कुन गीत कति बेला चल्छ भन्न सकिँदैन : मिलन विश्वकर्मा, भिडियो सम्पादक

गीता अधिकारी
Read Time = 7 mins

गीत संगीतमा होस् या अन्य क्षेत्रमा भिडियो सम्पादनको भूमिका विशेष नै रहन्छ । म्युजिक भिडियो निर्माणपछि तयार भएको दृश्यलाई आवश्यकताअनुसार काँटछाँट गरेर दर्शकसम्म पुर्‍याउन विशेष भूमिका खेल्ने काम नै सम्पादनकर्ताको रहन्छ । सोही सम्पादनकर्तामध्ये एक हुनुहुन्छ मिलन विश्वकर्मा । विगत एक दशकदेखि संगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादन गरेर आमनिर्माता, निर्देशकको मन जित्नुभएका विश्वकर्मा हालै सम्पन्न आठौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८० मा ‘उत्कृष्ट भिडियो सम्पादन ‘जुरी’ अवार्डबाट सम्मानित हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आयोजना गरेको आठौँ राष्ट्रिय लोकदोहोरी अवार्ड-२०८० कार्यक्रमका प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ हुनुहुन्थ्यो । ‘फुल्यो बामरी, पत्थरको मुटु, सिमसिमे पानीमा, सकम्बरी फूलमाया, धोकेबाज, ओई काजल, ए झरी, तिमीलाई हेर्ने बानी पर्‍यो’ लगायत दुई हजारको हाराहारीमा म्युजिक भिडियो सम्पादन गरिसकेको उहाँको भनाइ छ । रापति म्युजिक अवार्ड, १०औँ म्युजिक खबर म्युजिक अवार्ड, छायाँछवि तीज अवार्ड, एपिक म्युजिक अवार्डलगायतका अवार्ड आफ्नो पोल्टामा पार्न उहाँ सफल हुनुभएको छ । आफ्नै प्रोडक्सन हाउससमेत खोलेर यस क्षेत्रमा तल्लीन रहनुभएका मिलन निर्माता, निर्देशकहरूको रोजाइमा पर्नुहुन्छ । बजारमा सार्वजनिक भएका सबै गीत र भिडियोलाई दर्शक श्रोताले रुचाउँछन् भन्ने नभएको उहाँ बताउनुहुन्छ । कुनै आशा लागेका गीतले दर्शक श्रोताको साथ पाएका हुँदैनन् भने कुनै सामान्य सोचेको गीत लोकप्रिय भइरहेको हुन्छ । कुन गीत कति बेला चल्छ भन्न सकिँदैन भन्नुहुने भिडियो सम्पादक मिलन विश्वकर्मासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अ‌ंशः-

एउटा भिडियो उत्कृष्ट बन्नका लागि सम्पादनको भूमिका कस्तो रहन्छ ?
सबैलाई थाहा नै छ कुनै पनि निर्देशकले गीतको मर्मअनुसारको दृश्य कैद गर्ने प्रयास गरेको हुन्छ । कलाकारहरूले पनि सोहीअनुरूप काम गरेको हुन्छ र सुटिङ सकिँदैमा भिडियोले पूर्णता पाउँदैन जबसम्म सम्पादन कक्षमा प्रवेश हुँदैन । जब एडिटिङ रुममा सम्पादकले राम्रो काँटछाँट र कलर संयोजन गर्छ अनिमात्र भिडियो राम्रो हुन्छ । एउटा भिडियो राम्रो बन्नुमा सबैभन्दा पहिला गीत नै राम्रो हुनुपर्छ । टिमवर्कको सहकार्य, गीतमा निर्देशकले राम्रो कन्सेप्ट बनाएर छायाँकारले उचित ढंगले दृश्य कैदमा ध्यान दिएजस्तै कलाकारले पनि राम्रो अभिनय गरेको भिडियोलाई दर्शक रुचिको बनाउन एडिटरको महत्वपूर्ण भूमिका रहन्छ ।

बजारमा सार्वजनिक भएका सबै गीत र भिडियोलाई दर्शक श्रोताले रुचाउँछन् भन्ने हुँदैन । कुन गीत कति बेला चल्छ भन्न पनि सकिँदैन । कुनै आशा लागेका गीतले दर्शक श्रोताको साथ पाएका हुँदैनन् भने कुनै सामान्य सोचेको गीत लोकप्रिय भइरहेको हुन्छ ।

पछिल्लो समयमा सुन्नेभन्दा पनि हेर्ने गीतको माग बढेको हो ?
समय परिवर्तनसँगै मानिसको चाहना बदलिनु स्वाभाविक हो । पहिले रेडियो, एफएमबाट गीत बज्दा आउने श्रवणको मज्जा बेग्लै थियो भने अहिले पर्दामा देखिने दृश्यले दिने आनन्द बेग्लै छ । त्यसैले सुन्नेभन्दा हेर्ने गीतको माग बढेको हो ।

गीत संगीतमा लगानी बालुवामा पानी भन्छन् नि ?
जुनै पनि क्षेत्रमा काम गर्दा धेरथोर जोखिम हुन्छ नै । जोखिम छ भनेर कामै नगर्ने त होइन नि । अहिले गीत संगीतको क्षेत्र महंगो बनिरहेको छ । गीतकारले गीत रचना गरेरमात्र भएन संगीत भर्नुपर्‍यो, गीत रेकर्डिङ गरेर तयार भएपछि भिडियो अनिवार्य नै छ । राम्रो सिर्जनाले लगानी उठानेमात्र होइन, विभिन्न माध्यमबाट आम्दानी पनि गरिरहेको छ ।

प्रतिस्पर्धा कत्तिको छ यो क्षेत्रमा ?
प्रतिस्पर्धा नहुने त कुन पेशा होला र जुनै क्षेत्रमा पनि प्रतिस्पर्धा हुन्छ नै । पछिल्लो समयमा नेपाली गीत संगीत बन्नेक्रम अत्यधिक बढेका कारण कामको दुःख भने छैन ।

गीत संगीत बन्नेक्रम बढेसँगै भिडियो निर्माण बढ्नु स्वाभाविक हो । सयवटा भिडियोमा पाँच प्रतिशतले मात्र सफलता पाउनुको कारण ?
बजारमा सार्वजनिक भएका सबै गीत र भिडियोलाई दर्शक श्रोताले रुचाउँछन् भन्ने हुँदैन । कुन गीत कति बेला चल्छ भन्न पनि सकिँदैन । कुनै आशा लागेका गीतले दर्शक श्रोताको साथ पाएका हुँदैनन् भने कुनै सामान्य सोचेको गीत लोकप्रिय भइरहेको हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?