पाल्पामा विकराल बन्दै आत्महत्या

सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पछिल्ला केही वर्ष यता पाल्पामा आत्महत्या विकराल बन्दै गएको छ । आत्महत्या गर्नेक्रम वर्षेनी बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न अपनाइएका सबैखाले प्रयास असफल हुँदै जाँदा यो थप विकराल बन्दै गएको हो ।

युवा वर्गमा बढ्दो निराशा, बेरोजगारी, दीर्घरोग, गरिबी, प्रेम सम्बन्ध तथा आवेगका कारण आत्महत्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । बालबालिका तथा किशोर किशोरीले आवेग र प्रेम सम्बन्धका कारण आत्महत्या गर्ने गरेका छन् भने महिला तथा ज्येष्ठ नागरिकले दीर्घरोग, निराशा र बेरोजगारीका कारण आत्महत्या गर्ने गरेका छन् । जानी जानी ज्यान फाल्ने अर्थात् आत्महत्या गर्नेक्रम नरोकिँदा सरोकारवाला निकाय चिन्तित छन् भने शोकमा डुब्ने परिवार सदस्य बाँचुञ्जेल कलंकको टीका लाउन बाध्य छन् ।

जिल्लामा आर्थिक वर्ष २०७८/०७९ यता १ सय७४ जनाले मृत्युको अप्रिय बाटो रोजेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ७२ , २०७९/०८० मा ८५ र चालु आर्थिक वर्षको भदौ २३ गतेसम्म १७ जनाले आत्महत्या गरेका हुन् । जसमा पुरुष बढी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार १ सय १३ जना पुरुष, ५० जना महिला, ८ जना बालिका र ३ जना बालकले आत्महत्या गरेका छन् । तथ्याङकलाई हेर्ने हो भने हरेक वर्ष आत्महत्याका घटना बढेका छन् ।

सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्याको तथ्याङकलाई हेर्दा विष खाएर, हाम्फालेर र झुन्डिएर आत्महत्या गर्नेहरु रहेका छन् । गरिबी र दीर्घरोगका कारण आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक हेरम्व शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालबालिका र किशोर-किशोरीले आवेग र प्रेम सम्बन्धका कारण आत्महत्या गरेको पाइएको छ ।’ लुम्बिनी प्रदेशले समेत जिल्लाको आत्महत्याको अवस्थालाई विशेष प्राथमिकताका साथ हेरेको एसपी शर्माले बताउनुभयो ।

आत्महत्यासम्बन्धी समस्या यहाँको प्रमुख समस्याका रूपमा रहेको उहाँले बताउनुभयो । यस्ता घटनालाई न्यूनीकरण गर्न स्थानीय जनप्रतिनिधि, स्थानीय सरकार, अभिभावकलगायत सरोकारवाला पक्ष सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एसपी शर्माले भन्नुभयो‘ हामीले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा आत्महत्या सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरेका छौं,तर यतिले मात्र हुँदैन गाउँ-गाउँमा सचेतनाका कार्यक्रमहरु पुर्‍याउन जरुरी छ ।’

दिनहुँजसो सामूहिक र एक्लै आत्महत्याका घटना भइरहेका र यस्ता अपराध हुन नदिन सम्बन्धित व्यक्ति नै बढी संवेदनशील हुनुपर्ने उहाँ बताउँनुहुन्छ । उहाँले आत्महत्यालाई सामाजिक विकृति र समस्याका रुपमा लिएर जनचेतनामूलक कार्यक्रमलाई गाउँ/टोलसम्म पुर्‍याउनुपर्ने र तथा पारिवारिक सम्बन्ध बिग्रन र मनमुटाव कम गराउने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?