संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुक्यो : पूर्वप्रधानमन्त्री खनाल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताउनुभएको छ ।

मंगलवार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गर्नुभयो । उहाँले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पार्नुभयो ।

उहाँले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको बताउनु भयो । उहाँले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान बनेको ७ वर्ष हुनलाग्यो, बिस्तारै एक दशक हुन्छ । तर संविधान जुन ढंगको हामीले बनाएका छाैं । त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया छ त्यसमा भने हामी संविधान बनाउँदा जति सचेत थियौँ । यसलाई कार्यान्वयन गर्न त्यति सचेत गर्न सकेका छैनौँ । संविधानको धारा ३ पढ्नुस्, नेपालको विशेषताको बारेमा हामीले राम्रो ढंगले परिभाषित गरेका छौँ । नेपाल एउटा बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देश हो । तर त्यसको मर्म र भावनाको बारेमा देशका सबै जातिका जनतालाई राम्रोसँग बुझाउन सकेका छैनौँ । त्यसले गर्दा अहिले पनि विविध खालका सेन्टीमेण्टहरु उम्लिन खोजिरहेका छन् । पूर्वाञ्चल त्यसकै प्रभाव हो । धरानमा भएको निषेधाज्ञा त्यसकै प्रभाव हो । यसैले हामीले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न सकेका छैनौँ । यो देशको नेतृत्व पछि छ । यी कमजोरीलाई समाधान गर्नुपर्छ । ३१ वटा मौलिक हक पारित गरेका छौँ । त्यसलाई ३ वर्षभित्रमा कानून बनाएर लागू गर्नुपर्छ, त्यही संविधानले घोषणा गरेको हो, अहिले ७ वर्ष भयो ? खै कानून बनेको ? यो नेतृत्वको पहलमा कमी हो । संविधान राम्रो बनाएर मात्रै हुँदैन, यसलाई कार्यान्वयन गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले देशको राजनीति दिशाहीन भएको बताउनु भयो । उहाँले राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा संकटहरु बढ्दै गएको बताउनु भयो । उहाँले देशका वामपन्थीहरु मेलमिलाप भएमात्रै स्व.सुवासचन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?