प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा मंसिर १८ मा निर्णय सुनाइने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दर्ता भएको रिटमा सुनुवाइ सकिएको छ । मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय सुनाउने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आइतबार सुनुवाइ सकिएको हो ।

२०७३ वैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको भनी अभिव्यक्ति दिनुभएको थियो । माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको र दिउँसै रात पार्ने प्रपञ्च भएको भन्दै उहाँले आक्रोश पोख्नुभएको थियो । त्यतिबेला व्यक्ति हत्याको आरोपमा बालकृष्ण ढुंगेल पक्राउ परेका थिए । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा चितवनबाट माओवादी कार्यकर्ता छविलाल अधिकारी पक्राउ परेका थिए । त्यही आक्रोशमा प्रचण्डले शान्ति प्रक्रियाविरुद्ध अदालत अघि बढ्दै छ भनी विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । उहाँको अभिव्यक्तिविरुद्ध त्रिपाठीले अवहेलनाको आरोपमा कारबाही अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिनुभएको थियो । प्रचण्डले अदालतको फैसला मान्दैनौँ, अदालतले हामी माओवादीलाई फसाउने षड्यन्त्र गर्दै छ भनेर दिएको भाषणका आधारमा २०७२ सालमै रिट दायर भएको हो ।

आइतबार बहसका क्रममा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्नुभएको थियो । प्रचण्डको अभिव्यक्ति स्वतन्त्र न्यायपालिकामाथि प्रहार रहेको तथा अदालतको गरिमालाई समेत घटाउने काम भएको हुँदा अवहेलना मुद्दामा हदैसम्मको कारबाही हुनुपर्ने माग उहाँले गर्नुभयो । बहसका क्रममा रिट निवेदक त्रिपाठीले पनि प्रचण्डलाई सजाय हुनुपर्ने माग गर्नुभएको छ । प्रचण्डको तर्फबाट वरिष्ठ अधिवक्तासमेत एवं पूर्व-महान्यायाधिवक्ताद्वय रमन श्रेष्ठ र मुक्ति प्रधानले बहस गर्नुभएको छ । अदालतको अवहेलना मुद्दामा एक वर्षसम्म कैद, १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?