श्रीकृष्णले लाखेको बध गरेपछि बेनीको वर्खे नाच सकियो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । करीब साढे दुई सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै शुरु भएको वर्खेनाच यसवर्ष सोमबार (हिजो) भगवान श्रीकृष्णले लाखेको बध गरेसँगै अन्त्य भएको छ ।

भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्खे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।

परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विर्सजन गरिएपछि बेनीमा वर्खे नाच शुरु भएको थियो । एक महीनासम्म विभिन्न नाच देखाएर परम्परागत संस्कृति र पौराणिक महत्वलाई प्रदर्शन गरिन्छ ।

पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूला-ठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाँच बेनीको प्रशिद्ध नाच हो ।

वर्खे नाचको शुरुवात लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको साँझमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।

हिन्दू धर्मग्रन्थमा वर्णित द्वापरयुगामा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुणकामदेवले शुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् ।

बेनीमा लाखे नाच, गोरु नाच, रोपाइँ नाच, जोगी नाच, नागानागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि हनुमान नाच र रोपाइँ नाच भने लोप हुने अवस्थामा रहेको छ ।

हिन्दू नेपाली महिलाको महानपर्व तिजमा दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखे नाच प्रदर्शनपश्चात साँझ संगमचोकमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई बध गरेपछि वर्खे नाच समापन गरिएको हो ।

करिब १० मिनेटभन्दा लामो लडाईमा दानवको वध भएपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रदर्शन गरिएको थियो ।

नेपाल भाषामंकाःखलका कलाकारको समेत उपस्थितीमा नेवारी गितसँगै खचाखच दर्शकको उपस्थितिमा लाखेको एकल नाचसँगै श्रीकृष्णको रूपधारण गरेका कलाकारसँगको लडाँई निकै रोचक हुन्छ ।

‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ, वर्खेनाचका सबै नृत्यहरू परम्परागत छन्’ नेपाल भाषा मंकाःखलका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठले बताउनुभयो ।

वर्षेनाचको समापनसँगै नेपालीको प्रमुख पर्व दशैंतिहारसँगै अन्य चाडपर्वको रौनकता छाउने भाषा मंकाःखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एक महिने वर्खेनाचमा करिब १ सयभन्दा बढी कलाकारहरू प्रत्यक्ष सहभागि भएका थिए । वर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाको समेत सहभागिता रहेको श्रेष्ठको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?