ताइवानमाथि चीनको बढ्दो दबाब

Read Time = 4 mins

ताइपेई । ताइवानमाथि निरन्तर सैन्य एवं कूटनीतिक दबाब बढाएको चीनले अब मनोवैज्ञानिक दबाब पनि बढारहेको छ । स्वशासित ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा लिएको बेइजिङले ताइपेइमाथि पुनः नियन्त्रण कायम गर्ने मनसुवा निरन्तर व्यक्त गर्दै आएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँग पुनःएकीकरण हुनै पर्नेमा जोड दिँदै आउनुभएको छभने देशको पुरानो प्रान्तलाई मुख्यभूमिमा गाभ्न आवश्यक परेमा बल प्रयोग गर्न पछिनपर्ने चेतावनी पनि दिँदै आउनुभएको छ । यद्यपि आफ्नै संविधान र प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार भएको ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा पृथक मान्दै आएको छ ।

चीनले आइतबार बिहानैदेखि ताइवान वरिपरि २८ वटा लडाकु विमान उडाएको छ । ताइवानी अधिकारीहरूका अनुसार अधिकांश ती विमानले ताइवान र चीनको मुख्य भूमिलाई छुट्याउने जलमार्गको मध्य रेखा पार गरेर स्वशासित टापुको दक्षिणपूर्व र दक्षिणपश्चिम हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेका छन् ।

चीनले लामो दूरीका अभ्यास र तालिम ‘मिसन’सञ्चालन गरिरहेको तथा तिनले ताइवानी रक्षा स्थितिको निगरानी गरिरहेका ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । पछिल्ला चिनियाँ गतिविधिले बेइजिङ र ताइपेईको सम्बन्ध अनपेक्षितरूपमा चिसिएको छ ।

गतहप्ता पनि चिनियाँ लडाकु विमान र जहाज ताइवानी जलक्षेत्र र आकाशमा बारम्बार उडाइएका थिए । बेइजिङले यस महिना ताइवान ‘स्ट्रेट’बाट संयुक्त राज्य अमेरिका र क्यानडाका दुईवटा जहाज पार भएपछि बेइजिङले आफ्ना सेनाहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको बताइएको छ । ताइवानको रक्षा मन्त्रालयले गत बुधबार र बिहीबार बिहान पनि टापुको वरिपरि ६८ चिनियाँ विमान र १० नौसैनिक जहाज निरन्तर उडाएर निगरानी गरेको बताएको थियो । गत डिसेम्बर प्रायः दैनिक रूपमा चीनले ७० भन्दा बढी लडाकु विमान ताइवान वरपर उडाएको थियो ।

गत अप्रिलमा ताइवानका राष्ट्रपति साई इंगवेनले क्यालिफोर्नियामा अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि बेइजिङले ताइपेईमाथि एक किसिमको घेराबन्दी गरेर सैन्य अभ्यास गर्दै आएको छ । अमेरिकासँग नजिक रहेको ताइपेईमाथिको बेइजिङको दबाब सामान्य भएको सैन्य विश्लेषकहरू बताउँछन् । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?