डाक्टर कुटपिट घटना :

आक्रमणकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार नेपाल चिकित्सक संघको ज्ञापनपत्र बुझ्दै उहाँले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जो कोहीलाई उन्मुक्ति नदिने बताउनुभएको उहाँले जानकारी दिनुभयो । संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ ।

कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न चिकित्सक संघको अल्टिमेटम
नेपाल चिकित्सक संघले चिकित्सकमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएको छ । संघले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ७२ घण्टाभित्र कारबाही नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । गत भदौ २७ गते हेटौँडास्थित सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको संघको आरोप छ । संघका अध्यक्ष डा. अलिन कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा थापा र बिडारीमाथि आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । साउन २२ गते हेटौँडा पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगु परीक्षण गर्दा उहाँलाई पोजेटिभ देखिएपछि डाक्टरले आराम गर्न घर पठाएका थिए । स्वास्थ्य बिग्रिएपछि प्रधान सोही अस्पतालमा पुनः भर्ना हुनुभएको थियो । त्यसलगत्तै प्रधानलाई थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको थियो । भरतपुर अस्पताल पु¥याइएको दुई दिनपछि भदौ २५ गते प्रधानको मृत्यु भएको थियो । उहाँको मृत्युपछि उपचारमा लापरबाही भएको भन्दै एक समूहले थापा र बिँडारीमाथि कुटपिट गरेका थिए । ‘गम्भीर घाइते भएका चिकित्सकहरूको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको र ज्यानैमार्ने किसिमको घटना अस्पतालको सिसिटिभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदासमेत सुरक्षा निकायले गम्भीरर्तापूर्वक लिएको छैन’ विज्ञप्तिमा उल्लेख छ ।

घटनामा संलग्न चारजना पक्राउ, चौतर्फी विरोध
हेटौँडास्थित सञ्चो हस्पिटलका चिकित्सकहरूमाथि कुटपिट गर्ने घटनामा संलग्न चारजनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार हेटौँडा-१ स्थित सञ्चो हस्पिटलका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीमाथि बिरामी हेरिरहेकै समयमा सांघातिक आक्रमण भएको थियो । एक महिनाअघि डेंगी संक्रमित हेटौँडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै आफन्तहरू आक्रामक भएका हुन् । डेंगी संक्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताउनुभएको छ । उहाँले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्नुभएको छ । लापरबाही र जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको भन्दै उहाँले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गर्नुभएको छ । लामिछानेले डाक्टरमाथिको कुटपिटको घटनाबारे गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

बैतडीका चिकित्सक पनि आन्दोलित
हेटौँडास्थित सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सांघातिक आक्रमण भएको विरोधमा बैतडीका चिकित्सक आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत डाक्टरमाथि भएको आक्रमणको निन्दा गर्दै जिल्ला अस्पताल बैतडीका चिकित्सकले बिहीबार कालोपट्टी बाँधेर विरोध गरेका हुन् । दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापनपत्र बुझाएका थिए । शुक्रबारदेखि सेवा बन्द गर्ने उनीहरूको भनाइ छ । डाक्टरमाथि लामो समयदेखि आक्रमण हुँदै आएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुरक्षाको प्रत्याभूति नहुँदासम्म बिरामीको जाँच गर्न नसकिने चिकित्सकले प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । यसैबीच आन्दोलित चिकित्सकले शुक्रबारदेखि जिल्ला अस्पताल बैतडीमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् । दोषीमाथि कारबाही नभएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरूले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?