मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनु पर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुरधाम । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवाषचन्द्र नेम्वाङको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताउनु भयो ।

उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मासात गर्दै एकतावद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अधिवेशनहरुलाई एकतावद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशलाई दुरावस्थाबाट जोगाउनका लागि एमाले एक्लैले बहुमत प्राप्त गर्नुपर्छ । त्यो तयारीमा लाग्नुपर्ने जरुरी छ । त्यसका लागि एमालेले अघि सारेका विचारहरुमा तलमाथि होइन । एमालेले अघि सारेका विचारहरुमा दृढतापूर्वक उभिनु प-यो । विचारहरु कमजोर ढंगले समाउने, विचारहरुको पक्षमा नउभिने अनि कमजोर ढंगले त्यो विचारलाई लिने हो भने हामी पार्टी बनाउन सक्दैनौं । मिसन २०८४ पु¥याउन सक्दैनौं । त्यसकारण एमालेको मिशन २०८४ पु-याउनका लागि जरुरत के हो भने एमालेले अगाडि सारेका विचारहरु जुन हुन, त्यो विचारहरुलाई हामीले दह्रोसँग समाउनुपर्ने हुन्छ । यही बलियो बनाउने हिसावमा हाम्रो अधिवेशनहरु हुँदैछन् । यसलाई व्यवस्थित ढंगले अघि बढाउनु पर्छ । एमाले एक्लैले बहुमत प्राप्त नगरुन्जेल देशको स्थितिलाई बदल्न सकिदैन । देशको अवस्था बदल्न सकिदैन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रुपमा चित्रण गर्नुभयो । ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्वपूर्ण योगदान रहेको उहाँको भनाई थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?