कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्‍यो नौ बुँदे निर्णय

तीन तहकै सरकारलाई मितव्ययिता अपनाउन सुझाव

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले नौ बुँदे निर्णय गरेको छ । पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकलाई भव्य बनाउन तीनवटा समिति गठन गर्ने निर्णय भएको जानकारी गराउनुभयो । उहाँका अनुसार सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्व प्रस्ताव तयारी समिति र महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा संगठन प्रतिवेदन तयारी समिति, महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसमायिक राजनीतिक तयारी समिति गठन गर्ने निर्णय भएको छ । बैठकका सम्बन्धमा आवश्यक समिति थपिँदै जाने उहाँको भनाइ छ ।

त्यस्तै, कांग्रेसले हालै सम्पन्न गरेको बिपी साहित्य महोत्सवलगायत कार्यक्रमबारे समीक्षात्मक निर्णय भएको उहाँले जानकारी गराउनुभयो । दशैँको मुखमा महँगी र कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत भएको उहाँले सुनाउनुभयो । आर्थिक मन्दीका बेला तीन तहकै सरकारलाई मितव्ययिता अपनाउन कांग्रेसले सुझाव दिएको छ ।

त्यस्तै, संविधान जारी भएको आठ वर्षमा पनि आवश्यक कानुन बन्न नसकेको भन्दै त्यस्ता कानुन छिट्टै निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । त्यस्तै, सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमलाले सरकारलाई जिस्काएको भन्दै जनतालाई सुरक्षाको अनुभूति गराउन सरकारसँग माग गरिएको छ । लम्पी स्किनलगायत पीडित किसानले पाउने राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन कांग्रेसले माग गरेको छ ।

नेता गोपालमान श्रेष्ठले प्रतिनिधिसभाको समानुपातिकतर्फ आदिवासी जनजातितर्फ एक नम्बरमा रहेको नाम फिर्ता लिनुभएको छ । बन्द सूचीमा एक नम्बरमा रहेको नाम फिर्ता लिन श्रेष्ठले दिएको निवेदनलाई कांग्रेस बैठकले अनुमोदन गरेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो । ‘प्रतिनिधिसभाको समानुपातिकतर्फ आदिवासी जनजातितर्फ गोपालमान श्रेष्ठको बन्द सूचीको एक नम्बरमा नाम थियो । उहाँले मैले फिर्ता लिन्छु भनेर पार्टीमा निवेदन दिएपछि पार्टीले यसलाई अनुमोदन गरेको छ,’ केसीले भन्नुभयो । कांग्रेस बैठकले नेपाल थारू संघको विधानलाई अनुमोदन गरेको छ । संघलाई कांग्रेसले शुभेच्छुक संस्थाको रूपमा अनुमति दिएको थियो । असोज ४ गतेदेखि जारी केन्द्रीय समिति बैठक सोमबार सकिएको हो । बैठकमा एक सयभन्दा बढी केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

अदालतमा मुद्दा चलेकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन : देउवा
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतमा मुद्दा चलेकै भरमा कसैलाई दोषी करार गर्न नहुने बताउनुभएको छ । सोमबार केन्द्रीय समितिको बैठकलाई समापन गर्दै देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई उल्लेख गर्दै अदालतमा मुद्दा चलेकै भरमा कसैलाई दोषी करार गर्न नहुने उहाँले स्पष्ट पार्नुभयो । सभापति देउवाले भन्नुभयो, ‘अदालतले फैसला नगरेसम्म कोही पनि व्यक्ति अभियुक्त मात्रै हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि अवस्था त्यस्तै हो । किनकि, अभियुक्त र दोषीमा फरक हुन्छ, यसैले अदालतले फैसला नगरी दोषी नभनौँ । कोर्टको फैसला आएपछि मान्ने हो । यसैले अहिले यो विषयमा चर्को कुरा गरिरहन आवश्यक छैन ।’ देउवाले पार्टीलाई मिलाएर लान आफू तयार रहेको बताउँदै पार्टीका संरचनाले छिट्टै पूर्णता पाउने जानकारी दिनुभयो । अब महासमितिको बैठकको तयारीमा जुट्नुपर्ने उहाँले सो बैठक तयारीका लागि आवश्यक समितिहरू छिट्टै बन्ने जनाउनुभयो । देउवाले पार्टी, सरकारसहितका विषयमा धारणा राखेकोमा केन्द्रीय सदस्यहरूलाई धन्यवाद दिनुभएको थियो ।

गुटगत गतिविधिले पार्टी अँध्यारोतिर धकेलियो : कोइराला
नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गुटगत गतिविधिले पार्टीलाई अँध्यारोतिर धकेलिरहेको बताउनुभएको छ । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै गुटले पार्टीलाई बलियो नबनाउने उहाँले जिकिर गर्नुभयो । तल्ला तहका कार्यकर्ताको सुझाव र भावनाबमोजिम पार्टीमा निर्णय गर्ने अभ्यास बसाउनुपर्ने उहाँको भनाइ थियो । नेता कोइरालाले भन्नुभयो, ‘हाम्रै गतिविधिले पार्टीको भविष्यलाई अँध्यारोमा धकेलिरहेको छ । पार्टीमा अनावश्यक रूपमा ग्रुपिजम छ । ग्रुपिजम त अधिवेशनमा हुनुपर्ने हो । तर, पार्टीभित्र सधैँ ग्रुपिजम हुन थाल्यो । यसले पार्टीलाई राम्रो गरिरहेको छैन ।’ अब पार्टीको निर्णय प्रक्रिया समावेशी र तल्ला तहका कार्यकर्ताको मनोभावनाबमोजिम हुनुपर्ने उहाँको भनाइ थियो । ‘जिल्ला सभापतिको मात्रै सुझाव लिएर पनि पुग्दैन, क्षेत्रीय तहबाट सुझाव लिएर निर्णयमा पुग्नुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले पार्टीका भ्रातृ संस्थाहरू सक्रिय नहुँदा पार्टी र जनता बीचमा खाडल परेको गुनासो गर्नुभयो । ‘नेविसंघमा बल्ल तदर्थ समिति बनेको छ । अरू पनि बन्दै छन् । लामो समयदेखि अधिवेशन भएको छैन । दलित संघको १२-१३ वर्षदेखि अधिवेशन नै भएको छैन । यस्तो भएपछि पार्टीमा आकर्षण कसरी हुन्छ ?,’ कोइरालाको प्रश्न थियो ।

संकटमा होइन कांग्रेसको जिम्मामा देश : थापा
नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश संकटमा नभई कांग्रेसको जिम्मा भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै थापाले देश संकटमा नरहेको बरु आफूहरूको जिम्मामा रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो । ‘हामीले जति असामान्य भने पनि, देशको स्थिति संकटपूर्ण छ भने पनि । त्यसो भए देश संकटमुक्त कहिले हुन्छ ? तीनै तहका सरकारमा हामी अनि देश संकटमा छ भन्ने ? देश संकटमा छैन, हाम्रो जिम्मामा छ ।’
महामन्त्री थापाले कांग्रेसले नागरिकलाई नजरअन्दाज गरेको जिकिर गर्नुभयो । उहाँले नागरिकले स-साना विषयमा नियालिरहेको तर कांग्रेसले आन्तरिक द्वन्द्वको असर नीतिगत रूपमै देखाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरू अहिले कतिपय सन्दर्भमा नागरिकको नजरबाट परीक्षामा छौँ । सामान्य सरुवा, बढुवा, नियुक्ति सबैलाई हेरेर नागरिकले परीक्षण गर्दो रहेछ’, महामन्त्री थापाले भन्नुभयो, ‘नागरिकले यसरी हेरिरहेको छ । तर, हामी के गर्छौं, गुट मिलाउन नसक्दा प्रदेशको मन्त्रालय फुटाइदिन्छौँ ।’

सरकारको निर्णयले राष्ट्रपति संस्था आलोचित : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको पछिल्लो एक निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनाएको बताउनुभएको छ । सोमबार केन्द्रीय समिति बैठकमा शर्माले सरकारले सिफारिस गरेको आममाफी सूचीका कुरा उठाउँदै राष्ट्रपति संस्थाकै आलोचना भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारको कार्यवाहक प्रधानमन्त्री यहाँ हुनुहुन्छ । कानुनमन्त्री हुनुहुन्छ । अरू मन्त्रीजीहरू पनि हुनुहुन्छ । म के ध्यानाकर्षण गराउन चाहन्छु भने पुराना व्यवस्थाको प्रतिनिधि जाँदै गर्दा निकै हल्लाखल्ला माहोल बनाउन खोजेको प्रयत्न एकातिर र अर्कोतर्फ राष्ट्रपति संस्थालाई आलोचना गर्ने खालका हाम्रा गतिविधि देखिए ।’

भ्रष्टाचारका मुद्दा कमजोर बनाएर अदालत पुर्‍याउने काम भइरहेको छ : केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीबाट जनता टाढिँदै जान थालेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा सोमबार आफ्नो लिखित धारणा प्रस्तुत गर्दै उहाँले जनताले पार्टीको विकल्प खोजिसक्दा पनि नेताहरू भने पार्टी कब्जा गर्ने मनस्थितिमा देखिएको टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘पार्टी कब्जाको होडमा हामी छौँ ! तर, जनता पार्टीबाट टाढाटाढा हुँदै छन् । जनताको खाँचो, पार्टीहरूले जनतामा बाँडेको आश्वासन र सो अनुरूप डेलिभर नभएको अवस्थाले ल्याएको फरकको खाली ठाउँमा आमअसन्तुष्टि र निराशा मात्र होइन जनआक्रोशले विकल्पको बाटो खोज्दै छ ।’ नेता केसीले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा पनि शिथिलता देखिएको भन्दै यसले दण्डहीनता र जनतामा आक्रोश बढाएको जिकिर गर्नुभयो । ‘भ्रष्टाचार छानविनमा संलग्न प्रहरी अधिकृतहरूको सरुवा र काठमाडौं जिल्ला अदालतका एकजना न्यायाधीशलाई भ्रष्टाचारको मुद्दामा थुनाको आदेश दिएकै कारणले अन्यत्रै सरुवा गरिएकोले जनस्तरमा थप आक्रोश बढाएको छ’ उहाँले भन्नुभयो, ‘सत्यतथ्य के हो, सबैले सुसूचित हुन पाउनुपर्छ ।’

नेता केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनता ठूला दलबाट आक्रोशित मात्रै नभएर विकल्प खोज्न लागिसकेको सुनाउनुभयो । यदि जनताले विकल्प खोज्न थालेको कुरालाई आत्मसाथ नगरे आगामी निर्वाचनमा ठूलै संकट आउने उहाँको भनाइ थियो ।

केसीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन आउनुलाई गम्भीर रहेको बताउनुभयो । ‘सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन मिलिरहेको छ’, उहाँले भन्नुभयो, ‘समाजको मनोविज्ञान अराजकतातर्फ धकेलिएको छ ।’

उहाँले जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा चुनौती बढिरहेको बताउँदै समाज अराजकताको चरम अवस्थातिर उन्मुख भइरहेको र संविधान उल्लंघनका घटनाहरू गम्भीर रूपमा बढिरहेको बताउनुभएको थियो । धनुषा, धरान हुँदै कपिलवस्तु र सर्लाही अझैसम्म तनावग्रस्त रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेता केसीले आफ्नो नौ बुँदे लिखित धारणा राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?