अभिभावक प्रतिनिधिलाई लत्याएर विद्यालय समिति गठन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकहरुको भेलाबाट चुनिएका दुई महिलासहित चार सदस्य, वडा अध्यक्ष पदेना सदस्य र विद्यालयका प्रअ रहेको समितिले दुई जना सदस्य मनोनित गर्ने र उनीहरुसहित ८ जना सहभागीहरुबाट अध्यक्ष चयन गर्ने व्यवस्था छ । तर पाल्पाको एक विद्यालले भने त्यो व्यवस्थालाई नै लत्याएर विद्यालय व्यवस्थापन समिति गठन गर्दा विवाद उत्पन्न भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका-८ बराङ्दीस्थित ढावखोलमा रहेको वेद माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठनमा अभिभावक भेलाबाट निर्वाचित भएका र मनोनित सदस्यको उपस्थितिबिनै नयाँ समिति गठन गरेपछि विवाद उत्पन्न भएको हो ।

वडाध्यक्ष र प्रअले विद्यालय व्यवस्थापन समितिमा रहेको शिक्षा नियम विपरित समिति गठन गरेको अभिभावकले गुनासो गरेका छन् । ३० फागुन २०७९ मा समितिको म्याद सकिए पनि नयाँ समिति छनोटको लागि २२ साउन २०८० मा दोस्रो भेला बसेको थियो । उक्त भेलाले अभिभावक मध्येबाट चार जना सदस्य निर्वाचित गरेको थियो । जसमा सजना बस्याल, तुलसा न्यौपाने, गणेश बस्याल र दामोदर भुसाल सर्वसम्मत निर्वाचित भएका थिए । सोही दिन समितिले दुई जना सदस्य मनोनित गर्ने व्यवस्था रहे पनि त्यसको टुँगो लाग्न सकेको थिए । तर प्रधानाध्यापक टुनवीर रेस्मी र वडा अध्यक्ष मोतिलाल बस्यालले १५ भदौ २०८० मा महिला सदस्य सजना बस्याल र तुलसा न्यौपाने अनुपस्थित भएको मौकामा जगदीश बस्याल र जीवकला बस्याललाई सदस्यमा मनोनित गरेका थिए ।

अभिभावकबाट चयन भएका सदस्यहरु, प्रधानाध्यापक र जनप्रतिनिधिले सदस्य मनोनित गर्ने व्यवस्था भए पनि दुई जना सदस्यको अनुपस्थितिमा सदस्य चयन गर्नु गलत भएको अभिभावक दामोदर भूषालले बताउनुुभभयो । उहाँले भन्नुभयो ‘अभिभावकबाट चुनिएका मध्ये दुई जनाको अनुपस्थितिमा सदस्य मनोनित गर्न हुँदैन थियो, तर वडा अध्यक्ष र प्रधानाध्यापकले मनोमानी ढंगले सदस्य चयन गरेकोमा हाम्रो आपत्ति हो ।’ उनीहरुले निर्वाचित दुई सदस्य सहित मनोनित सदस्य जगदीश बस्यालको अनुपस्थितमा समेत अध्यक्ष छनौट गरेका छन् । गणेश बस्याललाई अध्यक्षमा छनोट गर्नु शिक्षा नियम विपरित भएको अभिभावकको आरोप छ । अभिभावकहरुको चाहाना विपरी समिति गठन भएको भन्दै ३६ जना अभिभावकहरुले आपत्ति जनाएका छन् । उनीहरुले समिति बदरको माग गर्दै जिल्ला शिक्षा समन्वय इकाई पाल्पा, बगनासकाली गाउँपालिका र विद्यालयमा उजुरी दिएका छन् ।

‘शिक्षा ऐन नियम राष्ट्रिय शिक्षा नीति २०७६ को १४० (१२०) विद्यालय व्यावस्थापन समितिमा रहेको शिक्षा नियम विपरित भएको र गणेश बस्याललाई अध्यक्ष छनोट गरी निर्णय गर्ने कार्य प्रति सम्पूर्ण अभिभावकहरुले असहमति प्रकट गर्दै उक्त निर्णय मनोमानी र दम्वको भावनाले गरिएको हाम्रो ठहर छ’ उजुरी पत्रमा भनिएको छ । अभिभावकको चाहना विपरित समिति गठन भएकाले तत्काल बदर गर्नुपर्ने उनीहरुको माग छ । अभिभावकको उजुरीलाई आधार मान्ने हो भने नियमसंगत नभएको जिल्ला शिक्षा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अभिभावबाट चुनियनका सम्पूर्ण पदाधिकारी र वडा अध्यक्ष र प्रअको उपस्थितीमा सर्वसम्मत समिति गठन गरिनुपर्थ्याे तर त्यसो नगरेर केही पदाधिकारीको अनुपस्थितिमा समिति गठन गर्नु नियम संगत हैन ।’ उहाँले स्थलगत अनुगमन गरेर पालिकाले त्यसको निकास निकाल्नुपर्ने बताउनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनराम खनालले यस विषयमा अनुसन्धान गरेर मात्र भन्न सकिने बताउनुुभयो । उहाँले समिति गठन प्रक्रिया अभिभावकको उपस्थितीमा हुनुपर्ने व्यवस्था भए पनि अभिभावकबाट चुनियनका पदाधिकारी अनुपस्थित भएमा के हुने भन्ने कुरा कार्यविधिमा नरहेको बताउनुभयो । वडा अध्यक्ष मोतिलाल बस्यालले भने आफुहरुले सहमति गर्ने प्रयास गरे पनि महिला सदस्यहरु बैठकमै उपस्थित नभएको बताउनुभयो । आफुहरुले कुनै पनि गलत नियत र नियम विपरित काम नगरेको उहाँले दावी गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक टुनवीर रेस्मीले भने पटक-पटक बैंठकमा बोलाउदा समेत महिला सदस्यहरु उपस्थित नभए पछि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘काँग्रेस सम्बद्ध दुई जना महिलाहरु बैंठकमा उपस्थित नभएर विद्यालयलाई अनिर्णयको बन्दी बनाएपछि बहुमतका आधारमा समिति गठन अगाडि बढेको हो ।’ अध्यक्षमा चयन भएका गणेश बस्याल भने एमालेका हुनुहुन्छ । व्यवस्थापन समिति गठन नहुँदा विद्यालयका हरेक काममा बाधा पुगेको प्रधानाध्यापक रेस्मीले बताउनुभयो । उहाँले भदौं १५ गते सामाजिक डिभिजन विकास कार्यालयमा कार्यक्रम, योजनाहरु पेश गर्नुपर्ने अन्तिम समय भएकाले पनि तत्काल समिति गठन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

महिला सदस्य सजना बस्यालले भने आफुहरुको अनुकूल व्यक्तिलाई सदस्यमा मनोनित गर्न थालेपछि आफुहरु बैंठकमा नगएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले एक जना व्यक्तिको नाम सिफारिस गरेका थियौं तर उहाँहरुले मनोमानी ढंगले आफ्नो अनुकूलको व्यक्तिको नाम लेख्नुभयो, बैंठकमा हाम्रो कुरा सुनुवाई नै भएन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?