जनजाति भएकै कारण एमालेमा उपेक्षित थिए त नेम्वाङ ?

श्रीमननारायण
Read Time = 12 mins

नेपालको संविधान २०७२ का निर्माता, नेकपा एमालेका सांसद एवं उपाध्यक्ष, वरिष्ठ कानुनविद, आदर्शवादी र इमानदार राजनीतिज्ञ तथा विगत ३२ वर्षदेखि निरन्तर रूपमा सांसदको रूपमा देशको सेवा गरेका सुवासचन्द्र नेम्वाङको असायमिक निधनले देशलाई अपूरणीय क्षति भएको छ । अन्तरिम व्यवस्थापिका संसद्का अध्यक्ष, संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको रूपमा उनले निर्वाह गरेको भूमिकाका कारण उनलाई नेपाली राजनीतिको अजातशत्रु पनि मानिन्छ । सुयोग्य, निष्ठावान, सिद्धान्तनिष्ठ तथा समर्पित राजनीतिज्ञ नेम्वाङलाई नेपाली राजनीतिको बाबासाहेब भीमराय अम्बेडकर पनि मानिन्छ । उनकै अथक प्रयत्न, सरल स्वभाव एवं समन्वयकारी भूमिकाका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी हुन सकेको हो ।

नेकपा एमालेले चाहेको भए नेपालको शिशु गणतन्त्रलाई बलियो बनाउन तथा यसको संस्थागत विकास गर्न सुवासचन्द्र्र नेम्वाङलाई राष्ट्रपतिका रूपमा अघि सार्न सक्दथ्यो । विसं २०७२ साल कात्तिकमा विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको पदमा अघि सार्नुको सट्टा एमालेले नेम्वाङलाई राष्ट्रपतिको पदमा अघि सार्न सक्दथ्यो ।

पूर्वी नेपालको एउटा जनजाति परिवारमा जन्मिएका नेम्वाङले जातिवादको परिधिभन्दा बाहिर रहेर सधैं नै आफूलाई एउटा सच्चा नेपाली सावित गरिरहे, तर उनी जुन राजनीतिक दलमा आबद्ध थिए त्यस दलमा विगत चार दशकमा कुनै गैरबाहुनले पार्टीको नेतृत्व लिने अवस्था अथवा वातावरणको निर्माण भएन । बाहुनवादी सिन्डिकेटमा एउटा जनजातिले आफ्नो समुचित अधिकार र सम्मान जोगाउन सकेनन् । जे जति प्राप्त गरे त्यो सबै उनको व्यक्तिगत क्षमता, योग्यता, निष्ठा समर्पण र पार्टी नेतृत्वको बाध्यता अथवा अपरिहार्यताले हो ।

सुवासचन्द्र नेम्वाङ मरेर गए पनि नेपालको राजनीतिक आकाशमा एउटा जाज्वल्यमान ताराको रूपमा उनी चम्किइ रहनेछन् तर जनजाति भएकै कारण कतै उनी नेकपा एमालेको अध्यक्ष, देशका प्रधानमन्त्री र राष्ट्रपति बन्न सकेनन् भन्ने यर्थाथ प्रश्न पनि छोडेर गएका हुन् ? नेकपा एमालेसित यस प्रश्नको जवाफ छैन, हुन पनि सक्दैन ।

एमालेमा नेम्वाङभन्दा बढी संवैधानिक कानुनका ज्ञाता अन्य कुनै नेता थिएनन् । उनी कानुनका प्राध्यापक तथा सर्वोच्च अदालतका वरिष्ठ एवं सम्मानित अधिवक्ता पनि थिए । सुरुका दिनमा र संकटका दिनमा नेकपा एमालेलाई सहयोग गर्ने प्रमुख कानुनी सल्लाहकार पनि थिए । नेकपा एमालेको निम्ति उनको योगदान, त्याग, समर्पण, लगानी र निष्ठा सर्वोपरी छ । उनी २०४८ र २०५१ सालमा राष्ट्रियसभाका सदस्य बनेका थिए । तथ्य र तर्कसंगत कुरा गर्ने नेम्वाङलाई सम्मान गर्नेहरू सबै दलमा थिए । २०६४ र २०७० सालको दुवै संविधानसभा निर्वाचमा उनी विजयी भएका थिए । विसं २०५६ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी आफ्नो गृह जिल्ला इलामबाट विजयी भएका थिए ।

विसं २०७९ को मंसिरमा भएको निर्वाचनमा उनी इलामको-२ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएका थिए । कहिल्यै चुनावमा पराजित नहुने नेकपा एमालेका एकमात्र नेता सम्भवतः उनीमात्रै थिए । यति विशेषता भएका नेतालाई प्रधानमन्त्री बनाइनु पर्दथ्यो । नेकपा एमालेले विसं २०५१ सालमा मनमोहन अधिकारी २०६६ मा माधवकुमार नेपाल, २०६७ मा झलनाथ खनाल २०७२ र विसं २०७४ सालमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनायो तर नेम्वाङलाई बनाएन ।

नेकपा एमालेले चाहेको भए नेपालको शिशु गणतन्त्रलाई बलियो बनाउन तथा यसको संस्थागत विकास गर्न नेम्वाङलाई राष्ट्रपतिका रूपमा अघि सार्न सक्दथ्यो । विसं २०७२ साल कात्तिकमा विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको पदमा अघि सार्नुको सट्टा एमालेले नेम्वाङलाई राष्ट्रपतिको पदमा अघि सार्न सक्दथ्यो । जब केपी शर्मा प्रधानमन्त्रीमा निर्वाचित भइसकेका थिए भने राष्ट्रपतिमा पनि बाहुनलाई नै अघि सार्नु किन आवश्यक भयो ? विद्यादेवी र नेम्वाङबीच कुनै तुलना नै हुन सक्दैनथ्यो । नेपाली कांग्रेसले डा.रामवरण यादव (मधेसीलाई)लाई राष्ट्रपतिको पदमा अघि सारेको थियो ।

नेकपा एमालेले चाहेको भए नेम्वाङलाई राष्ट्रपतिको पदमा अघि सारेर नेपालको एउटा ठूलो आवादि (आदिवासी जनजाति)मा सकारात्मक सन्देश दिन सक्दथ्यो तर होइन, नेकपा एमाले नाम मात्रको साम्यवादी, अग्रगामी, प्रगतिशील र समाजवाद-उन्मुख संगठन हो । यथार्थमा यो कर्मकाण्डमा विश्वास राख्ने यथास्थितिवादका पक्षधर र बाहुनवादको संकीर्ण मानसिकभन्दा बाहिर आउँनै सक्दैन । विसं २०७५ सालमा पनि राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो तर नेकपा एमालेले त्यसपटक पनि विद्यादेवीलाई नै अघि सार्‍यो । सहज रूपमा चुनाव जित्न सक्ने अवस्था हुदाँसम्म विद्यादेवी भण्डारीको नामलाई मात्रै अघि सार्‍यो ।

जनआन्दोलन-२ को सफलतापश्चात नेकपा माओवादी पनि राष्ट्रिय राजनीतिको मूलधारमा समाहित भएको थियो । संसद्मा माओवादीका सांसद र सभासदलाई संयमित र अनुशासित बनाएर राख्नु निकै कठिन कार्य थियो तर सुवासचन्द्र्र नेम्वाङले यस कठिन कार्यलाई सफलतापूर्वक निर्वाह गरे ।

नेकपा एमालेले कर्मकाण्डीय सोच एवं जातीय संकीर्णताको घेराभन्दा मुक्त रहेको भए कमसेकम दोस्रो पटक पनि त आफ्ना वरिष्ठ नेता र संविधानविद् नेम्वाङको नामलाई अघि सार्न सक्दथ्यो तर नेकपा एमालेले त्यसो गरेन । सम्भवतः नेकपा एमालेका शीर्ष नेतृत्वमा रहेको बाहुनवादी जातीय अहंकारबाट पीडित भएर नै अशोककुमार राई जस्ता वरिष्ठ नेताले एक ठूलो समूहमा नेकपा एमालेलाई परित्याग गरेका थिए । नेम्वाङले भने उपेक्षा र अपमान सहेर पनि एमालेलाई परित्याग गरेनन् ।

नेम्वाङ संसद्को सार्वजनिक लेखा समितिको सभापति हुँदा चाइना साउथ वेष्ट एयरलाइन्स विमान प्रकरणमा भएको अनियमितता र भ्रष्टचारको निम्ति एमाले नेता र तात्कालीन पर्यटन एवं नागरिक उड्डयन मन्त्री भीम रावललाई दोषी ठहर्‍याइएको थियो । नेकपा एमालेले त्यतिबेला भीम रावलसित जवाफ माग्नुको सट्टा उल्टै नेम्वाङसित स्पष्टीकरण सोधेको थियो । उनले आफ्नै पार्टीका नेतालाई दोषी किन ठहर्‍याए ? नेकपा एमालेभित्र रहेर मान-सम्मानसहित काम गर्नु एउटा जनजातिको निम्ति कति कठिन हुने गर्दथ्यो ? त्यसको त्यो गतिलो प्रमाण थियो ।

जनआन्दोलन-२ को सफलतापश्चात नेकपा माओवादी पनि राष्ट्रिय राजनीतिको मूलधारमा समाहित भएको थियो । संसद्मा माओवादीका सांसद र सभासदलाई संयमित र अनुशासित बनाएर राख्नु निकै कठिन कार्य थियो तर सुवासचन्द्र नेम्वाङले यस कठिन कार्यलाई सफलतापूर्वक निर्वाह गरे । मधेसी दलका सासंद, माओवादी र नेपाली कांग्रेस एवं नेकपा एमालेलाई विश्वासमा लिई समन्वयकारी भूमिकाको निर्वाह गरेकोमा उनको प्रशंसा सबैतिर भइरहेको छ ।

पहिलो संविधानसभामा जतिबेला नेकपा एमाले विभाजित भएको थियो, त्यतिबेला माओवादी, मधेसवादी र अशोक राईको पार्टीको गरी दुई तिहाइभन्दा बढी सभासद संविधान बनाउन सफल हुने अवस्थामा थिए तर नेम्वाङले पार्टी नेतृत्वको आदेशमा संविधानसभाको बैठक हुन दिएका थिएनन् । त्यतिबेला उनले माओवादी, मधेसवादी र अशोक राईका पार्टीको विरोधको सामना पनि गर्नुपरेको थियो तर जब प्रधानमन्त्री एवं राष्ट्रपति बन्ने अवसर आयो एमालेले बाहुनलाई मात्रै स्मरण ग¥यो । अहिले पनि एमालेमा ओलीपछि ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पौखरेलकै चर्चा छ । नेम्वाङ त नाम मात्रका पदाधिकारी थिए । पार्टीमा उनको भूमिकालाई गौण राखिएको थियो ।

दक्षिणी छिमेकी भारतमा त्यहाँको संविधानका निर्मातालाई अम्बेडकर (दलित)लाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नको उपाधि पनि दिइएको छ । उनको जयन्तीलाई पर्वको रूपमा मनाइन्छ । त्यहाँ अहिले पनि एउटा जनजाति नै राष्ट्रपति छन्, त्यहाँ यसभन्दा अघि दलित थिए । नेम्वाङ नेकपा एमालेमा जे जति सम्मान र महत्वका हकदार थिए, त्यति उनले पाउन सकेनन् । बाहुनवादी सिन्डिकेटमा उनले स्थान र अवसर पाउने कुरा पनि थिएन । नेकपा एमाले जडसूत्रवादी राजनीतिक संगठन हो । यसले परिवर्तन र अग्रगमनलाई आत्मासात गर्न सक्दैन । सुवासचन्द्र नेम्वाङको उनको पार्टीले समुचित मूल्यांकन गरेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?