घरेलु क्रिकेटको संरचना विकास गर्नु मेरो पहिलो प्रथमिकता : पारस खड्का

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रिय सचिवमा पारस खड्का विजयी हुनुभएको छ ।

प्रतिष्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिवमा निर्वाचित हुनुभएको हो । कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याउनुभएको थियो भने प्रशान्तले ३७ मतमा प्राप्त गर्नुभयो । निर्वाचित भइसकेपछि खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताउनु भयो ।

उहाँले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि बढाउने पनि बताउनु भयो । उहाँले जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनाव त्यति सहज रहेनछ । मसँगै मैले चाहेको, हाम्रो टिमको पनि केही व्यक्ति आउनुभएको भए सहज हुनेथियो । तरपनि अहिले निर्वाचित टिम पनि राम्रो बनेको छ भन्ने लाग्छ । धेरै मानिसले पासर खड्काले के गर्छ ? क्यानमा आएर भन्ने थियो । यहाँ पारस खड्काले मात्रै गरेर हुँदैन । नेपाल क्रिकेटले मलाई सबै कुरा दिएको छ । मेरो व्यक्तिगत सोच, विचार भनेको नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्ष, विपक्षहरु छन्, तिनीहरुलाई एक ठाउँमा ल्याएर मेरो आफ्नो भुमिकाबाट र नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि कसरी बढाउँ भन्ने सोच विचारका साथ अघि बढ्ने प्रतिवद्धता गर्छु । सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ । म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ । आफैँ अब नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने ? भन्ने हुन्छ । नेपाली टिम परिपक्व छ । मैले क्रिकेट खेल्दा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको छु, त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीपमा सोचेको छु ।’

उहाँले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?