मतदान गर्न गाउँ फर्कनेको भीड : सदरमुकाम सुनसान

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । यही मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको भीडले ग्रामीण यातायातका साधनहरू खचाखच भरिएका छन् । छोराछोरी पढाउन, व्यापार व्यवसाय, जागिर वा अन्य प्रयोजनले सदरमुकाम बेनीमा बसोबास गर्दै आएका अस्थायी बासिन्दाहरू गाउँ फर्केपछि सदरमुकाम बेनीबजार सुनसान बनेको छ ।

निर्वाचन आउन अब केवल एक दिनमात्र बाँकी छ । मतदान गर्ने दिन नजिकिँदै गर्दा शहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लहर नै लागेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट बाहिरिने यात्रुको पनि निकै चाप छ । बेनी बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू केही दिनलाई कामको चाँजोपाँजो मिलाएर आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् ।

निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि बेनीबजारमा रहेकाहरू गाउँघर फर्कन थालेका हुन् । चुनावमा आफूले रोजेको र जनताको समस्यालाई हल गर्ने नेतालाई भोट हाल्न अहिले सदरमुकाम बेनीमा रहेका व्यक्तिहरू बाहिरिएका हुन् ।

राजधानी तथा देशका अन्य ठाउँहरूमा रहेका म्याग्देलीहरू पनि भोट हाल्नका लागि गाउँ फर्किएपछि गाउँहरू भरिभराउ भएका छन् । आफन्तहरू भेट भएर आफूलाई मनले खाएको उम्मेदवार र पार्टीलाई मतदान गर्ने सरसल्लाह भइरहेको बेनी नगरपालिका–२ का नारायण सापकोटाले बताउनुभयो ।

बजारबाट गाउँ फर्किनुपर्ने हुँदा हिजोआज बेनीको बसपार्कमा यात्रुहरूको निकै भिडभाड हुने गरेको छ । शुक्रबार बिहानै जहान परिवारसहित सदरमुकाम बेनीबाट मालिका गाउँपालिका–५ मा पर्ने देविस्थान जान लाग्नुभएका शेरबहादुर बुढाले गाउँबाट आफन्तहरूले फोन गरेर चुनाव आयो आउनुप¥यो भनेर बारम्बार बोलाएपछि जान लागेको बताउनुभयो । ‘चुनाव त पाँच वर्षमा आउने ठूलो चाड जस्तै हो नि, दशैँ–तिहार त बर्सेनि आउँछन् तर चुनाव पाँच वर्षमा एकचोटिमात्र आउँछ,’ बुढाले भन्नुभयो, ‘भोट हालेर राम्रो जनप्रतिनिधि चुन्ने यस्तो मौका गुमाउनुभएन ।’

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीनजना स्वतन्त्रसहित नौजना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँचजना उम्मेद्वार छन । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र ११९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् ।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कुल ९५२ जना कर्मचारीहरू परिचालन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?