जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बर्दिया कारागारमा क्षमताभन्दा चौगुना बढी थुनुवा तथा कैदीबन्दी रहेका छन् । जीर्ण अवस्थामा रहेको कारागारको भवनमा १५८ जनाको क्षमता भए पनि हाल कारगारमा ४५२ जना थुनुवा तथा कैदीबन्दी रहेका हुन् । जसमध्ये ३९९ जना पुरुष र ४९ जना महिला छन् । १३३ जना पुरुष कैदीबन्दी रहने क्षमता रहेको कारागारमा ३९९ जना पुरुष छन् भने २५ जना महिला क्षमता भएको कारागारमा हाल ४९ जना महिला रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी र थुनुवा रहँदा कैदीबन्दीको दैनिकी निकै कष्टकर भएको छ । कारागारमा चारजना पाँच वर्षमुनिका बालबालिकासमेत रहेको बर्दिया कारागारका प्रमुख सन्तोष विकले बताउनुभयो । ती बालबालिका आफ्नै आमासँग रहेका छन् । घरमा हेर्ने मानिस कोही नभएको र बच्चाहरू सानै भएका कारण आमासँगै रहेको विकले बताउनुभयो ।

कैद सजाएका काटिरहेकामध्ये १० जना भारतीय नागरिकसमेत रहेका छन् जसमध्ये ६ जना थुनुवा र चारजनाले कैद भुक्तानका लागि सजाय काटिरहेका छन् । कारागारमा रहेकामध्ये अधिकांश लागुऔषध, जबरजस्ती करणी, हातहतियार खरखजाना, डाँका चोरी, बहुविवाह तथा व्यक्ति हत्याको सजाय काटिरहेका छन् भने कतिको मुद्दाको टुंगो लाग्न बाँकी रहेको छ । निकै पुरानो कारागारको अवस्था जीर्ण भएका कारण कैदीबन्दीहरू कोचिएर बस्न बाध्य छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण कारागारको सुरक्षामा समेत प्रश्न चिन्ह खडा भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?