मानन्धरको धाः बाजा प्रदर्शनी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशभरका मानन्धरहरूको साझा संस्था केन्द्रीय मानन्धर संघले वसन्तपुरमा सामूहिक धाः बाजा प्रदर्शनी आयोजना गरेको छ । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीको सहभागितामा मेला आयोजना गरेको हो । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा सघन बसोबास गर्दै आएका मानन्धरले बाजा प्रदर्शनीमा सहभागिता जनाएका थिए ।

काठमाडौंको लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालीमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः, पाक्व पुखूद्यां सनाः खलः, कीर्तिपुरको श्रीपञ्चमी मानन्धर गुथि, चन्द्रागिरिको मच्छेगाउँ मानन्धर गुथि, फयख्वाः मानन्धर गुथि रामकोट र जापाली (वाँख्यो दाफा भजन खलः) काभ्रेका मानन्धरले मौलिक बाजा प्रदर्शनी गरेका थिए ।

सहभागी कलाकारमध्ये अधिकांश १५ देखि ४० वर्षभित्रका किशोर, किशोरी, युवा तथा महिला थिए । संघले सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गरी अमूर्त सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बाजा प्रदर्शनी कार्यक्रम गरिएको जनाएको छ । सो अवसरमा बागमती प्रदेश सांसद तथा पूर्वमन्त्री माननीय वसन्त मानन्धरले पुर्खाले हस्तान्तरण गरेको मौलिक बाजाको संस्कृतिलाई संरक्षण गर्ने काममा सक्दो सहयोग गर्ने बताउनुभयो । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले देशकै गहनाका रूपमा रहेको अमूर्त सम्पदा संरक्षण, प्रवद्र्धन र विकासका लागि स्थानीय सरकारले काम गर्दै आएको बताउनुभयो ।

गुंला पर्वका अवसरमा बौद्धमार्गी नेवार समुदायले विभिन्न मौलिक बाजा बजाएर प्रत्येक बिहान स्वयम्भू महाचैत्य दर्शन गर्न जाने परम्परा छ । वीरगञ्ज पर्सौनीलाई प्रतिनिधित्व गरी केन्द्रीय मानन्धर संघमा सभापति बन्नुभएका मनोजकुमार मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद सपना राजभण्डारी जोशी, शैलेन्द्र बज्राचार्य, नेपाली सेनाका मेजर पूर्ण प्रजापती, सम्पदा विभाग उपप्रमुख श्रीजु प्रधानलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?