विद्यार्थीले उत्पादन गरेको तरकारी,च्याउ र मह विक्री भएन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ विमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरुले उत्पादन गरेको तरकारी, च्याउ र महले बजार नपाउँदा विद्यार्थीहरु निरास बनेका छन् ।

विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेका यहाँका विद्यार्थीहरुले उत्पादन गरेको तरकारी,च्याउ र मह विक्री नहुँदा समस्या भएको किसानी प्राविधिक शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो । करिव पाँच लाख रुपैयाँ बराबरको तरकारी, च्याउ र मह उत्पादन गरेपनि यस वर्ष जम्मा रु दुई लाख पचास हजारको मात्र विक्री भएको उहाँको भनाइ छ ।

किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरुले पढाइका अतिरिक्त तरकारी मौसमी तथा वेमौसमी तरकारी खेती र मौरीपालन गर्दै आएका छन् ।

शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययन गर्ने ४० जना विद्यार्थीहरुले तरकारी खेती गर्नुका साथै मौरीपालन गरेका छन् । विद्यालय परिसरमा नै मौरीका छ ओटा घार रहेका छन् । विद्यार्थीहरुले मह उत्पादन प्रक्रिया, महको चाका संकलन, मौरीको घारको रेखदेख र मह निकाल्ने सम्पूर्ण प्रक्रिया सिकेका छन् । वर्षमा दुईपटक मह निकालेर स्थानीयलाई बिक्री गर्ने गरिएको शिक्षालयका प्राचार्य गर्बुजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा ६ वटा घारबाट मौरीपालनको अभ्यास सिकेका विद्यार्थीले अहिले आफ्नो घरमा समेत मौरीको घार राख्न थालेका छन् । विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले गरिएको मौरीपालनलाई तोरी फुल्ने समयमा मौरीको चरन क्षेत्र, वर्षाको समयमा स्थानीय प्रजातिका फूलमा चराउन कसरी लैजाने भन्नेसम्मको समेत अभ्यास विद्यालयमै सिकेपछि विद्यार्थी निकै उत्साहित छन् । मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुने गरी अरू कृषि कर्म पनि गरेका छन् ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा वाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। यस शिक्षालयमा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो ।

अहिले यहाँ ११ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका शिक्षालयका प्राचार्य गर्बुजाले बताउनुभयो पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको उहाँको भनाइरहेको छ ।

विद्यार्थीहरुले उत्पादन तरकारी बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्ने गरिएको प्राचार्य गर्बुजाले जानकारी दिनुभयो । विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले नयाँ उत्पादनका लागि तत्काल आवश्यक परेमा विद्यालयले ऋणको सुविधासमेत दिने गरेको उहाँको भनाइ छ ।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरू उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरिएको कृषि प्राविधिक शिक्षालयका संयोजक विष्णु सुवेदीले जानकारी दिनुभयो ।

विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौं। यहाँबाट पढेर गएका सबै विद्यार्थी आत्मनिर्भर छन्। लोभलाग्दो कमाइ गरिरहेका सुवेदीको भनाइ छ । उहाँका अनुसार यहाँबाट वार्षिक ६ क्विन्टल च्याउ बिक्री गर्ने गरिएको छ। विद्यार्थीले विभिन्न प्रजातिका फलफूल, तरकारीको बेर्ना बेचेर समेत राम्रो कमाइ गर्ने गरेका छन् । विद्यालयले २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ।

शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा टनेलसँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन गर्न सजिलो भए पनि उत्पादिन वस्तु उचित मूल्यमा विक्री नहँदा समस्या भएको विद्यार्थीहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?