भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको छ : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको आरोप लगाउनुभएको छ ।

मिनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरुमाथि सरकारले छानिछानि दुःख दिने काम गरेको ओलीको जिकिर थियो ।

पार्टीको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागले आईतवार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले नेतृत्व गरिरहेको माओवादी केन्द्रले त राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सबिरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम गरिरहेको बताउनु भयो । यति होल्डिङलाई खेद्नेहरु दलाल पुँजीवादीहरु भएको भन्दै ओलीले यस्ताहरुको बिरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताउनु भयो ।

सरकारको गलत कार्यको बिरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दे उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादहरुले मुलुकमा तमासा देखाइरहेको बताउनु भयो । उहाँले धनिपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकारले राष्ट्रिय उद्योगपति छानीछानी लखेटछ । त्यो मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ? ५/६ जनाले किनिसकेको जमिन, उसले धनिपूर्जा हे¥यो, भएको मान्छेसँग किन्यो त । अनि, सरकारी जमिनलाई आफ्नो बनाउने, आफ्नो बनाउन लाग्ने, आफ्नो बनाउन लगाउने भ्रष्टाचार गर्नेहरु त तिनीहरु हुन नि । ती ठूला कुरा गरेर हिँड्ने । अनि, अर्कोसँग धनिपूर्जा हेरेर मालमा गएर, भूमि सुधारमा गएर पास गरेको होला नि । सरकार अड्डामा गएर पास गरेको होइन ? त्यसरी पास गरेर जग्गा किनेको मान्छे उसलाई किन त्यस्तो ? अनि, के मिनबहादुर गुरुङ भागेर हिँड्थ्यो ? अनि यो सबै सम्पती तिमीहरु खाऊ भनेर छोडेर हिँड्थ्यो ? होइन । त्यो मनाङतिरको होकि मुस्ताङतिरको हो । भारी बोकेर हिँडने, खाली खुट्टा हिँड्ने, त्यो गुरुङ, पूँजी हुने भनेर आँखाले देख्न नसक्ने । यो राष्ट्रिय पूँजीपतिलाई खेद्ने कुरा हो । यति होल्डिङलाई किन खेदेको ? यति होल्डिङलाई खेदनेहरु दलाल पुँजीवादीहरु हुन् । त्यसकारण उनीहरु खेदछन । किनभने त्यो राष्ट्रिय पूँजी हो । सोलुको एउटा शेर्पा, भारी बोकेर हिँडथ्यो रे बच्चैदेखि । त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाएको छ । पर्यटन पनि चलाएको छ । होटल पनि चलाएको छ । हेलिकप्टर पनि चलाएको छ । यसो गर्न पाईन्छ ? भारी बोकेर हिँड्ने शेर्पाले । यो त राष्ट्रिय पुँजी बाहेक हुनै सक्दैन । उसले विदेशमा लगेर स्विजरल्याण्डमा जम्मा गर्दैन । ऊसले माल्दिभसमा लादैन, श्रीलंका लादैन । बंगालदेश, भारत लाँदैन । मुम्बईमा होटल छैन । यस्ता देशैमा केही गर्छु भन्ने पनि चलाउन दिइन्छ ? त्यसैकारण यिनीहरु भनेका भन्यै छन् । माओवादीहरु गायन्त्री मन्त्र जप्दैनन् । ओम्नी, ओम्नी, ओम्नी, यति, यति, भाटभटेनी, भाटभटेनी, मिनबहादुर, मिनबहादुर ... ... गुरुङको छोरोलाई गरिखान दिनु हुँदैन भनेर जपिरहन्छन् । राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटेको छ । त्यसको विरुद्धमा कोही बोल्यो भने एउटा सांसद बोल्यो समातिन्छ । एउटा सचिव टिप्पणी उठाउँदा खेरी बाउ बिरामी भएर उपचारका निम्ति जाँदा प्लेनको सिटबाट तानेर तमासा देखाईन्छ । दलाल पुँजीवादीहरुको तमासा हो यो ।’

अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्रलाई सहकारीको अर्थ नै थाहा नभएको टिप्पणी समेत गर्नुभयो । काँग्रेस सहकारीको पक्षमा नरहेको र माओवादी केन्द्र सुनजस्तो मोटो रकम जम्मा गर्ने धन्दामा रहेकाले उसलाई त्यसबारे कुनै मतलव नै नभएको ओलीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अरु पार्टीहरु खास गरी काँग्रेस र माओवादी । काँग्रेस सैद्धान्तिक हिसावले नै, नीतिगत हिसावले नै सहकारीको पक्षमा छैन । ऊ हुँदैन । अर्कोलाई नीतिको अर्थ नै छैन । माओवादीलाई कुनैपनि नीतिसँग सरोकार छैन । नीतिसिती भन्ने कुरा माओवादी भन्ने पार्टीसँग कुनै सरोकार छैन । उसले फाइदा मात्रै जान्दछ । यो सहकारीको बाटो हिँडेर दिनमा क्वीन्टल क्वीन्टल सुन ल्याएजस्तो फाईदा के छ उसलाई । उसलाई त थोकमा ढ्याकढयाक फाइदा चाहियो । यसो हेर्दा पनि टिलिक्क टल्कने फाइदा चाहियो । मोटोमोटो रकममा फाइदा चाहियो । ऊ यस्ता खुद्रा कुरामा अल्झिने जात नै होइन । त्यसकारण माओवादीको नीति बेग्लै छ । ऊ सहकारी जान्दैन । मतलव छैन । र, काँग्रेस नीतिगत रुपमा नै यसमा छैन । यसका पछाडि राजनीतिमा पनि दुई प्रकारको छ । उहिल्यै देखि एउटा राष्ट्रिय राजनीति । अर्को निर्देशित राजनीति । एउटा राष्ट्रिय राजनीति, अर्को दलाल राजनीति । आदेखि होइन, उहिल्यैदेखि । एउटा राष्ट्रिय पुँजी छ, अर्को दलाल पुँजी छ । एउटा राष्ट्रिय नीति छ, अर्को दलाल नीति छ । दलाल पुँजीवाद भनेको पुँजीमा मात्रै हुँदैन । एउटा राष्ट्रिय सांस्कृतिक नीति हुन्छ । अर्को, दलाल सांस्कृतिक नीति हुन्छ । एउटा राष्ट्रिय संस्कृति, अर्को दलाल संस्कृति । त्यसकारण राष्ट्रिय भन्ने हाम्रो कित्ता हो । अरुको कित्ता दलाल ।’

अध्यक्ष ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभयो । ठूला पुँजिपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिवलाई भने ऋण दिँदै नदिएको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले साना बैंक तथा वित्तिय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले गरिवलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताउनु भयो । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उहाँले बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पूँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उस कहाँ बैंकको ऋण पुग्दैपुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ । ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नुपर्छ । त्यसकारण ठूलाका लागि पनि आवश्यक छ । तर त्यहाँ मात्रै होइन । गरिवका, जहाँ सिड मनि छैन । जहाँ व्यवसाय शुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माईक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन । ’

अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासमा लागि सरकारलाई पनि सचेत गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?