‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ सारंगी वादक गन्धर्वलाई प्रदान गरिने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय सांगीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट तीन वर्षअगाडि स्थापना भएको ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ यस वर्ष अग्रज तथा वरिष्ठ सारंगी वादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिने भएको छ । काठमाडौंमा टीका गोपाल एम्. क्रियशनका अध्यक्ष गीता सिंहको अध्यक्षतामा बसेको बैठकले पुराना संगीतकर्मी अग्रज तथा वरिष्ठ सारंगी वाद्यवादक गन्धर्वलाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८०’ बाट पुरस्कृत गर्न लागिएको कीर्तिमानी संगीतकार तथा पुरस्कार समारोहका संयोजक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । नेपाली लोकगीत तथा सुगम संगीतमा आफ्नो सम्पूर्ण जीवनलाई समर्पण गर्नुभएका संगीतकर्मी एवं अग्रज तथा वरिष्ठ सारंगी वाद्यवादक कृष्णबहादुर गन्धर्व नेपाली लोकगीत संगीत एवं सुगम संगीतको विकासमा अनवरतरूपमा योगदान दिँदै आउनुभएका प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ । गन्धर्वलार्ई नगद ५१ हजार रुपैयाँसहित सम्मानपत्र अर्पण गरिने कार्यक्रमका संयोजक एवं संगीतकार श्रेष्ठले बताउनुभयो ।

कन्हैया सिंह परियार नेपाली गीत संगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशील गायक एवं संगीतकारका रूपमा परिचित हुनुहुन्छ भने अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरका रूपमा रहनुभएकी गायिका हुनुहुन्छ । नेपाली सांगीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षहरूदेखि निरन्तररूपमा नेपाली गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एकजना संगीतकर्मीलाई नगद राशिसहित सम्मान गर्दै आएको छ । यसअघि वरिष्ठ लोकगायिका चन्द्रकला शाह र वरिष्ठ गीतकार विश्वबल्लभ नेपाली यो पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ ।

यसअघि पुरस्कृत हुने व्यक्तित्वहरू स्वतः ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ समितिको सल्लाहकारसमेत रहने प्रावधान रहेको समितिका सदस्य-सचिव चलचित्र निर्देशक माधवराज खरेलले जानकारी गराउनुभयो । टीका गोपाल एम्. क्रियशनको आयोजना रहने ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ समितिमा वरिष्ठ सल्लाहकारका रूपमा विशिष्ट संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद्का पूर्वउपकुलपति शम्भुजित बासकोटा, सल्लाहकारहरूमा विशिष्ट लोकगायिका चन्द्रकला शाह, विशिष्ट गीतकार विश्वबल्लभ रहनुभएको छ । अफिसियल उद्घोषकमा वरिष्ठ रेडियोकर्मी हेम सुवेदी एवं समाचार संयोजकमा वरिष्ठ सञ्चारकर्मी कृष्ण भट्टराई हुनुहुन्छ । त्यसैगरी ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’को आयोजक समितिमा अध्यक्षमा गीता सिंह, कार्यक्रमका संयोजकमा संगीतकार सन्तोष श्रेष्ठ, सदस्य-सचिव चलचित्र निर्देशक माधवराज खरेल र सदस्यहरूमा मोडल अपेक्षा सिंह, अनुप सिंह बागदास, निर्देशक हेम प्रभाष, सञ्चारकर्मी कमला जोशी, सिर्जना श्रेष्ठ एवं अनुगीत सिंह बागदासलगायतका रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?