राष्ट्रको असफलता : बाध्यताले विदेशिने जनताको बढ्दो संख्या

स्वयम्भुनाथ कार्की
Read Time = 15 mins

मानव समाजको ठूलो भाग हमेशा यायावर अर्थात् घुमन्ते नै रहेको छ । विकासवादको अवधारणामा जंगली अवस्थामा रहे मानव झुण्ड पनि एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण भई यो अर्थात् यायावरी स्वभाव रहृयो । यहाँ मानव समाज नभनेर मानव झुण्ड भनिनाको कारण छ । ‘होमो इरेक्टस’ अवस्थाबाट आरंभिक ‘होमो सेपियन्स’ अवस्थामा आउँदासम्म समाजको विकास भएको थिएन । एक परिवार नै एक झुण्ड थियो, एक समूह थियो । अर्थात् राम्रो र सहज जीवनयापनको निमित्त एक स्थानबाट अर्को स्थानमा भौतारिरहनु प्राणीहरूको स्वभाव नै हो । भविष्यको निमित्त केही सञ्चय गर्ने चेत विकसित भएका प्राणीहरू सकेसम्म एकै स्थानमा रहने प्रयत्न गर्दछन् ।

यो मानवमा पनि लागू हुन्छ । जब एक स्थानमा रहन थाल्यो मानव झुण्ड विस्तारै मानव समाजमा परिणत हुन थाल्यो । अनि त्यहाँ राज्य, शासन, मुखियाजस्ता तत्वको आवश्यकता हुन थाल्यो । यही नै प्रारम्भिक राष्ट्रको अवधारणा हो । त्यसैले राष्ट्रको परिभाषमा पहिले कुनै पनि सूत्रमा आबद्ध जनताहरू पर्दछन् । त्यसपछि मात्र तिनीहरूको आवश्यकताको भूगोल आउने गर्दछ । राष्ट्रले आफ्नो अस्तित्व कायम राख्न आफ्ना सदस्य, जनता, नागरिकलाई आफूसँग आबद्ध राख्न आवश्यक हुन्छ ।

यसको निमित्त आफ्नो राष्ट्र नै एक भूगोलबाट अर्को भूगोलमा स्थानान्तरण गरेका घटना इतिहासमा भेटिन्छन । पौराणिक कथाहरूमा त प्रसस्त भेटिन्छन । कुनै कारणले पूरा समाज नै स्थानान्तरण गर्दछ त्यसले राष्ट्रको अस्तित्वमा फरक पार्दैन । तर अलिअलि गरेर जनताले त्यो समाज वा राष्ट्र छोड्न थाल्छ तब त्यो राष्ट्र असफल हुुँदै समाप्त नै हुनसक्छ । त्यसैले राष्ट्रको शासन प्रशासन चलाउने राज्यले आफ्ना जनता वा प्रजालाई आफूसँग जोडेर राख्नुपर्ने हुन्छ ।

आफ्नो मुलुकको व्यापारिक हित हेर्ने क्रममा कहिले काहीँ रोजगारदाता मुलुकका राजदूतहरू श्रमिक आपूर्ति गर्ने मुलुकमा मान्यताक्रमको उलंघन गर्न पनि पुग्छन् भने रोजगारदाता मुलुकमा श्रमिक आपूर्ति गर्ने मुलुकको राजदूत कहिलेकाहीँ श्रमिक आपूर्तिकर्ता गल्लावालको भूमिकामा पुग्ने गर्दछ ।

अहिले भने विश्वका केही मुलुकहरू अन्य केही राष्ट्रका श्रमिक उत्पादन कारखानासरह भएका छन् । ती मुलुकहरू श्रमिकको रूपमा आफ्ना जनता आपूर्ति गर्ने कामलाई कर्तव्य ठान्न पुगेका छन् । जनतामा पनि अमेरिका या कोरिया जस्ता अवसर (?) भएका ठानिएका मुलुकहरूमा जान पाउनुलाई भाग्यको रूपमा हेर्ने चलन बढ्दै गएको छ । अलि ध्यानले हेर्ने हो भने अर्को मुलुकमा श्रम गर्न जान पाउनुलाई भाग्यको रूपमा हेर्ने मुलुकमा समाजवादी अर्थ व्यवस्था पाइन्छ र जुन मुलुकका जाने सपना यस्ता मुलुकका नागरिकले लिएका हुन्छन् ती मुलुकहरू सबैजसोले पुँजीवादी अर्थ व्यवस्था अपनाएका छन् ।

अपवादमा केही पुँजीवादी मुलुकका नागरिक समाजवादी मुलुकहरूका नगएका पनि होइनन् तर पठाउनुमा सरकारको भूमिका भने हुँदैन । रोजगारदाता मुलुकमा आफ्ना नागरिक श्रम गर्न पठाउन धेरै मुलुकका सरकारहरूले तालिमको पनि व्यवस्था गरेका हुन्छन् । श्रम गर्न जाने यस्ता कतिपय मुलुकहरूमा प्रवेश पाउन त्यहाँको भाषा ज्ञान अनिवार्य जस्तो हुन्छ । आफ्ना नागरिक श्रमिक भएर काम गर्ने मुलुकमा जान पाउन भनेर सीप सिकाउने, सम्बन्धित मुलुकको भाषा सिकाउने जस्ता काम सरकारले गरेको पाइन्छ ।

मित्र देशमा आफ्नो देशको राजदूत राख्ने प्रचलन छ । यस्ता राजदूतले आफू कार्यरत रहेका मुलुकमा आफ्नो मुलुकको प्रतिनिधित्व गर्दछ । राजनीतिक वा कूटनीतिक जिम्मेबारीको साथसाथै आफ्नो मुलुकको आर्थिक हित हेर्नु राजदूतको कर्तव्यभित्र पर्न आउँछ । आधुनिक कूटनीतिमा त पहिले आर्थिक हित नै हेर्ने र त्यसपछि अन्य कुरा हेर्ने प्रचलन छ । आफ्नो मुलुकको व्यापारिक हित हेर्ने क्रममा कहिले काहीँ रोजगारदाता मुलुकका राजदूतहरू श्रमिक आपूर्ति गर्ने मुलुकमा मान्यताक्रमको उलंघन गर्न पुग्छन् भने रोजगारदाता मुलुकमा श्रमिक आपूर्ति गर्ने मुलुकको राजदूत कहिलेकाहीँ श्रमिक आपूर्तिकर्ता गल्लावालको भूमिकामा पुग्ने गर्दछ ।

यस्ता मुलुकहरूमा आपसीसम्बन्ध समानस्तरको नहुन सक्छ, रोजगारदाता मुलुक श्रमिकको मुलुकभन्दा आफूलाई उच्च ठान्ने मानसिकताले ग्रस्त हुन्छ । बेलाबेलामा यस्ता मुलुकका राजदूतहरूले आफ्नो मान्यताक्रमभन्दा माथि उक्लेर व्यवहार गरेको देख्न पाइन्छ । सरकार प्रमुखसँगको भेटमा उपरखुट्टी लगाउने विदेशी राजदूतहरूको नेपालजस्तो मजदुर आपूर्तिकर्ता मुलुकमा बाहुल्य नै छ ।

मुलुकमा रोजगारीको कमी, आफ्नो योग्यता अनुसारको काम र दाम नपाएको गुनासोले विदेशिन बाध्यता ठान्नेहरू साम्यवादी वा समाजवादी मुलुकहरूका भेटिने गर्दछन् । यस्तालाई रोजगारी दिनेहरू साम्यवादी वा समाजवादीहरूले दिनरात आलोचना गरेर धारे हात लगाउने गरेको पुँजीवादी मुलुक छन् । ‘मुखमा माड छैन, प्रधानशत्रु फलाना देश’ भन्ने भनाइ नेपालमा प्रयोग हुने गर्दछ । यो भनाइ सही हो वा गलत हो भन्नुभन्दा एक प्रकारले पलायनवादी सोच नै हो भन्नु उपयुक्त होला । अर्थात् मुखमा माडको निमित्त आफूले भाषणमा प्रधान शत्रु भनेको मुलुकमा जनता जाने वातावरण बनाउनु पलायनवादी सोच हो ।

साम्यवादी वा समाजवादी अर्थव्यवस्था भएका मुलुकका सर्वसाधारणले भोग्नुपरेको पीडाको ओखती भनेको मध्यमवर्गीय आर्थिक व्यवस्था नै हो, जसमा उत्पादनका साधनको स्वामित्व सर्वसाधारण व्यक्तिहरूमा हुन्छ, कुनै प्रकारको कसैको पनि हस्तक्षेप बेगर काम गरेर आफ्नो परिवेश, थातथलोमा आफ्ना बन्धुबान्धवसँग प्रसन्न भएर जीवनयापन गर्छ । 

यो सोचलाई जति उपयोगवादी भनेर उचित देखाउन खोजे पनि पलायनवादी नै हो । साथै यसो भनेर आलोचना गर्नेहरूको सोच पनि पलायनवादी हो, किनभने उनीहरू आफ्नो राष्ट्रमा कुनै अवसर छैन भन्ने कुरामा विश्वस्त छन् । यसो भनेर पुँजीवादको समर्थन गर्न खोजिएको होइन । पुँजीवादी आर्थिक प्रणालीमा पनि प्रसस्त नराम्रा पक्ष छन् तर यसले अपनाएको अर्थिक स्वतन्त्रताले नै पूर्ण सरकार नियन्त्रित साम्यवादी अर्थव्यवस्था वा अर्धनियन्त्रित समाजवादी व्यवस्थाभन्दा ज्यादा आर्थिक उन्नति हुँदो रहेछ भन्ने कुरा चाहिँ सावित हुन्छ । उदाहरणका रूपमा साम्यवादी वा समाजवादी मुलुकका आफ्नो मुलुकमा उच्च तहमा बसेर काम गरिसकेका प्रसस्त व्यक्तिहरू अमेरिका, क्यानडालगायत मुलुकका पेट्रोल पम्पमा पेट्रोल भर्ने काम गरिरहेका भेटिन्छन् ।

हुन त आर्थिक रूपले जति नै सबल भए पनि पुँजीवादी मुलुकहरूमा मानवीय संवेदना, पारिवारिक अपनत्व जस्ता कुरा दुर्लभ हुँदै गएको कुरा सुनिन्छ । आफ्नो शिशुलाई वात्सल्य दिन पनि कानुनले बाध्य पर्नुपर्ने तथा एक्लो हुँदै गएको बुढ्यौलीले बाँकी जीवन वृद्धाश्रममा बिताउन बाध्य हुनु मान्छे यन्त्रको पुर्जासरह भएको अवस्था हो । यस अवस्थाको कारक तत्व उत्पादनका साधन कुनै एक ठाउँमा केन्द्रित हुनु हो । चाहे सरकारको हातमा होस्, चाहे समुदायको वा केही पुँजीपतिको हातमा होस् उत्पादनका साधनहरूको र अर्थतन्त्रको यस प्रकारको केन्द्रीकरण मानव जीवनको निमित्त हानीकारक हो ।

साम्यवादी वा समाजवादी मुलुककाहरू पुँजीवादी मुलुकहरूमा आफ्ना परिवार तथा प्रियजन छोडेर श्रम गर्न जानुपर्ने अवस्थालाई राम्रो अवस्था भन्न सकिँदैन । पुँजीवादी मुलुकहरूमा पारिवारिक मूल्य र मान्यताको ह्रास हुँदै गएर विखण्डन हुँदै गएका परिवार हुन् वा यस्तै पुँजीवादी मुलुकहरूमा श्रम गर्न गएर मनमा माया तथा स्नेह भएर पनि विखण्डित हुनुपरेको परिवारिक अबस्था होस् दुवैको परिणाम परिवारिक विखण्डन हो ।

आफ्ना बन्धु बान्धवबाट टाढा, आफू जन्मे हुर्केको परिवेशभन्दा टाढा केबल जीवनयापनको निमित्तमात्र इच्छाविपरीत बस्नुपर्ने अवस्थाको पीडा त उपभोगवादी जीवनशैलीका कारण स्वेच्छाले परिवार विखण्डन रोजेका र आफू जन्मे हुर्केको ठाउँप्रति कुनै लगाव नभएका विकसित मुलुकका नागरिकहरूको पीडा एकै किसिमको त होइन तैपनि दुवैको परिणाम त एकै हो एक्लो हुँदै गएको बुढ्यौली ।

शैशव अवस्थाबाट श्रम गर्नसक्ने अवस्थासम्म पुर्‍याउने आफ्नो परिवेशलाई त्यसले आपूmप्रति गरेको स्नेहलाई चटक्कै छोडेर पाखुरीमा बल छउन्जेल अर्काको मुलुक बनाउन श्रमिक भएर जानुपर्ने आशक्त भएपछि, काम गर्ने तागत समाप्त भएपछि वा प्राण सकिएपछि रस निचोरेको खोष्टोसरह भएर आफ्नो थातवास फर्कनुको पीडा कल्पना गर्न त कठिन हुन्छ भने भाग्न झन् कस्तो होला ?

साम्यवादी वा समाजवादी अर्थव्यवस्था भएका मुलुकका सर्वसाधारणले भोग्नुपरेको यस्ता पीडाको एउटै ओखती भनेको मध्यमवर्गीय आर्थिक व्यवस्था हो जसमा उत्पादनका साधनको स्वामित्व सर्वसाधारण व्यक्तिहरूमा हुन्छ, कुनै प्रकारको कसैको पनि हस्तक्षेप बेगर स्वतन्त्र काम गरेर आफ्नो परिवेश, थातथलोमा आफ्ना बन्धुबान्धवसँग प्रसन्न भएर जीवनयापन गर्छ । आफ्ना परिजनहरू बीचमा बुढ्यौली बित्छ र आफन्त वरिपरि भएको अवस्थामा आफ्नै पिँढीमा प्राण त्याग गर्न पाउँछ । सरकारको काम जनताको हित गर्नु हो, बलियालाई निर्धामाथि अत्याचार गर्न नदिनु हो अनि जनताको उन्नति गर्ने प्रयत्नमा सहायक बन्नु हो ।

कसैको गाँस गनेर बस्नु सरकारको काम होइन, व्यापार वा उद्योग चलाएर घाटानाफाको हिसाब गर्नु होइन । जनताप्रति गर्न पर्ने कर्तव्य पूरा नगर्नु सरकारको घाटा हो । यो मान्यता नै मध्यम वर्गीय अर्थतन्त्रको मेरुढण्ड हो । मिश्रित अर्थव्यवस्था अपनाएर जनतालाई गल्लावाल झैँ विदेशमा श्रम गर्न पठाएर रेमिट्यान्सको कमाइमा रमाउने शासन व्यवस्था कि आत्मनिर्भर तथा स्वाभिमानी मध्यमवर्गीय अर्थव्यवस्था अब विश्वभरका मध्यमवर्गले छान्नुपर्ने बेला आउँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?