भोजपुरमा सुशासनको अवस्था सन्तोषजनक देखिएन : सचिव आचार्य

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्यले सुशासनको क्षेत्रमा भोजपुरमा अझै सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । केन्द्रको आयोजनामा कर्मचारी र स्थानीय तहका जनप्रतिनिधीहरुका लागि जिल्ला सदरमुकाममा शुक्रवार गरिएको भ्रष्टाचार नियन्त्रण, हाम्रो साझा दायित्व बिषयक सचेतना कार्यक्रममा बोल्नु हुँदै सचिव आचार्यले जिल्ला स्थित सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुसँग गरिएको सर्वेक्षणले सुशासनको अवस्था सन्तोषजनक नदेखिएको बताउनु भएको हो ।

केन्द्रले जिल्लाका २१ वटा कार्यालयहरुमा अनुगमन गर्दे सेवा लिन आउने सेवाग्राहीसँग गरिएको सर्वेक्षण अनुसार ५२ प्रतिशतले नागरिक बडापत्रको बिषयमा अन्यौलता देखाएको सचिव आचार्यले बताउनुभयो । त्यस्तै सर्वेक्षणका क्रममा कर्मचारी अभावमा सेवा ढिलो भएको, ३८ प्रतिशतले सुचनाको हकको बिषयमा नजानेको, ७४ प्रतिशतले उजुरी गुनासो नै नगर्ने गरेको अवस्था देखिएको भन्दै सचिव आर्चायले यी कुराहरु सुधारमा लाग्न आवश्यक देखिएको औल्याउनुभयो ।

सुशासनका लागि जनप्रतिनिधी र कर्मचारीका बीचमा समन्वय जरुरी रहेको बताउँदै सचिव आचार्यले जन्मदेखि मृत्युसम्मका कार्यहरु स्थानीय तहबाट हुने गरेकाले सुशासनका लागि जनमुखी सेवा आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले भ्रष्टाचारमा संलग्न भएको पुष्टी भएमा ती परिवारका तीन पुस्तासम्मलाई कुनै पनि जिम्मेवारी दिन नहुने बताउनुभयो । जिल्ला समन्वय प्रमुख भएसँगै भोजपुर जिल्लालाई भष्ट्रचार र अनियमितता मुक्त जिल्ला बनाउन आफु लागि परेको बताउँदै प्रमुख थुलुङले त्यसका लागि सहयोग गर्न सवैलाई आग्रह समेत गर्नु भयो ।

भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले प्रधान सत्रु भ्रष्टाचार भएपनि नियन्त्रण हुने नसकेको बताउँदै जनप्रनिनिधी र नेता पनि सच्चिन जरुरी रहेको बताउनुभयो । स्थानीय तहहरुमा पनि बेतिथी देखिने गरेकाले ती क्षेत्रमा पनि सुधार जरुरी रहेको नगर प्रमुख आलेको भनाई रहेको छ ।

सोहीक्रममा बोल्नु हुँदै भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सरकारी कार्यालयहरुमा दरवन्दी अनुसारका कर्मचारीको ब्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको बताउनु भयो । “एउटै कर्मचारीले बढी फाँटको काम गर्नु पर्ने अवस्था छ, भौगोलिक अवस्थाका कारण सेवाग्राही नागरिकलाई समेत सास्ती हुने गरेको छ ।” प्रजिअ घिमिरेले भन्नुभयो ।

सोक्रममा बिभिन्न तीन वटा कार्यपत्रहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सतर्कता केन्द्रका सचिव आचार्य, समन्वय प्रमुख, प्रजिअ, सहसचिव राजेन्द्र कुमार पौडेल, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख, सरकारी तथा स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?