कांग्रेस बैठकमा प्रचण्ड नेतृत्वको सरकारमाथि उठ्यो प्रश्न

नेताहरू भन्छन्- ‘सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र एक्लै अगाडि बढ्न खोज्यो’

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आफैँ सहभागी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमाथि प्रश्न उठेको छ । बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमाथि प्रश्न उठाएका हुन् । केन्द्रीय समिति बैठकको दोस्रो दिन शुक्रबार धारणा राख्दै नेता गुरु बरालले पार्टी सहमहामन्त्रीलाई खकुरी प्रहार हुँदासमेत सरकार निरीह बनेको टिप्पणी गर्दै भन्नुभयो, ‘हाम्रो पार्टी यो सरकारसँग छ । कांग्रेसको नेतृत्वमा यो सरकार बनेको हो । अहिलेको अवस्था जर्जर छ । यसलाई कसरी सुधार्ने ? शान्ति सुरक्षाको कुरा गर्दा हाम्रो सहमहामन्त्रीमाथि संघीय राजधानी काठमाडौंकै व्यस्त ठाउँमा दिउँसै खुकुरी प्रहार भएको छ । यस्तो अवस्थामा सरकार निरीह अवस्थामा छ । यस्तो भोलि हाम्रो अन्य साथीहरूलाई पनि पर्नसक्छ । नेताहरूलाई त सुरक्षा छैन हाम्रो के सुरक्षा छ भन्ने प्रश्न उठेको छ जनतामा ।’

सरकार परिवर्तनबारे सभापतिले प्रष्ट जवाफ दिनुपर्छ : संग्रौला
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले सरकार परिवर्तनको चर्चा भइरहेको उल्लेख गर्दै पार्टी सभापतिसँग जवाफ माग्नुभएको छ । शुक्रबारको केन्द्रीय समिति बैठकमा सरकार परिवर्तनको चर्चाबारे पार्टी सभापति शेरबहादुर देउवाको जवाफ माग गर्दै संग्रौलाले भन्नुभयो, ‘अहिले फेरि सरकार परिवर्तन, मन्त्रीहरू हेरफेर जस्ता कुराहरू आइरहेका छन् यस विषयमा पनि सभापति र पदाधिकारीहरूले प्रष्टसँग जवाफ दिनुपर्छ ।’ सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र एक्लै अगाडि बढ्न खोजेको आरोपसमेत लगाउँदै संग्रौलाले भन्नुभयो, ‘सरकारमा हामी छौँ, सरकार हाम्रो छैन । कतिपय कुराहरूमा माओवादी केन्द्र एक्लै अगाडि बढ्न खोजेको जस्तो पनि देखिन्छ ।’ माओवादीले कांग्रेसलाई भ्रष्टाचारी पार्टीको रूपमा स्थापित गर्न खोजेको उहाँको दाबी छ । जारी केन्द्रीय समिति बैठकबाट कांग्रेसले अब हुने विभिन्न उपनिर्वाचनको रणनीतिबारे प्रष्ट पार्न जरुरी रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति
सत्तारूढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको आलोचना भएको छ । केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य डा.चन्द्रमोहन यादवले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भन्नुभयो, ‘प्रधानमन्त्रीले जातीय कुरा उठाइराख्नु भएको छ । उहाँले भनिराख्नु भएको छ, हामीलाई समर्थन गर्नुहोस् जातीय राज्य राख्दिन्छु भनेर । यसले नराम्रो म्यासेज गएको छ । यो प्रचण्डजीको मात्रै सरकार होइन । यहाँ सबैभन्दा ठूलो दल कांग्रेस हो । त्यसैले गल्ती उहाँहरूले गर्ने त्यसको अपजस हामीले पाउने भइरहेको छ ।’

एकहप्ता फेसबुक बन्द भए केही पार्टी शून्यमा झर्ने दाबी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले कांग्रेस चौतर्फी घेराबन्दीमा परेको बताउनुभएको छ । जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै रावलले कांग्रेस अहिले पूर्ण घेराबन्दीमा रहेको र कांग्रेसभित्र पनि कांग्रेससँग कांग्रेस डराउनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभयो । पार्टी सभापति शेरबहादुर देउवाको टावरिङ पर्सनालिटी हुँदाहुँदै पनि पार्टी यो अवस्थामा पुगेको उल्लेख गर्दै रावलले भन्नुभयो, ‘अब पार्टी पंक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । हामी एक हुन सकेनौँ भने तल्लो तहका कार्यकर्ताको मनोबल कमजोर हुन्छ । यसमा हामी गम्भीर हुनुपर्छ । केही फेसबुके पार्टी छन् । एकहप्ता फेसबुक बन्द भए धेरै पार्टी शून्यमा झर्ने अवस्था छ । तर, हामीले तिनीहरूसँग सामना गरिराख्नु परेको छ । हाम्रा साथीहरूले अहिलेको प्रविधिलाई प्रयोग गर्न जरुरी छ ।’ रावलले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार हुँदासमेत सरकार निरीह बनेको आरोप लगाउनुभयो ।

देशको अर्थतन्त्र बिरामी छ : पोखरेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले देशको अर्थतन्त्र बिरामी भएको बताउनुभएको छ । जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै पोखरेलले द्वन्द्वले गरिखाने माहोल नहुँदा विदेश गएकोको रेमिटेन्सले गर्दा बाहृय अर्थतन्त्र राम्रो देखिए पनि आन्तरिक अवस्था तहसनहस अवस्थामा रहेको बताउनुभएको हो । प्रत्येक दिन साना/ठूला एकजना व्यवसायीले आत्महत्या गरेका र गरिखाने वर्गमा दिनको एकजनाले आत्महत्या गर्नु डरलाग्दो भएको उल्लेख गर्दै पोखरेलले भन्नुभयो, ‘देशभर ३५ प्रतिशत सटर बन्द भएका छन् । दशैँको मुखमा बजार सुनसान छन् । सरकारको ढुकुटीमा साढे दुई खर्ब थन्किएको छ । तर, अर्थतन्त्री राष्ट्र बैंकको मौद्रिक नीतिले गर्दा अर्थतन्त्र बिग्रियो भनिरहनु भएको छ । गभर्नर सरकारको आर्थिक नीतिले गर्दा अर्थतन्त्रको हाल यस्तो अवस्थामा आयो भनिरहनु भएको छ । सरकारको संवेदनशील तहमा बस्नेले अनुत्तरदायी भएर यसरी पब्लिकमा गएर बोल्न मिल्छ ?’

अधिकार प्रत्यायोजन नगर्ने भए संघीयता हटाइदिऔँ : शाही
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन शुक्रबार पनि संघीयताका सम्बन्धमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । केन्द्रीय सदस्य जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनका लागि संविधानअनुसार अधिकार प्रत्योजन हुने गरी कानुन बन्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘यदि संघीयता हाम्रो पार्टीलाई नै मन परेको छैन भने यसलाई हटाइदिऔँ । बिना कामको त्यसै मन्त्री भनेको छ, मुख्यमन्त्री भनेको छ । होइन भने कानुनमा संविधानले दिएको अधिकार प्राप्त गर्न हामी अगाडि बढ्नुपर्छ ।’ प्रदेश सरकारले आफ्नो भवनसमेत बनाउन सक्ने कानुनी आधार नरहेको उल्लेख गर्दै शाहीले अधिकार नदिएर संघीयता भनिरहन नहुने जिकिर गर्नुभयो ।

संविधान संशोधन गर्न माग
संसद्मा सबैभन्दा ठूलो दलसमेत रहेको सत्तारूढ दल नेपाली कांग्रेसभित्रै संविधान संशोधनको माग उठेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले संविधान संशोधनका लागि डराउन नहुने जिकिर गर्दै भन्नुभयो, ‘अमेरिकामा पनि २१औँ पटक संविधान संशोधन गरेर बलियो भएको हो । संविधान संशोधन गर्न डराउनु हुँदैन । अहिले संघीयतामा खतरा छ भने यसै संविधानबाट छ । संशोधन गर्नुपर्छ ।’ केसीले निर्वाचन प्रणालीमा विचार गर्नुपर्ने र समानुपातिक व्यवस्था खारेज हुनुपर्ने मागसमेत राख्नुभयो । धर्म निरपेक्षता हटाएर सनातन हिन्दुराज्य स्थापना गर्नुपर्नेसमेत केसीले माग राख्नुभयो ।

महासमिति बैठक काठमाडौंबाहिर गर्न माग
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीको आसन्न महासमिति बैठक काठमाडौं बाहिर गर्न माग भएको छ । बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरूले काठमाडौंबाहिर मधेश प्रदेशमा महासमिति बैठक गर्न माग गरेका हुन् । साथै, महासमितिले नीति अधिवेशनको पनि काम गर्ने भएकाले तीन दिनबाट समय बढाएर पाँच दिनसम्म बैठक सञ्चालन हुनुपर्ने उनीहरूको भनाइ छ । शुक्रबारको बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य मधु आचार्यले भन्नुभयो, ‘मधेश प्रदेश कार्यसमितिसँग परामर्श गरेर महासमिति बैठक मधेशमा राख्न अनुरोध गर्दछु । महासमितिको बैठक तीन दिनले नपुग्ने देख्छु किनभने नीति अधिवेशनको समेत काम गर्नुछ त्यसैले पाँच दिन पु¥याउन अनुरोध गर्दछु ।’ अर्का केन्द्रीय सदस्य गोविन्द पोखरेलले पनि महासमिति बैठक मधेश प्रदेशमै गर्नुपर्ने धारणा राख्नुभयो । केन्द्रीय सदस्य जिपछिरिङ लामाले पनि महासमिति बैठक काठमाडौंबाहिर गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘वीरगञ्ज, जनकपुर गर्ने वा नेपालगञ्ज कहीँ न कहीँ गर्नुपर्छ । यसले पार्टी चलायमान हुन्छ । महासमिति बैठक काठमाडौं गर्ने हैन ।’ कांग्रेसले यही मंसिर १३ देखि १५ सम्म काठमाडौंमा महासमिति बैठक गर्ने अघिल्लो केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो ।

संसदीय दलको बैठक आहृवान
सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी संसदीय दलको बैठक बोलाएको छ । यही असोज ८ र ९ गते बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल हुने बताइएको छ । संसद्सँग सम्बन्धित अन्य समसामयिक विषयलाई पनि बैठकको एजेण्डा बनाइएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?