‘आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक’

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । मनोविद्हरुले आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताएका छन् ।

अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आईतवार काठमाडौंमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक एक दिने कार्यशालामा बोल्दै मनोविद्हरुले यस्तो बताएका हुन् । मनोविद् डा.नरेन्द्रसिंह ठगुन्नाले मानसिक स्वास्थ्यको समस्याको कारणले आत्महत्याका घटना हुने गरेको भन्दै स्थानीय तहसम्मै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताउनु भयो । उहाँले गरिबी, अशिक्षा र वैदेसिक रोजगारको कारणले परिवारमा विखण्डन आउँदा आत्महत्याका घटना बढेको बताउनु भयो । उहाँले राज्यका निकायहरुले मानसिक स्वास्थ्य साक्षरताबारे समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भयो । आत्महत्या रोकथाम सबैको सामाजिक दायित्व भएको भन्दै आत्महत्याको जोखिम भएका व्यक्तिमध्ये करिव ९० प्रतिशतलाई पहिचान गर्न सकिने बताउनु भयो । आत्महत्या रोकथामका लागि मनका भावनालाई अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने डा.ठगुन्नाको भनाई छ ।

डा.ठगुन्नाले भन्नुभयो, ‘नेपालमा आत्महत्याका घटना बढीरहेका छन् । मानसिक स्वास्थ्यका समस्याको कारणले गर्दा धेरै बढि आत्महत्या हुने गर्छ । गरिबी, अशिक्षा र नेपालमा पछिल्लो समयमा वैदेसिक रोजगारको कारणले गर्दा परिवारमा आएको विखण्डन छ । ती विखण्डनको कारणले पनि आत्महत्याका घटना बढेका छन् । कहिले कहिले सोचेको जस्तो जीवन नहुँदाखेरी, रिसको आवेगमा आएर आत्महत्याको जोखिम हुने गर्छ । यो वर्षको तथ्याङ्कलाई हेर्ने हो भने ६ हजार नौ सय ९३ जनाले आत्महत्याको कारणले जीवन गुमाउनुभएको छ । जीवन गुमाउने संख्यालाई कम गर्नैपर्छ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरुले सम्बन्धित संस्थाहरुले राज्यका निकायहरुले मानसिक स्वास्थ्य साक्षरताको बारेमा सही तरीकाले जानकारी समुदायलाई गराउन सक्नुपर्छ । मानसिक रोगको कारणले गर्दा आत्महत्याको जोखिम बढ्छ र आत्महत्याको जोखिम भएका व्यक्ति मध्ये करिव करिव ९० प्रतिशतलाई पह्चिान गर्नसक्छौं । पहिचान गरियो र त्यसता व्यक्तिहरुका मनका कुरालाई अभिव्यक्त गर्ने वातावरण हामीले बनाउन सक्नुपर्छ । कनेक्ट, कनेक्टीभिटी, केयर अर्थात थ्री सीको माध्यमबाट आत्महत्यालाई न्युनिकरण गर्न सक्छौँ । र, राज्यको तर्फबाट मानसिक स्वास्थ्य साक्षरतालाई गाउँ गाउँमा पु¥याउनुपर्छ । यो मनको कुरा त्यो मनले बुझ्ने नेटवर्कलाई एक्टिभ गरेर पनि मानसिक स्वास्थ्यको जोखिमलाई न्युनिकरण गर्न सक्नुहुन्छ । मानसिक स्वास्थ्यबारे सचेतना पैदा गर्नुपर्छ । मानसिक स्वास्थ्य राम्रो भयो भने आत्महत्याको घटना बढ्छ । सुसाईड प्रिभेन्सन सबैको सामाजिक दायित्व हो । त्यही भएर तपाई हामी सबै हेल्पलाइनको रुपमा काम गर्नसक्छौँ ।’

मनोविद् पदमराज जोशीले आत्महत्या रोकथाममा समाज, शिक्षक, प्रहरी र समुदायको भुमिका रहने बताउनु भयो । उहाँले आत्महत्या रोकथाममा कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्ने बताउनु भयो । जोशीले प्रत्येक स्थानीय तहले सचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले मानसिक स्वास्थ्य रणनीति बनाएपनि त्यो कार्यान्वयनमा आउन नसकेको बताउनु भयो । शहरीकरणले इच्छा आकांक्षा बढ्दै जाने र इच्छा आकांक्षा समयमै समाधान हुन नसके व्यक्तिमा तनाव सृजना हुने बताउनु भयो । उहाँले व्यक्तिले जहिलेपनि सकारात्मक सोच राख्नुपर्ने बताउनु भयो ।

जोशीले भन्नुभयो, ‘आत्महत्या रोकथामका लागि समाज, शिक्षक, प्रहरी र समुदायको भुमिका रहन्छ । कस्तो भुमिका रहन्छ भने आत्महत्याको रोकथामका लागि हामी तीन वटा सिद्धान्तहरु भन्छौं । त्यो भनेको कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्छ । कुनैपनि व्यक्ति आत्महत्याको जोखिममा छ भने त्यो व्यक्तिलाई अरु व्यक्तिसँग हामीले कनेक्ट गर्दिनुपर्ने हुन्छ । कनेक्ट गरेपछि बोल्दिनुपर्छ । यो मान्छे जोखिममा छ भनेर बोल्दिनुपर्ने हुन्छ । र, त्यो मान्छे बोल्दिएपछि उसका एक्टीभिटीलाई हामीले हेरचाह गर्दिनुपर्ने हुन्छ । यो तीन वटा काम गर्न सकियो भने हामीले चार सेकेण्डभित्र गलत डिसिजन लिइरहेको मान्छेलाई डाइभर्ट गरेर एउटा मान्छेको जीवन बचाउन सक्छौँ । र, नारापनि छ टेक अ मिनेट सेभ अ लाईफ भनेर । राज्यले अहिले मानसिक स्वास्थ्य रणनीति बनाएको छ । अझैपनि कार्यान्वयनमा आउन सकेको छैन । सरकारले प्रत्येक स्थानीय तहमा सचेतना पैदा गर्नुपर्छ । शहरीकरणले इच्छा आकांक्षा बढ्दै जान्छ । ती इच्छा आकांक्षा समयमै समाधान हुन सकेनन् भने मान्छे स्ट्रेसमा पुग्छ । स्ट्रेसमा समस्या समाधान भएन भने त्यो मान्छे एन्जिआईटीमा जान्छ । एन्जिआईटीमा त्यो व्यक्तिलाई उपचार भएन भने त्यो मान्छे डिप्रेसनमा जान्छ र, अन्तिममा जिन्दगी बाँच्नु बेकार छ भन्ने सोचाईबाट ग्रसित भएर आत्महत्या गर्न जान्छ । त्यसकारण योग, ध्यानबाट टाढा हुनुहुँदैन ।’

सहभागीहरुले आत्महत्या रोकथामका लागि समाजमा सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष आत्महत्याका कारण आठ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने अनुमान छ । मनोविद्हरु आत्महत्याका समाचारको रिपोर्टिङ तथा संप्रेषणमा संवेदनशील र उत्तरदायी हुन आवश्यक रहेको बताउँछन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?