कविता : सियोका सुसेलीहरू

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ राजेश अधिकारी

सुईले तन सिकुटे कदचिनारी सियोको
टाउको च्याप्टो पुच्छर तिखो रूप म सियोको
लुइरे जीउ भए तापनि बिछट्टै तिखो छु
च्यातिए लुगा उद्रिए जुत्ता फुर्किँदैद सिउँछु ।

धागोको धोती लगाई आफू लुगामा छिर्दछु
फाटेका चीज सिलाई बुनी दुरुस्तै पार्दछु
फुलाई पोरा भने झैँ गर्छु यहाँकै मर्जीको
औजार श्रेष्ठ सिलाई कर्मी मोची र दर्जीको ।

देख्नमा लुरे छुँदामा तिखे काम छ बहुल
सियोको धर्म अथाह कर्म विश्वमा अतुल
बहुल रूप विविध कार्य म चुच्चे सियोको
साधन हुँ म सघाउ गर्ने शिखा झैँ दियोको ।

तुन्ने र बुन्नेबाहेक काम अनेक गर्दछु
डाक्टरी सुई बनेर पनि जिउमा छिर्दछु
खाप्सियो बनी तुन्दछु बोरा सियोकै औतार
खन्दछु धर्ती बनेर खन्ती फुटाई बन्जर ।

कहिले बस्छु भेदन गर्ने वाणको शिरमा
सियोकै रूप बनेर छेड्छु बसेर तीरमा
लुइरे, लुम्रे, फुकिढल्, लुते मलाई नठान
खन्तीको तिखो औतार लिई फोड्छु म चट्टान ।

सुटुक्कै छेड्छु नाक र कान पारेर चिरिक्क
गहना भिरी मुस्काइन् नारी परेर चिटिक्क
दुखाई घोच्छु मान्छेको छाला भुतुक्कै पारेर
देखाई ट्याटु तरुण मस्क्यो तरुनी देखेर ।

झिकिदेँ मैले विषालु काँडा बिझेको घारीमा
बुनिदेँ मैले फूल झैँ बुट्टा कान्छीको सारीमा
पुक्किन्छु कैले छेडेर जिब्रो बिस्केट जात्रामा
बहुल कर्म रमाई गर्छु जीवन यात्रामा ।

घडीको सुई बनेर सदा समय बोल्दछु
वचन तिखो मुखाले बनी मुटुमै घोच्दछु
राजाको टोपी रंकको कट्टु मैले नै सिलाएँ
ढाकाको दौरा, फाटेको जुत्ता सिलाई मिलाएँ ।

मन्त्रीको कोट डुमको भोटो तुन्ने नै म नै हो
हिन्दूको धोती पादरी वस्त्र बुन्ने नै म नैहो
गरिब धनी अछुत छुत सबैमा सलाम
विश्वका सारा जनमा मेरो सेवा छ समान ।

तुन्न र बुन्न घोच्न र छेड्न म सदा माहिर
कहिले छेड्छु पशुको नाथ्री काबुको खातिर
जसरी आगो जरुरी हुन्छ यज्ञको धुनीमा
त्यसैले सियो नभई हुन्न मान्छेको जुनीमा ।
इति

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?