अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

रासस
Read Time = 2 mins

बैतडी । अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका-६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।

कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिनुभयो । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ ।

“बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए”, उहाँले भन्नुभयो, “आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।”

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट रु नौ हजार तीन सय बराबरको सामानको चोरी भएको छ ।

विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?