लागि त्यसो भए अन्यत्र जानुपर्ने बाध्यता छैन अब ?
हामी आफ्ना नगरवासीहरूको उपचार सकेसम्म नगर अस्पतालमै गर्ने वातावरण बनाउने गरी अघि बढेका छौं । यसका लागि नगर अस्पतालको पुनर्संरचना आवश्यक छ र कार्यपालिका बैठकमा मैले स्वास्थ्य आफ्नो प्राथमिकताको क्षेत्र भएकाले त्यसमा उचित बजेट तथा योजना निर्माण हुनुपर्ने कुरा अघि सारे । गोकर्णेश्वर नगर अस्पतालको पुनर्संरचना मेरो पहिलो योजना थियो । अहिले नगर अस्पतालमा १५ शैय्याको सेवा चलिरहेको छ । प्रविधिमैत्री, अत्याधुनिक र गुणस्तरीय मेसिन, विशेषज्ञ सेवा, २४ घण्टे आकस्मिक सेवा र एम्बुलेन्स सेवा, रेडियोलोजी, एक्सरे, जनरल फिजिसिन, आँखा सेवा केन्द्रलगायत सञ्चालनमा छन् ।

नेपाल मेडिकल शिक्षण अस्पतालजस्ता ठूला अस्पतालको उपस्थितिका बाबजुद पनि अस्पतालमा मुटु रोग, स्त्री रोग, बाल रोग, जनरल फिजिसियन, हाडजोर्नी लगायत विशेषज्ञ सेवा भएको र सेवा शुल्कसमेत न्यून भएकाले अन्य अस्पतालको तुलनामा यो अस्पताल सबैको रोजाइ बन्ने गरेको हामीले पाएका छौं । हामीले थप १५ शैय्याको अस्पताल भवन निर्माण सम्पन्न गर्न लागेको छौं भने छिट्टै सय शैय्याको अस्पताल निर्माण सुरु हुँदैछ । नगरकै पहलमा जग्गा प्राप्ति गरेर ठेक्कासमेत लागेको छ । अबको ६ महिनामा भवन सम्पन्न गरेर एक वर्षभित्र सुरु गर्ने योजना छ । नगर अस्पतालले स्थानीयलाई सहज रूपमा सेवा दिन बिहान सात बजेदेखि नै ओपीडी सेवा सञ्चालनमा ल्याएको छ । नजिकै रहेका नेपाल मेडिकल कलेज, शंकरापुर र अर्थोपेडिक अस्पतालसँग ६० वर्षभन्दा माथिका व्यक्तिलाई ७० प्रतिशतसम्म छुट दिने सम्झौता गरेका छौं । नेपाल मेडिकल कलेजले मोतिबिन्दु भएका नगरवासीलाई निःशुल्क उपचार गरिदिने अनि त्यसबापतको रकम नगरले तिर्ने व्यवस्था गरिएको छ । महिलाको पाठेघरसम्बन्धी समस्याको उपचारमा यस्तै व्यवस्था छ । नयाँ नगर अस्पतालमा बन्दैछ । यो अस्पताल बनेपछि देशभर भेन्टिलेटर नपाए गोकर्णमा पाइन्छ भन्ने बनाउने सपना छ ।

अन्त्यमा ?
हामीले गोकर्णेश्वर नगरपालिकालाई सबै तरहले सवल र सक्षम बनाउने मिसन-भिजन लिएर अघि बढेका छौं । सबैभन्दा महत्वपूर्णकुरा स्वास्थ्य हो भन्ने अवधारणालार्ई प्राथमिकतामा राखेका छौं । त्यहीअनुरूप हामीले हाम्रा योजना तर्जुमा गरेर अघि बढिरहेका छौं । यही हाम्रा योजना र कार्यान्वयनले मूर्तरूप पाउँदै गर्दा हामीलाई अझ हौसला र धाप मार्न यो अवार्ड प्राप्त भएको महसुस गरेको छु । हामीले गरेका कार्य अन्य पालिकाका लागि उदाहारणीय हुने हाम्रो विश्वास छ । हाम्रा कार्यमा विभिन्न तवरले साथ सहयोग पुर्‍याउनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनमा यस्तै साथ सहयोगको अपेक्षा गर्दछौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?