उद्योगको विद्युत् नकाट्न प्राधिकरणलाई निर्देशन

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले सोबारे निक्र्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि उहाँले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहालले सो सम्बन्धमा महासंघ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिट्टै टुंगोमा पुर्‍याउने कुरामा आफूले पहल गर्ने पनि बताउनुभएको छ । प्राधिकरणले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महसुल चुक्ता नगर्ने उद्योगको विद्युत् आपूर्ति बन्द गर्ने जनाएको थियो ।

प्रधानमन्त्री दाहालले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न अध्ययन भइरहेकाले निक्र्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल प्राधिकरणलाई निर्देशन दिनुभएको हो ।

महासंघले अहिलेको आर्थिक संकटमा उद्योग व्यवसाय ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेकाले उद्योग व्यवसाय जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीले दिनुभएको छ । सो अवसरमा महासंघ अध्यक्ष ढकालले भन्नुभयो, ‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ, थप समस्या सिर्जना गरिदिनुभएन ।’ कोरोना महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र सो अवस्थामा उद्योग व्यवसायको विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासंघको भनाइ छ ।

व्यवसायीको मनोबल बढाउन आग्रह
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलबीच पनि भेटवार्ता भएको छ । सोही दिन भएको भेटमा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आप्mनो काम गर्न सक्ने वातावरण आवश्यक रहेको बताउनुभयो । अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैंक र सरकार दुवैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । उहाँले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले भने सो सम्बन्धमा काम भइरहेको जानकारी गराउँदै छिट्टै निर्णय गरिने बताउनुभयो । अध्यक्ष ढकालले सीमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रण गर्न, गौरीफन्टाको क्वारेन्टाइन पुनः सञ्चालनमा ल्याउन पनि आग्रह गर्नुभयो । सो अवसरमा महासंघका पदाधिकारी एवं प्रदेश अध्यक्षहरूले गिट्टी बालुवालगायतको आवश्यक वातावरणीय प्रभाव अध्ययन गरी निर्यात गर्न दिनुपर्ने, नयाँ बनेको पोखरा र गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने, विकास निर्माणमा लगानी बढाएर बजार चलायमान बनाउनुपर्नेलगायतका सुझाव दिएको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?