बंगलादेशमा बजार खोज्दैै डेरी व्यवसायी

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । दूध तथा दुग्ध पदार्थ निर्यातको सम्भावना अध्ययन गर्न बंगलादेशतर्फ गएको नेपाल डेरी एसोसिएसनको प्रतिनिधिमण्डल फर्किएको छ । नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालका अनुसार बजारमा मागभन्दा बढी दूध आपूर्ति भएपछि उत्पादित दूध बजारमा खपत हुन छाडेकाले नयाँ बजारको खोजीमा व्यवसायी बंगलादेश गएका हुन् ।

दूध उत्पादन बढेसँगै देशभर दूधबाट पाउडर उत्पादन गर्ने प्लान्ट पनि थपिएका छन् । यतिबेला देशभर छवटा डेरी उद्योगले पाउडर दूध उत्पादन गरिरहेका छन् । जेठसम्मको अवस्था हेर्दा एउटा उद्योगलाई पनि पाउडर उत्पादन गर्न दूध पुग्ने अवस्था थिएन । तर, हाल छवटा उद्योगले पाउडर उत्पादन गर्दा पनि किसानले उत्पादन गरेको सबै दूध खपत हुन सकेको छैन । जसले गर्दा अघोषितरूपमा मिल्क होलिडे जस्तै भएको छ ।

ठूलो परिमाणका साथै निर्यातको निरन्तरता खोज्ने भएकाले तत्काल विदेश निर्यातको सम्भावना भने नरहेको एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नेपालका लागि हाल उत्पादन बढी देखिए पनि सानो भोल्युम हो, विदेशीहरूले ठूलो परिमाण र कन्टिन्युटी खोज्छन्, हामीसँग त्यो क्षमता छैन, अफ सिजनमा उत्पादित दूध हामीलाई पुग्दैन ।’

उत्पादन बढेपछि खेर जान नदिन दूधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको हो । किसानले उत्पादन गरेको दूध संकलन हुन नसक्दा अघोषित मिल्क होलिडेको सामना गर्नु परिरहेको गुनासो किसानको छ ।

केही महिनायता दूध उत्पादनमा निरन्तर वृद्धि भइरहेका कारण उत्पादित दूध व्यवस्थापन गर्नुपर्ने दबाब छ । पछिल्लो समय व्यावसायिक गाईपालन बढेसँगै उपभोग घटेका कारण दूधको उत्पादनमा वृद्धि भएको देखिन्छ । गत फागुनसम्म उत्पादित दूध जेनतेन बजारमा खपत भएको थियो तर त्यसपछि बजार मागभन्दा बढी दूध बजारमा आउने क्रम अहिले निरन्तर भएको बताइन्छ । सबै पाउडर प्लान्ट सञ्चालन भए पनि किसानले उत्पादन गरेको सबै दूध खपत नहुने अवस्था आएको डेरी उद्योगी बताउँछन् । एसोसिएसनका अध्यक्ष दाहालका अनुसार प्रत्येक डेरी उद्योगमा अहिले बटर र पाउडर दूध राख्ने ठाउँ नभएर अन्यत्र भाडामा ठाउँ खोज्नुपर्ने भएको छ ।

स्टक सामान धेरै भएपछि उद्योगहरूले किसानको पैसा तिर्न सकेका छैनन् । यही अवस्था रहिरहने हो भने अझ थप समस्या आउने देखिन्छ । अब आउने फागुन–चैतसम्म लगभग अवस्था यस्तै रहने कुरा सरोकारवाला निकायका प्रतिनिधिहरू बताउँछन् । दुग्ध विकास संस्थानलगायत सबै पाउडर दूध बनाउने डेरी उद्योगले किसानबाट संकलन भएको सबै दूध बजारमा खपत नभएका कारण निरन्तर पाउडर बनाई दूध मौज्दात राखिरहेका छन् । अब यो क्रम लामो समयसम्म थेगिन सक्ने अवस्था नरहेको दाहालको भनाइ छ ।

दुग्ध विकास संस्थानको विराटनगरस्थित दुग्ध वितरण आयोजनाले यसअघि दैनिक आठ हजार लिटर दूध संकलन गर्दै आएकोमा हाल उत्पादन बढेसँगै दैनिक २५ हजार लिटर दूध संकलन गर्न थालेको छ । संकलितमध्ये दैनिक छ हजार लिटर हाराहारी दूधले मात्र बजार पाइरहेको आयोजना प्रमुख परमानन्द चौधरीले जानकारी दिनुभयो । संस्थानको ढल्केबर र हेटौँडा आयोजनाबाट खपत नभएको दूध पनि पाउडर बनाउन विराटनगर आइरहेको उहाँले बताउनुभयो ।

दुग्ध वितरण आयोजना, विराटनगरसँग हाल ४० हजार केजी पाउडर दूध र ७० हजार केजी नौनी मौज्दात छ । संस्थानले आफ्ना १० मध्ये सात संकलन केन्द्रबाट नियमित दूध संकलन गर्दै आएको छ । पूर्वइलामको कुटीडाँडा, लक्ष्मीपुर र पुवाखोला संकलन केन्द्रबाट भने हाल दूध संकलन बन्द गरेको आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो । दूध उत्पादन बढेको तर बजार नबढ्दा उत्पादित दूधको खपतमा समस्या देखिन थालेको हो । सुनसरीको तरहरास्थित कामधेनु डेरी उद्योगले गत वर्षको भदौ-असोजमा दैनिक १० हजार लिटर दूध संकलन गर्दै आएकोमा यसपटक दैनिक १५ हजार लिटर गरिरहेको जनाएको छ । विभिन्न ४२ दुग्ध सहकारी मिलेर स्थापना भएको सगरमाथा विशिष्टीकृत सहकारीले प्रदेश सरकारको सहयोगमा स्थापना गरेको पाउडर प्लान्ट उद्घाटन भएको छैन तर साउन १५ मा परीक्षण उत्पादन गरेको प्लान्ट त्यसयता निरन्तर सञ्चालनमा छन् । त्यस्तै, विराटनगरमा सञ्चालित सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले नियमितरूपमा धूलो दूध उत्पादन गरिरहेको जनाएको छ ।

एसोसिएसनका सातबुँदे निर्णय
नेपाल डेरी एसोसिएसनको २३औँ वार्षिक साधारणसभा पुसमा सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने भएको छ । बिहीबार सम्पन्न एसोसिएसनको चौथो केन्द्रीय समितिको बैठकले साधारणसभालगायत विभिन्न सातबुँदे निर्णय गरेको छ । बैठकले तत्कालीन दूध, बटर, धुलो दूध बढी भएको र बजारमा दूध खपत नभएको समस्या हल गर्न पाँचजनाको समिति गठन गरी तत्काल कार्य थालनी गर्ने निर्णय गरेको छ ।

एसोसिएसनका प्रथम उपाध्यक्ष दिपप्रसाद धमलाको संयोजकत्वमा गठित समितिका सदस्यमा एसोसिएसनका उपाध्यक्ष मनोजकुमार घिमिरे, उपमहासचिव विजयप्रसाद चौरसिया, एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने र सदस्य योगेन्द्र चिमोरिया रहेका छन् । साथै एसोसिएसनले विभिन्न निकायसँग समन्वय गरी वर्तमान समस्या हल गर्न आन्तरिक सदस्यबीच सामान लिनेदिने गर्न सदस्यहरूलाई आग्रह गर्ने भएको छ । त्यस्तै, बंगलादेशमा दूध तथा दुग्ध पदार्थ निर्यात गर्न एसोसिएसनले तत्काल पहल गर्ने निर्णयसमेत गरेको एसोसिएसनका अध्यक्ष दाहालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?