छोराले विश्व कीर्तिमान बनाउँदा हर्षित हुनुहुन्छ दीपेन्द्रका बुबा

हिमालय टाइम्स
Read Time = 6 mins

महेन्द्रनगर । बुधबार दिनभरिजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगत्मै चर्चामा रहनुभयो । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मंगोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उहाँको नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने । उहाँले टी-२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गर्नुभएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौर घर हुनुभएका उहाँ बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मिहिनेती र अब्बल रहेको उहाँका बुबा गगनसिंह ऐरीले सुनाउनुभयो । बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवारमात्रै होइन गाउँ नै खुसी रहेको उहाँ बताउनुहुन्छ ।
‘घरको टिभीमा रिचार्ज सकिएकाले बिहान रिचार्ज गर्न सुकासाल चौराहा पुगेँ,’ छोराको सफलताले हर्षित गगनसिंह भन्नुहुन्छ, ‘चौराहाको कम्प्युटर पसल सञ्चालकले दीपेन्द्रको सफलता मोबाइलमै देखाउँदा खुसीको सीमा नै रहेन ।’

एसएलसीसम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गर्नुभएका उहाँले त्यो बेलामा पनि खेल जितेर पुरस्कार पाउने गरेको बुबा ऐरीले सम्झनुभयो । ‘चार छोरामध्ये साइँलो हो, दीपेन्द्र,’ उहाँले भन्नुभयो, ‘छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ ।’
विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मिहिनेत र सक्रिय भएर लाग्ने दीपेन्द्र उच्च माध्यमिक शिक्षा अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कुल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्नुहुन्थ्यो ।

‘स्वस्थ भइन्छ भन्दै हिँडेर महेन्द्रनगर पुगेर क्रिकेट प्रशिक्षणमा जुट्थ्यो,’ उहाँले भन्नुभयो, ‘खेलप्रतिको लगाव र मिहिनेतकै कारण आज ऊ सफलतातर्फ लम्किँदै छ । दीपेन्द्रको सफलताले अहिले स्थानीयले भेट्नासाथ आफूलाई बधाई दिने गरेका छन् ।’ सानोदेखि नै दीपेन्द्र राम्रो शिक्षा हासिल गरेर सरकारी जागिरमा होस् भन्ने आफूले चाहे पनि अहिलेको सफलताले परिवारमा निकै सन्तोष मिलेको उहाँ बताउनुहुन्छ ।
करिब ४० वर्ष वन कार्यालयमा प्राविधिक खरिदारको जागिरे जीवन बिताउनुभएका गगनसिंह परिवारसहित २०३६ सालमा बैतडीबाट तिलाचौर बसाइँ सर्नुभएको थियो । नेपाली क्रिकेटका परिचित नामहरू प्रदीप ऐरी र कमलसिंह ऐरी पनि दीपेन्द्रकै परिवारभित्र पर्छन् ।

छोरालाई जहिल्यै अनुशासन र गलत लतमा नपरोस् भनेर सम्झाउने गर्थेँ,’ उहाँ भन्नुहुन्छ, ‘समयअनुसार परिपक्व हुँदै अहिले देशको नाम विश्वमा चर्चामा ल्याउने स्तरको भयो ।’

बुबा गगनसिंह पनि कुनै समय सितोरियो कराँते र भलिबलका खेलाडी हुनुहुन्थ्यो भने दीपेन्द्रका दुई दाजुले पनि क्रिकेट खेल्नुभएको थियो । ‘छोरी राजमती पनि अहिले सशस्त्र प्रहरी बलमा जागिरे भएर एपिएफ क्लबमा क्रिकेट नै खेल्छिन्,’ उहाँ भन्नुहुन्छ, ‘छोराछोरीको प्रगति नै जीवनको ठूलो सुख रहेछ । क्रिकेटको विकासका लागि सरकारले नै ध्यान दिनुपर्छ ।’

एसियाली खेलकुद प्रतियोगितामा नेपालले देखाएको प्रदर्शनपछि चर्चामा रहेको नेपाली क्रिकेट टोलीमा रहनुभएका दीपेन्द्रसँगै विनोद भण्डारी र भीम सार्की पनि महेन्द्रनगरकै हुनुहुन्छ । महेन्द्रनगरमा दीपेन्द्रलाई प्रशिक्षण गराउनुभएका स्वयंसेवक प्रशिक्षक वीरेन्द्र शाही सनराइज उच्च माध्यमिक विद्यालयमा आएपछि दीपेन्द्र क्रिकेटमा आएको बताउनुुहुन्छ ।

‘निकै मिहिनेती र क्रिकेटलाई नै जिन्दगी ठानेर ऊ अघि बढिरहृयो,’ उहाँ भन्नुहुन्छ, ‘क्रिकेटप्रतिको लगावकै कारण आज सफलताको शिखरतर्फ दीपेन्द्र अघि बढ्दै छ ।’ दीपेन्द्रले पढाइभन्दा पनि त्यो बेलादेखि नै खेललाई बढी महत्व दिँदै आएको उहाँको भनाइ छ ।
‘म प्याब्सनको अध्यक्ष हुँदा दीपेन्द्र सुकासालको विद्यालयमा पढ्थ्यो,’ नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेशका पूर्वअध्यक्ष एवं महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कुलका सञ्चालक दीपकराज चालिसे भन्नुहुन्छ, ‘प्याब्सनको खेल हुँदा उसको खेल देखेरै मैले दीपेन्द्रलाई क्रिकेटमा आउन सुझाएँ । स्कुलस्तरमा खेल्ने शैली र मिहिनेतबाट प्रभावित भएरै क्रिकेटमा ल्याउन पहल गरिएको हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?