दाबी भुक्तानी नदिने बीमा कम्पनीमा तालाबन्दी

पीडित राजकुमारी केवट ।

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड परासी शाखाले पशु बीमाबापतको भुक्तानी नदिएको भन्दै पीडित किसानले तालाबन्दी गरेका छन् । बीमा गरेको पशुको मृत्युपछि भुक्तानीको दाबी गर्दा उक्त बीमा कम्पनीको परासी शाखाले भुक्तानी दिन आलटाल गरेको भन्दै मंगलबार पीडित पक्षले कम्पनीको शाखा कार्यालयमा तालबन्दी गरेका हुन् ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ सनईकी राजकुमारी केवटले आफूले बीमा गरेको भैँसी रोगले मरेपछि बीमा दाबी भुक्तानीका लागि पटकपटक माग गरेको तर कम्पनीले भुक्तानी दिन नखोजेको गुनासो गर्नुभयो । केवटले पालेका दुईवटा भैँसी र एक पाडीको सोही कम्पनीले २०७८ चैत २८ गते एक वर्षका लागि एक÷एक लाख बराबरको पशु बीमा गरिदिएको थियो ।

बीमा समय अवधि नसकिँदै २०७९ फागुन ३० गते बीमा गरेकोमध्ये एक मुर्रा भैँसीको पेट फुल्ने रोगले मरेको पशु चिकित्सकले प्रमाणित गरेका छन् । भैँसी मर्नु केही दिनअघि भैँसीको कानमा लगाएको ट्याग खसेको र बीमित केवटले कम्पनीका प्रतिनिधिलाई उक्त जानकारी गराउँदा ट्याग नभएर केही हुँदैन, बीमाको कागज राम्रोसँग राख्नुहोला भन्ने जवाफ दिएको बीमित राजकुमारी केवटले बताउनुभयो ।
भैँसी मरेपछि बीमा दाबी गर्दा कम्पनीले भैँसीको कानमा ट्याग नभएको भन्दै भुक्तानी दिन आलटाल गर्दै आएको पीडित केवटले बताउनुभयो । आफूले समयमै ट्याग खसेको जानकारी गराएको र समय अवधि हुँदाहुँदै बीमा दाबी गर्दा कम्पनीले लापरबाही गर्दै आएको उहाँको गुनासो छ ।

पटकपटक क्षतिपूर्ति माग गर्दा पनि कम्पनीले सुनुवाइ नगरेपछि बाध्य भएर शाखाका प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उहाँको भनाइ छ । कम्पनीको लापरबाहीका कारण आफूले क्षतिपूर्ति पाउन नसकेको भन्दै उहाँले कम्पनीका परासी शाखा प्रमुख र बीमा गराउने एजेण्टलाई कारबाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ । कम्पनीले भने भैँसी मरेको समयमा जानकारी नगराएको, भैँसीको कानमा रहेको ट्याग अर्कै कम्पनीको रहेकोले भुक्तानी दिन नसकिने दाबी गरेको छ ।  पीडित राजकुमारी केवट ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?