चराको राजधानी ‘जगदिशपुुर ताल’ घुम्दा जे देखियो (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौंँ । जगदिशपुुर ताल कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, कपिलबस्तु नगरपालिका वडा नँ ९ र १० स्थित जगदिशपुर भन्ने ठाउँमा अवस्थित रहेको छ । पाहुना चराहरूको थलो कपिलवस्तुको जगदिशपुर ताल ४५ वर्षअघिसम्म गाउँ थियो । थारु समुदायको बाहुल्यता रहेकोले त्यो गाउँलाई जगदिशपुर थारु गाउँ भनिन्थ्यो ।

गाउँको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो । त्यही तालमा गाउँलेहरू पौडी खेल्ने, भैंसीलाई आहाल बसाल्ने र माछा मार्ने गर्थे । प्रशस्त खेतीयोग्य जमिन भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा भने थिएन । उत्तरी क्षेत्रमा वाणगंगा र कोइली नदीबाट कुलो र नहरमार्फत खेतमा सिँचाइ गरिए पनि दक्षिणी क्षेत्रमा सिँचाइको सुविधा थिएन । त्यही समस्या समाधानको लागि वि।सं। २०३५ सालमा सिँचाइ प्रयोजनको लागि वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले लक्ष्मणघाटमा बाँध बाँधेर जगदिशपुरमा जलाशय निर्माण गर्ने र त्यहीबाट सयौं हेक्टर जमिन सिँचाइ गर्ने योजना अगाडि सारेको थियो ।

त्यही सिँचाइको लागि कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० मा बनाइएको जलाशय अहिले चराहरूको लागि स्वर्ग र आकर्षक पर्यटकीय स्थलको रूपमा जगदिशपुर तालको नामबाट देशभर प्रख्यात छ । करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ । यो ताल नेपालकै मानव निर्मित जैविक विविधतायुक्त तालहरुमध्ये सबैभन्दा ठुलो ताल हो । ४,७५०,००० घन मिटर क्षमता रहेको यो तालको गहिराइ ३ मिटर रहेको छ । सन् २००३ सालमा रामसार सुचीमा सुचीकृत भएको यो ताल कपिलबस्तु जिल्लाको महत्वपूर्ण धरोहर हो । यस तालमा ४६ प्रजातिका माछा,घस्रने प्रजातिका ४२ उभयचर प्रजातिका १० तथा स्तनधारी समुहका समेत प्राणीहरु रहेका छन । साथै यहाँ गर्मि याममा बसाई सर्ने ७ प्रजाति,जाडो याममा बसाई सर्ने ६४ प्रजाति र अन्य रैथाने प्रकृतिका प्रणीहरु रहेका छन ।

विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चराहरु प्रशस्तमात्रामा आउने गर्दछन । यस्ता आगन्तुक चराहरु जाडो तथा गर्मी मौसम छल्न आई पुन आफ्नै मुलुक फर्कने गर्दछन । विभिन्न प्रजातिका जलचर तथा थलचर प्रजातिका प्राणीहरु प्रशस्त पाइने यस तालमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन । साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेको पाइन्छ । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाईएको छ । ताल सन् २००३ अगस्तमा रामसार साईटमा सुचिकृत भएको थियो । कृत्रिम रुपमा बनाइएको मुलुककै ठूलो यस जगदिशपुर तालमा १ सय १८ बढी प्रजातिको चराचुरुङ्गी पाईने पंक्षी संरक्षण संघले जनाएको छ ।

एसियाको दोस्रो ठूलो यो ताल पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । कपिलवस्तुको सानको रुपमा रहेको यो जलाशय उचित सरंक्षण र सवंर्धनको अभावमा प्रख्यात हुन सकेको छैन । पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै नजिकै थारु होमस्टेहरु पनि छन । पर्यटकहरूलाई आकर्षित गर्न विगत पाँच छ वर्षदेखि तालमा डुंगा सञ्चालन गरिएको छ । चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा बासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ । तालको वरिपरि डिलबाट हिँडडुल गर्न र चराहरू अवलोकन गर्न पाइन्छ । यि तस्बिरहरू कपिलवस्तुको तौलिहवास्थित जगदीशपुरा तालको गतिबिधि नेपाल फोटो लाइब्रेरीका फोटो पत्रकार मनिष अर्याललेकैद गर्नु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?