ज्येष्ठ प्राध्यापक समाजको शुभकामना आदानप्रदान सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अवकाशप्राप्त प्राध्यापकहरूको संस्था ‘ज्येष्ठ प्राध्यापक समाज, नेपाल’ले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजन गर्दै दुईजना विशेषज्ञहरूबाट विद्वत प्रवचन प्रस्तुत गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा.चुडाबहादुर कार्कीले अल्जाइमर्स र डिमेन्सिया रोगका बारेमा जानकारी दिनुभएको थियो । विश्वको तथ्यांकअनुसार डिमेन्सिया हरेक पाँच वर्षमा दोब्बर बढ्दै गएको बताउँदै ज्येष्ठ नागरिकहरू यसप्रति सचेत हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

डा.कार्कीले डिमेन्सियाले स्मरणशक्ति, तर्कशक्ति, सोच्ने शक्तिमा ह्रास ल्याउने हुँदा हरेक व्यक्तिले आफूलाई सक्रिय राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिमेन्सियाका लक्षणहरूबारे जानकारी दिँदै भन्नुभयो, ‘सामान्यतया ६५ वर्षपछि डिमेन्सिया हुनसक्ने सम्भावना भएकोले उमेर पुगेका हरेकले आफ्नो जीवनशैलीलाई सन्तुलित राख्नुपर्ने हुन्छ । हरेक व्यक्तिले सन्तुलित आहारविहार, शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । नियमित स्वास्थ्य जाँचका लागि डाक्टरसँग सम्पर्कमा रहनुपर्छ ।’

उक्त कार्यक्रममा प्रा.डा. लोचना श्रेष्ठले डिमेन्सिया र अल्जाइमर्सबाट बच्न तथा मस्तिष्कलाई सक्रिय राख्न खानपान र व्यायामसँगै पढ्ने, लेख्ने, संगीत सुन्ने, सिनेमा हेर्ने, घुमफिर गर्नेजस्ता क्रियाकलाप गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आराम हराम भएकाले आफूलाई सक्दो व्यस्त राख्न सबैसँग आग्रह गर्नुभयो ।

उक्त अवसरमा शिक्षाविद् प्रा.सुरेशराज शर्माले नेपालको शैक्षिक क्षेत्रलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । समाजका संस्थापक अध्यक्ष वसन्त गौतमले संस्था स्थापनाका प्रारम्भिक दिनको सम्झना गर्दै यसले गर्दै आएका कामबारे जानकारी दिनुभयो । समाजका अध्यक्ष डा.विमलकुमार शर्माले जेष्ठ प्राध्यापकहरूको हितका लागि आफूहरू क्रियाशील रहँदै आएको बताउनुभयो । कार्यक्रममा प्रा.कमलकृष्ण जोशीलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?