राहत शिक्षक र सरकारबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । विद्यालय शिक्षा विधेयकका प्रावधानलाई लिएर आन्दोलनरत राहत शिक्षक तथा विद्यालय कर्मचारी र सरकारबीच सहमति भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच शुक्रबार पाँच बुँदे सहमति भएको हो । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकबीच सहमति भएको हो ।

सहमतिसँगै आन्दोलनरत शिक्षकहरूले शुक्रबारबाट आन्दोलन रोकेर विद्यालयमा जाने र अब आन्दोलनभन्दा पनि विधेयक संशोधनका लागि लबिइङ आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित विद्यालय शिक्षासम्बन्धी संघीय ऐन निर्माणमा नपुगेका, छुटफुट कुरालाई संसदीय प्रक्रियामार्फत समावेश गर्नेगरी सहमति भएको बताउनुभयो । सम्झौतालाई संसद्प्रस्तुत गरी संसदीय प्रक्रियामार्फत विधेयकलाई पारित गर्दा सबै कुरा समेटिने प्रतिबद्धता जनाउनुभयो ।

सहमतिमा विधेयकको दफा ४३ मा यसअघि रहेको प्रावधानको ठाउँमा शत-प्रतिशतमा आन्तरिक प्रतिस्पर्धा गराउने प्रावधान राख्ने प्रतिबद्धता सरकारी पक्षबाट आएको र उक्त परीक्षामा असफल हुने शिक्षकहरूलाई सरकारले आर्थिक प्याकेज दिएर बिदा गर्ने सहमति भएको उहाँले बताउनुभयो । सरकारले विद्यालय शिक्षा विधेयक संसद्दर्ता गराएपछि शिक्षकहरू असोज ३ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

चिकित्सकका माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । चिकित्सकमाथि भएका प्रकारको दुव्र्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको समिति सभापति भानुभक्त जोशीले बताउनुभयो । उहाँले समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोसीमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताउनुभयो । संसदीय समितिमा सांसदहरूले चिकित्सकहरूमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो-कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?