मनाइयो संविधान दिवस

प्रभावकारी कार्यान्वयन नहुँदा जनअपेक्षा सम्बोधन हुन सकेनन्

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं। काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहबीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतीक परेवा उडाएको थियो । त्यस्तै, हेलिकोप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए । संविधानसभाबाट नयाँ संविधान जारी भएको बुधबार आठ वर्ष पूरा भएको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो ।

त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । नयाँ संविधान निर्माणपछि मुलुकमा सुशासन, राजनीतिक स्थिरता र समृद्धिको अपेक्षा जनताले जसरी गरेका थिए त्यसपछिका दिनमा संविधानको प्रभावकारी कार्यान्वयन नहुँदा जनतामा निराशा पनि बढ्न थालेको छ । जसका कारण वर्तमान संविधानमाथि पनि असन्तुष्टिका आवाज मुखरित हुँदै गइरहेका छन् ।

आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्छ- राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले जनआन्दोलनका उपलव्धिहरूलाई कमजोर पार्ने काम हुनसक्ने भन्दै सचेत हुनुपर्ने बताउनुभएको हो । जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा चनाखो हुनुपर्ने उहाँको भनाइ छ । उहाँले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने धारणा राख्नुभयोे । राष्ट्रपति पौडेलले सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महŒवपूर्ण चरण पार गरेकाले आफैँले बनाएको संविधान मुलुकमा रहेको जिकिर गर्नुभयो । उहाँले व्यवस्था परिवर्तन भए पनि देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन नसकेकाले राज्यको चरित्रको पुनः संरचना आवश्यक रहेको बताउनुभयो ।

अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय- कार्यवाहक प्रधानमन्त्री

फाईल तस्बिर

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानका आधारस्तम्भहरू क्रमशः सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएको बताउनुभएको छ । काठमाडौंको टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको पनि बताउनुभयो । सरकारको अबको कार्यभार पूरा गर्न भौतिक पूर्वाधारका साथै आर्थिक र सामाजिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने भन्दै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबै जुट्नुपर्ने उहाँले बताउनुभयो । जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाई समतामूलक समाजको निर्माण गर्नु साझा दायित्व भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ । संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । ‘उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपर्ने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको छ,’ खड्काले भने, ‘शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमा सरकार सचेत र सजग छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यूयोर्कमा र सभामुख देवराज घिमिरे आयरल्याण्डमा रहेकाले संविधान दिवसको मूल समारोहमा सहभागी हुनुभएन ।

राष्ट्रिय एकता खलबल्याउने कुरा सकारात्मक हुन सक्दै- ओली

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान प्रभावकारी रूपमा कार्यन्वयन गर्नुपर्ने बताउँदै राष्ट्रिय एकतालाई खलबल्याउने खालका कुरा सकारात्मक हुन नसक्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले जनताबीचको एकता कमजोर गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने पनि बताउनुभएको छ । उहाँले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तन र संविधानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न छिटपुट रूपमा प्रयास भइरहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने उहाँको भनाइ थियो । ‘कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुट रूपमा हुने गरेका देखिएका छन्,’ उहाँले भन्नुभयोे, ‘त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई खलबल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन् ।’

पूर्वप्रधानमन्त्री ओलीले विभाजनकारी प्रवृत्ति ल्याएर जनतामा फाटो पु¥याउने र राष्ट्रिय एकतामा खलल ल्याउन खोजिएको बताउनुभयो । राजनीतिक, साम्प्रदायिक, क्षेत्रीय मुद्दाका रूपमा समाजमा खलल पु¥याउने कार्यले राष्ट्रिय एकतालाई कमजोर पार्ने उहाँको भनाइ थियो । सरकारले त्यस्ता गतिविधि अन्त्य गर्न कदम चाल्नुपर्ने उहाँको भनाइ थियो । सरकारले त्यस्ता गतिविधिप्रति सार्वजनिक रूपमा एउटा र काममा अर्कै गर्ने कुरा गलत भएको उहाँले बताउनुभयो । नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर हुन दिन नहुने ओलीको भनाइ थियो । उहाँले संविधान दिवसले एकताको सन्देश दिएको भन्दै आगामी वर्षमा दिवसलाई राष्ट्रियस्तरमा मनाइने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?