हतियारधारी समूहद्वारा लुटपाट

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । बिहीबार बिहान लालबन्दी नगरपालिका-५, शान्तिटोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।

वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो । मुखमा रुमाल बाँधेर आएका ५/६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सरसामग्री लुटेर लगेका प्रहरीले जनायो ।

लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन् । उनको टाउकोमा चक्कु प्रहार भएको छ ।

घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । घरधनी ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।

सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको बताउनुभयाे । “घटनाको अनुसन्धानका लागि जिल्लाबाट समेत अनुसन्धान टोली खटिएको छ, लालबन्दीका इन्स्पेक्टरको नेतृत्वमा घटना लगत्तै प्रहरी परिचालन भइरहेकै छ,” डीएसपी थारुले भन्नुभयाे । उहाँका अनुसार घटनास्थलबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको छ ।

घरको कम्पाउण्डवालमा लगाइएको ग्रिल नाघेर हतियारधारी समूह घरभित्र प्रवेश गरेका थिए । घरको भान्सा तथा घरसँगैको धान खेतमा रगतका टाटा देखिएका छन् । भर्खरै बसेको बस्ती क्षेत्रमा लुटपाटको घटना भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?